लिज सम्झौता भएको एक वर्षमै भृकुटीमण्डपस्थित फनपार्क अस्तव्यस्त

समाज कल्याणलाई भाडा बुझाउन पनि सकेन, कर्मचारीको तलव पनि बाँकी
बिहीबार, वैशाख २१, २०८०

काठमाडौं । समाज कल्याण परिषद्को भृकुटीमण्डपस्थित सरकारी जग्गा ५ वर्षका लागि लिजमा लिएर भृकुटी फनपार्कका नाममा मनोरञ्जनात्मक खेल सञ्चालन गर्दै आएका अमात्य इन्टरनेशनल सप्लायर्सका हरिगोपाल अमात्यले अन्ततः लिज अवधि बीचमै छाड्ने सोच बनाएका छन् । उनले खेल मनोरञ्जन सञ्चालन गर्न थालेको ९ महिनामै भृकुटी फनपार्क आर्थिक अभावका कारण अस्तव्यस्त बनेको छ ।
समाज कल्याण परिषद्को भृकुटीमण्डप कार्यालय स्रोतका अनुसार मासिक रुपमा नियमित बुझाउनु पर्ने जग्गा भाडा तीन महिनाको बाँकी छ । त्यस्तै, कर्मचारी र काम गर्ने मजदूरलाई केही महिनादेखिको मासिक पारिश्रमिक दिन बाँकी छ । मासिकरुपमा नियमित बुझाउनु पर्ने भाडा परिषद्ले ताकेता गर्दा समेत बुझाउन नसकेको अवस्थामा सञ्चालक अमात्य भने खेल परिसरमा राखिएका खेलका लगानीकर्ता अर्थात् खेलवाला, स्टलवाला र रेष्टुरेन्टवालासँग मोटो रकम असुलेर विदेशिने तयारीमा रहेको बुझिएको छ । तर, परिषद् कार्यालयका अधिकारीहरुले भने केही रकम डिपोजिट रहेकाले परिषद्ले असुल्नु पर्ने भाडा भने त्यही रकमबाट समायोजन गर्न सक्ने भएकाले कडिकडाउ नगरिएको बताएका छन् । समाज कल्याण परिषद्लाई मासिक बुझाउनु पर्ने १६ लाखका दरले तीन महिनाको भाडा तिर्न बाँकी रहेको, भाडा बहालकर, मूल्यअभिवृद्धि कर (भ्याट), कामदार तथा कर्मचारीको मासिक तलब समेत थुप्रै बाँकी रहेको बखत उनी विदेशिने तरखरमा रहेको अमात्य निकट स्रोतले जानकारी दिएको छ । यसअघि खेल मनोरञ्जन सञ्चालन गरिरहेका व्यक्तिलाई उक्त खेल हटाउन दबाब दिएर अर्को कसैलाई खेल सञ्चालन गर्न लगाउने योजना अमात्यले पालिरहेको स्रोतले बतायो । स्रोतका अनुसार खेल क्षेत्र परिसरमा रहेका स्टलवाला, रेष्टुरेन्टवाला र खेलवालासँग गरी दुई तिन करोड बढी असुलेका सञ्चालक हरिगोपाल अमात्यले निरन्तर घाटा बेहोर्दै जानु परेपछि सबैसँग सम्पर्कविहीन भएका छन् ।
अमात्यले खेल सञ्चालनका लागि पाँच वर्षका लागि जग्गा भाडामा लिएका थिए । सम्झौताको एक वर्ष समय गुज्रिसकेको छैन । यहीअवधिमा अमात्यले मारवाडी समूहका कोही कसैलाई प्रलोभनमा पारी बाँकी चार वर्ष अवधिका लागि सब लिजमा जग्गा भाडामा लगाउने भन्दै मोटो रकम असुलेर विदेसिने तरखरमा रहेका हुन् । तर, सवलिजमा दिने प्रावधान भने छैन । यदी अमात्य सम्पर्कमा रहेनन् र साँचिक्कै सम्पर्क विहीन भएको खण्डमा समाज कल्याण परिषद्ले उक्त जग्गाको लिज सम्झौता भंग गर्ने निश्चित छ । लिज सम्झौता भंग भएको खण्डमा थुप्रै व्यवसायीको करोडौं लगानी फस्ने भएपछि उनीहरु यतीबेला आफ्नो लगानीको सुरक्षाका लागि चिन्तित देखिएका छन् ।
यहीबीच, समाज कल्याण परिषद्का प्रभावशाली एक सदस्यले समाज कल्याणको स्वीकृति बिना कोही कसैलाई लिजमा लिएको व्यक्ति वा संस्थाले सव लिजमा दिन पाउने व्यवस्था नरहेको बताए । उनका अनुसार यसअघि भएको सम्झौतामा नै सव लिजमा दिन नपाउने शर्त उल्लेख रहेकाले पनि टेण्डर स्वीकार गरेका व्यक्ति वा संस्था बाहेक अरु कोही कसैलाई समाज कल्याणले नचिन्ने उनको तर्क थियो । तर, यसअघि टेण्डर स्वीकारेका अमात्य इन्टरनेशनल सप्लायर्सका हरिगोपाल अमात्यले भने भित्री कागजका आधारमा उक्त खेलक्षेत्र मारवाडी समुदायका व्यक्तिलाई सुम्पने अन्तिम तयारीमा छन् । अमात्यले छाड्ने भएपछि भृकुटी फनपार्कमा स्टल राख्नेहरुले आफूले गरेको लगानीको र त्यहाँ कार्यरत कर्मचारीहरुले आफ्नो लामो समयदेखिको पारिश्रमिकको चिन्ता गर्न थालेको अवस्था छ । यस विषयमा भने समाज कल्याण परिषद्को भृकुटीमण्डप सञ्चालन कार्यालय जानकार छ, छैन ? जानकारीमा आएन ।

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  ०३:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार