सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अहिले एमालेलाई मात्र एक्ल्याइएको भन्दै असन्नुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा बोल्दै उपाध्यक्ष पौडेलले भने, “राष्ट्रिय सहमतिका नाममा एमालेलाई एक्लो बनाउने, किनारा गराउने, शत्रुता र कटुताको परिस्थिति निम्त्याएर राष्ट्रलाई द्वन्द्वतर्फ धकेल्ने काम गरिएको छ ।” पौडेलले आफ्नो पार्टीलाई बाहिर राखेर राष्ट्रिय सहमतिको रटान लगाइएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति रोष प्रकट गरेका छन् । उनले आफ्नो पार्टीलाई बेवास्ता गरेर खोजिने राष्ट्रिय सहमतिले मुलुकको हित नगर्ने चेतावनी पनि दिएका छन् । पूर्व अर्थमन्त्रीसमेत रहेका पौडेलले आफ्नो दलका मन्त्रीलाई प्रधानमन्त्रीले अपमानजनक ढंगले निकालेको समेत दाबी गरे । ‘प्रधानमन्त्रीले कस्तो राष्ट्रिय सहमति खोज्नुभएको हो ? जनमतको हिसाबले देशको सबैभन्दा ठूलो दल एमालेसहितको राजनीतिक दलबिनाको सहमति कस्तो राष्ट्रिय सहमति हो ?’ उनले भने, ‘एमाले बिनाको राष्ट्रिय सहमतिको कुरा गरेको भए एमाले त्यसको विरोधमा छ । जनता र मुलुकले त्यस्तो राष्ट्रिय सहमति चाहेको होइन ।’ विश्वासको मतको प्रस्ताव राख्दै प्रधानमन्त्री प्रचण्डले एमाले र राप्रपाले सरकार छोडेपछि पुनः विश्वासको मत लिनुपरेको धारणा राखेका थिए । त्यसको जवाफमा एमाले नेता पौडेलले आफूहरुलाई सरकारबाट जबर्जस्ती निकालिएको बताएका हुन् । एमालेविनाको राष्ट्रिय सहमति कस्तो हो भनी पौडेलले जिज्ञासा राखे । पौडेलले स्थिरताका नाममा अहिले भइरहेका अभ्यासले राजनीतिक स्थिरता होइन, अस्थिरता हुने खतरा देखिएको बताए । उनले प्रधानमन्त्रीलाई विश्वासको मत दिने आधार र कारण एमालेले नदेखेको बताए । उनले एमाले उक्त प्रस्तावको विपक्षमा उभिने बताए । प्रतिनिधिसभाको निर्वाचनपछि एमाले राष्ट्रिय सहमतिका पक्षमा रहेको तर मुलुकको अर्थतन्त्रका बारेमा प्रधानमन्त्रीले राखेको अभिव्यक्तिबीच मेल नखाएको बताउँदै पूर्वअर्थमन्त्री पौडेलले विभिन्न कारणबाट मात्रै विदेशी मुद्राको सञ्चित सकारात्मक हुन पुगेको दाबी गरे । उनले भने, “हाम्रो राजस्वले साधारण खर्च पनि धान्न नसक्ने अवस्था छ, पुँजीगत खर्चको अवस्था पनि त्यति उत्साहजनक देखिन्न, सरकार संसदीय अङ्कगणितमा केन्द्रित हुँदा धरासयी हुँदै गएको अर्थतन्त्र सुधार गर्नेतर्फ ध्यान केन्द्रित हुने सङ्केत देखिन्न ।”