इलोन मस्कको कम्पनी नेपालमा स्याटलाइट इन्टरनेट सेवा दिन इच्छुक

यसै वर्ष सेवा आरम्भ सम्भव छ ?
आइतबार, चैत १२, २०७९

काठमाडौं । संसारकै धनी व्यक्तिको सूचिको शीर्ष स्थानमा पुग्न सफल व्यवसायी इलोन मस्कको कम्पनीले सन् २०२३मा नेपालमा स्याटलाइट (भूउपग्रहहरूको व्यापक सञ्जालबाट) इन्टरनेट सेवा उपलब्ध गराउने सम्बन्धमा आफ्ना जिज्ञासा राखेको छ । 
सामाजिक सञ्जाल ट्विटरको समेत लगानीकर्ता रहेका मस्कको कम्पनी स्पेस एक्सको वेबसाइटमा स्टारलिङ्कले इन्टरनेट सेवा आरम्भ गर्न चाहेको मुलुकहरूलाई सूचीकृत गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार स्पेस एक्सका अधिकारीहरूले अनलाइनमार्फत् अनौपचारिक रूपमा नेपालमा कसरी आउन सकिन्छ भन्ने विषयमा छलफल गरेका छन् ।
‘‘मसँग रिमोटली (अनलाइन) कुराकानी भएको थियो । नेपालको लाइसेन्सिङ्ग प्रोसिड्योर (इजाजत पत्र दिने प्रक्रिया) के हो ? कसरी आउन सकिन्छ भन्ने कुराहरू (उनीहरूको) थियो,’’ प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भने ।
स्पेस एक्सको वेबसाइटमा दक्षिण एशियाली मुलुकहरूमा नेपाल, भुटान, श्रीलङ्का अनि मालदिभ्समा यो वर्ष इन्टरनेट सेवा सुरु गरिने उल्लेख गरिएको छ ।

नक्सा
त्यस्तै भारत अनि पाकिस्तानमा नियामक निकायबाट स्वीकृति प्राप्त गर्न बाँकी रहेको अनि बाङ्ग्लादेशमा भने सन् २०२४मा उक्त सेवा सुरु गर्ने योजना रहेको कम्पनीले सार्वजनिक गरेको नक्सामा उल्लेख छ ।
यो सेवा अमेरिका, क्यानडा, ब्रिटेन, फ्रान्स, स्पेन, जर्मनी र इटलीसहित कैयौँ युरोपेली देशमा उपलब्ध छ ।
अस्ट्रेलियामा पनि यो सेवा उपलब्ध छ भने अफ्रिकाका केही देशमा स्टारलिङ्क इन्टरनेट उपलब्ध रहेको र बाँकी केहीमा सेवा सुरु हुने सम्भावित वर्षबारे जानकारी गराइएको छ । सन् २०२३मा नेपालमा सेवा उपलब्ध गर्ने स्पेस एक्सको वेबसाइटमा उल्लेख छ ।

प्राधिकरणले के जबाफ दियो ?
नेपालमा सेवा सुरु गर्नका लागि जानकारी लिन चाहेका स्टारलिङ्कका अधिकारीहरूलाई प्रक्रियाबारे जानकारी गराइएको खनाल बताउँछन् । त्यस अनुरूप उक्त कम्पनीले आधिकारिक रूपमा निवेदन भने दिइसकेको छैन ।
तर उक्त कम्पनीले नेपालका लागि पनि स्टारलिङ्क इन्टरनेट सेवाका लागि आवेदन दिन सकिने वेबसाइटमा उल्लेख गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरण
‘‘तपाइको स्टारलिङ्क सुरक्षित गर्न अर्डर गर्नुहोस् । तपाइको क्षेत्रमा सन् २०२३ मा स्टारलिङ्कले सेवा सुरु उपलब्ध गराउने लक्ष लिएको छ,’’ स्पेस एक्सको वेबसाइटमा उल्लेख छ । तर उपलब्धता भने नियामक निकायको स्वीकृतिमा निर्भर रहेको कम्पनीले जनाएको छ ।
के कारण बाधा हुन सक्छ ?
सुरुवाती कुराकानीका अनुसार सेवा सुरु गर्न स्टारलिङ्कका लागि नेपालको कानुनी प्रावधानबाधक बन्न सक्ने सम्भावना देखिएको छ ।
स्टारलिङ्कले पूर्ण स्वामित्व आफूले राखेर नेपाली बजारमा प्रवेश गर्न चाहेको प्राधिकरणसँगको छलफलका क्रममा जनाएको बताइएको छ ।
तर दूरसञ्चार नीति २०६०ले दूरसञ्चार क्षेत्रमा वैदेशिक लगानी आकर्षण गर्ने भए पनि त्यस्तो लगानीमा न्यूनतम २० प्रतिशत स्वदेशी सहभागिता हुनुपर्ने व्यवस्था गरेको छ ।
‘‘हजारौँ स्याटलाइट अन्तरिक्षमा पठाएका छौँ। त्यसलाई व्यवस्थापन गर्नुपर्‍यो भने २० प्रतिशत स्वामित्व भएकाको बोर्डमा स्वीकृति कुरुन्जेल त ‘ त्यहाँ त हामीले मिनेटमा निर्णय लिनुपर्ने हुन्छ ‘ (स्टारलिङ्कका अधिकारीहरूले) सक्दैनौँ अप्ठ्यारो हुन्छ भन्नुभएको थियो,’’ खनालले भने । इन्टरनेट र मोबाइल सेवा अवरुद्ध हुँदा ग्राहकले कस्तो अवस्थामा क्षतिपूर्ति पाउनेछन्

स्टारलिङ्कका भू-उपग्रहहरू तस्बिरमा समेत देखिन्छन्

एआईले इन्टरनेट सर्चमा कस्तो प्रभाव पार्ला
विद्यमान कानुनले त्यस्तो गर्न नदिने भए पनि कम्पनीको चासो के हो त्यो ल्याएपछि सरकारसँग समन्वय गरेर उनीहरूको माग बमोजिम गर्न सकिने रहेछ भने आफूहरूले प्रक्रिया अघि बढाउने जवाफ प्राधिकरणले दिएको छ ।
इन्टरनेटमा कतिपय देशहरूले सत प्रतिशत विदेशी स्वामित्व स्वीकार गरिसकेको अवस्थामा नेपाल सरकारले पनि त्यस्तो गर्न आवश्यक ठाने स्वीकृति दिन सकिने खनाल बताउँछन् । ‘‘तर त्यसका लागि चासो आधिकारिक रूपमा आउनुपर्‍यो,’’ खनालले भने। ‘‘लिखितरूपमा चासोबारे जानकारी गराए नसक्ने भए सकिँदैन भनेर दिन्छौँ ‘ सक्ने भए यसरी आऊ भनेर दिन्छौँ,’’ उनले थपे ।

स्टारलिङ्क के हो ?
सन् २०२२ को फेब्रुअरीमा स्पेस एक्सले एउटै रकेटबाट ४९ वटा स्टारलिङ्कका भू–उपग्रहहरू पठाएको थियो । स्टारलिङ्कले भूउपग्रहहरूको व्यापक सञ्जालबाट इन्टरनेट सेवा उपलब्ध गराउँछ । यो दुर्गम क्षेत्रमा बस्ने र द्रुत गतिको इन्टरनेटमा पहुँच नहुने मानिसहरूका लागि लक्षित छ ।
स्टारलिङ्कका भूउपग्रहहरू एक अर्काबीच सञ्चार सम्पर्क गति र पृथ्वीमा इन्टरनेटको गति तीव्र बनाउने उद्देश्यले कक्षको तल्लो तहमा पृथ्वीको वरिपरि राखिएका छन् ।

नक्सा
विश्वभरि पहुँचका लागि तल्लो तहमा रहने भूउपग्रहहरूको आवश्यकता पर्छ ।
स्टारलिङ्कले सन् २०१८ देखि २०२२को अगस्ट महिनासम्म मा करिब ३,००० भूउपग्रहहरू अन्तरिक्षमा राखेको ठानिएको छ ।
प्रविधि वेबसाइट पकेट लिन्टका सम्पादकीय निर्देशक क्रिस हलले यो परियोजना अन्तर्गत भविष्यमा १०,००० देखि १२,००० भूउपग्रहहरू राखिन सक्ने बताएका छन् ।
‘भूउपग्रहको प्रयोगले दुर्लभ स्थानहरू, मरुभूमि र हिमालहरूमा इन्टरनेट सञ्जालको समस्या समाधान गर्छ’, उनी भन्छन् ।
‘यसले ती क्षेत्रहरूमा पुग्नका लागि तार बिछ्याउनुपर्ने र खम्बाहरू गाड्नुपर्ने जस्ता पूर्वाधार बनाउनुपर्ने कुराहरू छल्न मद्दत गर्छ ।’
के नेपालमा अहिले पनि स्याटलाइट इन्टरनेट सेवा उपलब्ध छ ?
नेपालमा स्याटलाइट इन्टरनेटको माग दूर दराजमा रहेका जलविद्युत आयोजना, सीमामा रहेका सुरक्षा पोस्ट लगायतमा उच्च रहेको अधिकारीहरू बताउँछन् ।
सहरी क्षेत्रमा भने यस्तो प्रविधिमार्फत् प्राप्त हुने इन्टरनेटको त्यति धेरै माग नभएको उनीहरू बताउँछन् ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार स्टारलिङ्कको स्याटलाइट कक्षको तल्लो तहमा राखिएको छ। अन्य स्याटलाइट जियोस्टेशनमा माथि छन् । दूरीका हिसाबले धेरै तल भएकाले स्टारलिङ्क इन्टरनेटले उच्च गतिमा सेवा दिन सक्छ। यो प्रविधिमा स्याटलाइटबाट सिधा सम्पर्क स्थापित हुन्छ । ‘‘मोबाइलका लागि ब्याकहउल पनि उपलब्ध गराउन सक्ने उनीहरूले भनेका छन्,’’ खनालले भने ।

सन् २०२२को फेब्रुअरीमा स्पेस एक्सले एउटै रकेटबाट ४९ वटा स्टारलिङ्कका भू-उपग्रहहरू पठाएको थियो

तार वा फाइबर लान नसकिने क्षेत्रमा समेत मोबाइल सेवा सञ्चालन गर्न सकिने गरी आफूहरूले सेवा दिन सक्ने उक्त कम्पनीले जनाएको हो । हिमाली क्षेत्रमा पर्वतारोहणका लागि गएका मानिसहरू हराउने, हिम पहिरो लगायतका गतिविधिबारे पूर्वानुमान गर्न नसकिएको अवस्थामा उक्त सेवाले ग्रामीण भेगमा सर्वसाधारणहरूले ब्रोडब्यान्ड इन्टरनेट चलाउन सहज पारिदिने हुँदा आफूहरू उत्साहित भएको प्राधिकरणले जनाएको छ।
तर नेपालका लागि यो प्रविधि नयाँ भने होइन । विगत देखिनै मर्कन्टाइलले भीस्याट इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ । त्यस्तै कसेफीक ब्रोडब्यान्ड स्याटलाइट ग्रुपले सन् २०२२बाट नेपालमा स्याटलाइट इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ । तर यी दुबै कम्पनीले पृथ्वीबाट धेरै टाढा रहेको जियो स्याटलाइटबाट इन्टरनेट सेवा उपलब्ध गराउने भएकाले उनीहरूले स्टारलिङ्कसँग प्रतिस्पर्धा गर्न कठिन रहेको जानकारहरू बताउँछन् । 
‘‘हाइ स्पिड क्यारी गर्न खोजेको छ (उच्च गति दिन खोजेका छ) उनीहरूले ९स्टारलिङ्कले०। हाइ स्पिड भयो भने मोबाइल नै टेरेस्ट्रियल नभएर स्याटलाइटमा आधारित बनाइदिन सक्छ,’’ खनालले भने ।
इन्टरनेट सेवा प्रदायक सङ्घका (आइस्पान) अध्यक्ष सुधीर पराजुली स्टारलिङ्कको इन्टरनेटमा ‘लेटेन्सी’ निकै कम रहेको आफूहरूको बुझाइ रहेको बताउँछन् ।
फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेटका लागि स्याटलाइट इन्टरनेटले सहयोगी भूमिका निर्वाह गर्ने उनको बुझाइ छ ।
‘‘जुन ठाउँमा हाम्रो नेटवर्क राम्रो छैन। हामी पनि त्यो सेवा लिएर सेकेन्डरी लिङ्क बनाएर राम्रो सुविधा दिन सक्छौँ,’’ उनले थपे।

स्टारलिङ्क कति महँगो छ ?
स्तरीय इन्टरनेट प्रदायकको तुलनामा स्टारलिङ्क सस्तो छैन । गत अगस्टमा यसको खर्च प्रतिमहिना ९९ डलर (त्यस बेलाको विनिमय दर अनुसार करिब १२,५०० नेपाली रुपैयाँ) पर्थ्यो । त्यस बेला स्याटलाइटसँग सम्पर्कका लागि चाहिने यसको उपकरणका लागि ५४९ डलर (गत अगस्टको विनिमय दर अनुसार करिब ७० हजार नेपाली रुपैयाँ) पर्थ्यो ।
नेपालमा अन्य स्याटलाइटका माध्यमबाट प्राप्त हुने अन्य इन्टरनेट सेवा भन्दा स्टारलिङ्कको इन्टरनेट १० गुणा सस्तो पर्ने तर फिक्सड ब्रोडब्याण्ड भन्दा चाहिँ दुई वा तीन गुणा महँगो पर्न जाने प्राधिकरणको बुझाइ छ।
स्टारलिङ्क इन्टरनेटको मूल्य फिक्सड ब्रोडब्यान्डभन्दा बढी भए पनि नेपालको भौगोलिक अवस्थाका कारण स्थिर कनेक्सन दिन नसकेकाले यो प्रविधि महत्त्वपूर्ण रहेको पराजुली बताउँछन् ।
‘‘भौगोलिक कारणले गर्दा एउटा सर्किट डाउन हुँदा दुई चार दिन इन्टरनेटविहीन हुनुपर्ने स्थिति छ। समय संवेदनशील सेवाका हकमा यसले सकारात्मक प्रभाव पार्ने छ,’’ पराजुलीले भने ।
विश्वका धेरै विकसित देशहरूमा ९० प्रतिशत जनसङ्ख्यामा इन्टरनेटको पहुँच पुगिसकेको छ ।
‘अधिकांश विकसित विश्व राम्रोसँग जोडिइसकेको छ’, लन्डन विश्वविद्यालयको इन्स्टिच्यूट अफ स्पेस पोलिसी एन्ड लका प्राध्यापक शइन मोस्टेशर भन्छन्, ‘उनीहरू आम्दानीका लागि बजारको सानो हिस्सामा आश्रित छन् ।’
गत अगस्ट सम्ममा स्टारलिङ्कले विभिन्न ३६ देशमा ४०,००० उपभोक्ता रहेको र अधिकांश उपभोक्ता उत्तर अमेरिका, युरोप र अस्ट्रेलियामा रहेको जनाएको थियो ।
यो वर्ष स्टारलिङ्कले इन्टरनेटको पहुँच फितलो भएका अफ्रिका, दक्षिण अमेरिका र एशियामा आफ्नो पहुँच थप बढाउने योजना अघि सारेको छ ।
‘अफ्रिकामा धेरै घरायसी प्रयोगकर्ताहरूलाई स्टारलिङ्कको मूल्य महँगो हुन सक्छ’, हल भन्छन्, ‘तर यसले त्यहाँको दुर्गम क्षेत्रमा रहेका विद्यालय र अस्पतालहरूलाई जोड्न मद्दत गर्न सक्छ ।’–बीबीसी 

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  ११:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार