गृहमन्त्री थापा र डा.देवकोटाले गरे राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता

शुक्रबार, वैशाख २४, २०७८

मकवानपुर । नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले वाग्मती प्रदेशमा राष्ट्रियसभामा रिक्त एक सदस्यका लागि प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौँडामा आज उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् । उनको उम्मेदवारीको प्रस्तावकमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत छिन् ।  गृहमन्त्री थापा आज मनोनयनपत्र दर्ता गर्न हेलिकोप्टरबाट हेटौँडा आइपुगेका हुन् ।  सो पदमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमालेको  माधवकुमार नेपाल समूह, जनता समाजवादी दललगायतको समर्थनमा डा.खिमलाल देवकोटाले पनि उम्मेदवारीको मनोनयनपत्र दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौँडाले जनाएको छ । संघीयताविद् डा.देवकोटाको प्रस्तावकमा माओवादी केन्द्र, वाग्मती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल र समर्थकमा कांग्रेस वाग्मती प्रदेशका प्रमुख सचेतक राधा घले रहेकी छन् ।  वाग्मती प्रदेशसभामा ६६ निर्वाचन क्षेत्रका ११९ स्थानीय तहका प्रमुख उपप्रमुख  २३८ र वाग्मती प्रदेशसभा सदस्य ११० जना गरी कूल ३४८  मतदाता रहेको प्रदेश निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार आगामी जेठ ६ गते हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित भुटनदेवी मावि भवनमा दुई मतदान केन्द्र रहने गरी व्यवस्थापन मिलाइएको छ ।  एउटा स्थानीय तहका लागि र अर्काे प्रदेश सभा सदस्यका लागि केन्द्र निर्धारण गरिएको हो ।–रासस
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २४, २०७८  १४:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार