आइतबारदेखि बजेट अधिवेशन

राष्ट्रपति पौडेलले आह्वान गरे वर्षे अधिवेशन
बुधबार, वैशाख २०, २०८०

काठमाडौँ । वैशाख २४ गते सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न सरकारले सिफारिश गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले बजेट अधिवेशन बोलाएका छन् । बजेट अधिवेशनको बैठक नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आइतबार अपराह्न ४ बजे बस्ने गरी आह्वान गरिएको छ ।  
प्रतिनिधिसभाका सांसद र राष्ट्रियसभाका सदस्यलाई तोकिएको मिति, समय र स्थानमा उक्त दिन उपस्थित हुन अनुरोध गरेको सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।
वर्षे अधिवेशनका रुपमा रहेको यस अधिवेशनको  प्रारम्भमै पूर्वबजेट छलफल हुनेछ । यस अधिवेशमा सरकारको वार्षिक नीति तथा कार्यक्रम र वार्षिक आयव्ययको विवरण (बजेट)  प्रस्तुत हुनेछ ।
बुधवार बसेको मन्त्रिपरिषद् बैठकले संसदको बजेट अधिवेशन वैशाख २४ गते बोलाउने निर्णय गरेको थियो ।
वैशाख २४ गते संसदको अधिवेशन बोलाउनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय आजको मन्त्रिपरिषद् बैठकले गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

क्रिकेट खेलाडीलाई जनही ६ लाख रुपैयाँ
सरकारले एसीसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ र अन्य टिम अफिसियललाई जनही ३ लाख रुपैयाँका दरले रकम उपलब्ध गराएर प्रोत्साहन गर्ने निर्णय पनि गरेको छ।
त्यस्तै, कीर्तिपुरको क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन आगामी आर्थिक वर्षको बजेट विनियोजनमा विशेष प्राथमिकतामा राख्ने भन्ने निर्णय पनि गरिएको उनले जानकारी दिइन्।
मन्त्रिपरिषद्को बुधवारको बैठकले कोशिटप्पु वन्यजन्तु आरक्षण स्थापना गर्दा बिस्थापितहरुको सम्बन्धमा थप छानबिन गरी समस्या समाधान गर्न आयोग पुनःगठन गरी ३ महिना म्याद थप गर्ने पनि निर्णय गरेको छ।

 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १८:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार