सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ २ गतेको अवस्थामा फर्किनुपर्ने दोहो¥याएका छन् । नेता नेपालले आफूहरू पार्टी एकताको पक्षमा रहेको र त्यसका लागि लचकता अपनाउन पनि तयार रहेको भन्दै अध्यक्ष ओली पनि त्यसका लागि तयार हुनुपर्ने धारणा राखेका छन् । ‘२०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटमलाइन हो’, उनले शुक्रबार फेसबुक पेजमा स्टाटस लेख्दै कार्यकर्तालाई आग्रह गरेका छन् ‘यससम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअलमलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछाै।’ एमाले पार्टी आफूहरूले निर्माण गरेको भन्दै नेता नेपालले सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध पार्टी गठन गर्न आफूहरूले चाहेको बताएका छन् ।
‘यसका लागि वार्ता र लचकता दुवै अपनाउँछौं, तर अहिलेसम्म कुनै सहमति भएको छैन’, उनले भनेका छन्, ‘२०७७ फागुन २८ गते र तत्पश्चात् बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ ।’ वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने निर्णय गरेका प्रधानमन्त्री ओलीले पार्टी भित्रको झलनाथ खनाल–नेपाल समूहसँग निरन्तर छलफल गरिरहेका छन् । नेता नेपालले यसबीचमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् भने उनी पक्षका नेताहरूले ओली पक्षका नेताहरूलाई भेटेका छन् । विष्णु पौडेलले योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायत नेताहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले पनि घनश्याम भुसाल र योगेश भट्टराईसँग छलफल गरेको सार्वजनिक भएको छ । यसैबीच प्रधानमन्त्री ओली र नेता नेपालबीच छलफल हुने तयारी भएको बताइएको छ । शुक्रबार दुवै नेताबीच छलफल हुने तय भएको हो ।