देउवा निवास बुढानिलकण्ठमा प्रधानमन्त्री ओली 

बुधबार, वैशाख २२, २०७८

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न दलबलसहित प्रधानमन्त्री केपी शर्मा ओली बूढानिलकण्ठ पुगेका छन् । विपक्षी गठबन्धनले राष्ट्रिय सभा उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा बादलको विरुद्धमा संघीयताविद् खिमलाल देवाकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको सार्वजनिक भएलगत्तै ओली देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका हुन् । आफूमाथि संसद्को विश्वास रहेको प्रमाणित गर्न ओलीले वैशाख २७ मा संसद्मा विश्वासको मत लिने प्रयोजनका लागि संसद अधिवेशन डाकेको सन्दर्भमा कांग्रेसको साथका लागि ओली देउवा निवास पुगेको हुन् । तथापि कांग्रेसले मंगलबार मात्रै प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । देउवानिवासको भेटमा प्रधानमन्त्री ओलीसँग एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री विष्णु पौडेल सहभागी छन् । त्यस्तै कांग्रेसबाट सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइराला, महामन्त्री पूर्णबहादुर खड्का, सह–महामन्त्री डा.प्रकाशशरण महत र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौंला सहभागि छन् । भेटमा पछिल्लो राजनीतिक परिस्थिति, संसद्को विशेष अधिवेशन, राष्ट्रियसभा उपनिर्वाचन लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १८:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार