उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित, कस्तो छ उनको पृष्ठभूमि ?

शुक्रबार, चैत ३, २०७९
मयुर प्लाई

काठमाडौँ । मुलुकको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । यादवले ३० हजार ३२८ मतभार प्राप्त गरे । उनले संघीय संसद्‌तर्फ १४ हजार ५३६ र प्रदेशसभातर्फ १५ हजार ७९२ मतभार पाएका छन् । उनले संघीय सांसद १८४ र प्रदेशसभाका ३२९ को मत पाए ।

एमालेकी अष्टलक्ष्मी शाक्यको पक्षमा प्रदेशसभातर्फ १६९ र संघका १०४ सांसदले गरेकाे मतदानबाट १६ हजार ३२८ मतभार कायम भयाे भने जनमतकी ममता झाले प्रदेशमा १५ र संघमा २३ मत पाउँदा २५३७ मतभार पाइन् ।

यस्तै, जसपाकी अर्की उम्मेदवार प्रमिला यादवले प्रदेशमा १ मतसहित ४८ मतभार पाइन् । तर, उनले रामसहायलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय पारेकी थिइन् । निर्वाचित भएका यादवलाई कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन गरेका थिए ।

प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका सांसदले उपराष्ट्रपतिमा मत दिएका हुन् । प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभा गरी कुल मतभार ५२ हजार ६२८ रहेको छ । यादवले त्यसको बहुमत अर्थात् २६ हजार ३ सय १४ मतभारभन्दा बढी मत ल्याई निर्वाचित भएका हुन् ।

उपराष्ट्रपति निर्वाचित यादवको पृष्ठभूमि

पछिल्लो आमनिर्वाचनमा बारा–२ बाट प्रतिनिधिसभामा निर्वाचित रामसहायप्रसाद यादव राजनीति सुरु गर्नुअघि शिक्षक थिए । उनी जसपा नेपालका संसदीय दलका नेता समेत हुन् । उपराष्ट्रपति भएपछि भने उनको दलीय आबद्धता रहनेछैन । नेपाल सद्भावना पार्टीबाट राजनीति सुरु गरेका उनी खासगरी मधेस आन्दोलनपछि निरन्तर जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव निकट छन् । यसबीचमा उनी मधेसी जनअधिकार फोरम र सङ्घीय समाजवादी फोरममा आबद्ध भए । पूर्णकालीन राजनीतिकर्मी हुनुअघि उनले डेढ दशकभन्दा बढी समय शिक्षण गरेका थिए ।
विसं २०६४ सालमा उनी स्थायी शिक्षकबाट राजीनामा दिएर राजनीतिमा होमिएका हुन् । उनी पहिलो संविधानसभामा समानुपातिक प्रणालीमार्फत प्रतिनिधित्व गरेका थिए । विसं २०७४ सालको आमनिर्वाचनमा भने उनी प्रत्यक्षतर्फको चुनाव जितेका हुन् । उनी वन तथा वातावरण मन्त्रीसमेत बनेका थिए । विसं २०२७ सालमा जन्मिएका उनी २०४७ सालदेखि राजनीतिक दलसँग आबद्ध भएको संसद् सचिवालयको परिचयात्मक पुस्तिकामा उल्लेख गरेका छन् ।
जसमा उनी २०६०–६२ मा अर्धभूमिगत रहेको र पाँच पटक प्रहरी हिरासतमा परेको उल्लेख छ । उनका दुई छोरी र एक छोरा छन्।

उपराष्ट्रपतिको कार्य
नेपालको संविधानअनुसार नेपालको राष्ट्रप्रमुखका रूपमा रहने राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिले कार्यभार सम्हाल्छन् । उपराष्ट्रपतिले राष्ट्रपतिबाट सपथ लिने संवैधानिक व्यवस्था छ ।
राष्ट्रपतिमा २५ फागुनमा सम्पन्न निर्वाचनमार्फत् यसअघि नै नेपाली काङ्ग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् । उपराष्ट्रपतिमा निर्वाचित हुन कुल योग्य मतदाताको मतभारको बहुमत आवश्यक हुने कानुनी व्यवस्था छ ।

आवश्यक मतभार
निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि ८८२ जना मतदाताको नाम सार्वजनिक गरेको थियो ।
सङ्घीय संसद्का ३३२ जना र प्रदेशसभाका ५५० जना मतदाताहरूको सबै मत भार जोड्दा ५२ हजार ६२८ हुन्छ । त्यसको बहुमतका लागि २६ हजार ३१५ मत आवश्यक पर्थ्यो । उपराष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्‌तर्फ कुल ३११ र प्रदेशसभातर्फ ५१८ मत खसेको निर्वाचन आयोगले जनाएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीले उपराष्ट्रपतिको निर्वाचनमा मतदान गरेनन् ।

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १६:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार