संसद्मा ओलीलाई असफल बनाउने रणनीतिमा दलहरु

उपेन्द्र निवासमा प्रचण्ड–माधवसहितको छलफल
बुधबार, वैशाख २२, २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने प्रयोजनका लागि संसद् अधिवेशन आह्वान गरेपछि उनलाई असफल बनाउने रणनीति तय गर्न विपक्षी गठबन्धनका नेताहरु दिनहुँ छलफलमा जुटेका छन् । मंगलबार नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । समर्थन फिर्ताको निर्णय माओवादी केन्द्रले आज संसद् सचिवालयमा बुझाइसकेको छ । यस्तै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पनि संसद्मा प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । एमाले भित्रको अल्पमत समूहका नेता माधवकुमार नेपाल समूहले पनि रणनीति तय गर्न छलफल गरिरहेको छ ।  बुधबार प्रचण्डको अगुवाईमा एमालेको माधव नेपाल समूह तथा जनता समाजवादीको उपेन्द्र यादव समूहले प्रधानमन्त्रीलाई संसद्मा विश्वासको मतमा असफल बनाउने बारणमा छदलफल भएको छ । मंगलवार देउवासहित छलफल गरेका नेताहरु बुधवार विहान जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको घरमा छलफल गरेका छन् । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष उपेन्द्र यादवको हात्तीवनस्थित निवासमा यादवसहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल छलफलका लागि जुटेका हुन् । तीन नेताबीच एमाले र जसपाको आन्तरिक समीकरणकै विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।  एमालेका कति सांसदले राजीनामा दिने र जसपाका कति सांसदलाई बाबुराम–उपेन्द्रको पक्षमा राख्न सकिन्छ भन्ने विषय केन्द्रित छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा विश्वासको मत लिनबाट असफल बनाउने र उनकै नेतृत्वमा चुनाव हुने संख्या नपुग्नेगरी राजिनामाको विषय दलका नेताहरुले छलफल गरेको बताइएको छ । त्यस्तै जसपाको महन्थ ठाकुर पक्षलाई पार्टी र संसदीय दल दुवैतिर अल्पमतमा पार्ने उपायबारे समेत छलफल भएको छ । यसअघि हिजो साँझ प्रचण्ड, माधव, उपेन्द्रसहित कांग्रेस सभापति शेरबहादुर देउवाले छलफल गरेका थिए ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १४:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार