राष्ट्रपति चुनावमा रास्वपा र राप्रपाको मत कसलाई ?

शुक्रबार, फागुन १९, २०७९

काठमाडौं । राष्ट्रपति चुनावमा मतदानको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र विभिन्न दृष्टिकोणहरू रहेको भए पनि चुनावअघि एउटा निष्कर्षमा पुग्ने नेताहरूले बताएका छन् । आफ्नो चुनावी वाचापत्रमा यसै वर्ष गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुनै राजनीतिक दलमा नलागेका र १० वर्षसम्म राजनीतिक लाभको पदमा नपुगेका नेपाली नागरिकलाई राष्ट्रपति बनाउनुपर्ने धारणा राखेको थियो ।
नेपाली कांग्रेसका नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेलले मनोनयन दर्ता गराएकै दिन र एमालेका उपाध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले बुधवार रास्वपासँग मत मागेका थिए । 
गणतन्त्रको विपक्षमा रहेको राप्रपाका एक जना प्रवक्ताले मतदान बहिस्कार गर्नुपर्ने देखि चुनावमा सहभागी हुनुपर्नेसम्मका विचार आफ्नो दलभित्र रहेको बीबीसीलाई बताएका छन् ।

रास्वपाको धारणा के छ ?
रास्वपाका कतिपय नेताहरू पार्टीको वाचापत्रमा राजनीतिक दलमा नलागेका व्यक्तिलाई राष्ट्रपति बनाइनुपर्ने उल्लेख भएको भन्दै चुनावमा तटस्थ बस्नुपर्ने पक्षमा रहेको बताइन्छ ।
उक्त दलका उपाध्यक्ष डोल प्रसाद अर्यालले उम्मेदवारहरूले आफ्नो दलसँग मत मागे पनि कसलाई भोट हाल्ने भनेर निर्णय गर्न बाँकी रहेको बताए ।
उनी भन्छन्, “पार्टी खोल्दा देखिकै हाम्रो विचार के हो भने १० वर्ष राजनीति नगरेको मान्छे त्यस्तो सम्मानित पदमा जानुपर्छ भनेर भनेका हौँ । पार्टीप्रति झुकाव नहोस् र तटस्थ व्यक्ति होस भनेर हामीले त्यसो भनेका थियौँ । हाम्रो लक्ष्य त्यो भएपनि अहिले त्यो कतिको सम्भव होला ? हाम्रो दलको निर्णय के हुन्छ हामी अहिले नै भन्न सक्दैनौँ ।” अर्यालले आफ्नो दलले कुनै उम्मेदवारी नदिएको बताउँदै ‘तटस्थ बस्ने वा मत नहाल्ने भनेर निर्णय नगरेको’ टिप्पणी गरे ।
“राजनीतिक पृष्ठभूमि भएकै कारण भोट हाल्दैनौँ भनेर हामीभित्र कुरा चलेको छैन । अन्तिम समयमा हामी संयुक्त रूपमा बसेर निर्णय लिन्छौँ ” उनले भने । 
आफ्ना पार्टी सभापति रवि लामिछानेले नयाँ नागरिकता लिनुपर्ने निर्णय सर्वोच्च अदालतले गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट रास्वपा अलग भएको थियो ।
अदालतको निर्णयबाट सांसद र गृहमन्त्रीको पद गुमाएका लामिछाने आगामी वैशाखमा तय भएको उपनिर्वाचनमा पुनः लड्ने सुरसारमा छन् ।
उपाध्यक्ष अर्यालले गएको पुस १० गते सत्ता समीकरण निर्माण हुँदा भएको सहमति बमोजिम आफूहरूले उपसभामुख पद पाएको र अहिलेसम्म सरकारलाई समर्थन दिइरहेको बताए । तर भावी दिनमा परिस्थिति हेरेर निर्णय लिनसक्ने उनले सङ्केत गरेका छन् । 
उनी थप्छन्, “चुनाव आउन बाँकी नै छ। नेपालको राजनीतिमा अझै पनि के के हुन्छ थाहा छैन । हामी अहिले कुनै पनि निर्णय लिने तयारीमा छैनौँ। समय आएपछि निर्णय लिन्छौँ ।”
राष्ट्रपति चुनावमा बनेको नयाँ समीकरणसँगै गएको पुसमा प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रिपरिषद्‌बाट बाहिरिएको थियो । सरकारलाई दिएको समर्थन फिर्ता लिने या नलिनेबारे रास्वपाले कुनै दृष्टिकोण सार्वजनिक गरेको छैन ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति चुनावपछि कांग्रेससहित आठ दलीय गठबन्धनलाई सामेल गराएर मन्त्रिपरिषद् विस्तार गर्ने र प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी अघि बढाएका छन् । 
संसदको चौथो ठूलो दल रास्वपाका १९ जना सांसदहरू छन् । पाँचौँ ठूलो दल राप्रपाका १४ जना सांसद रहेका छन् ।

राप्रपाले के गर्छ ?
हिन्दु राष्ट्रको स्थापना र संवैधानिक राजतन्त्रको पक्षमा उभिएको राप्रपाका नेताहरूसँग पौडेल र नेम्वाङ दुवैले आफूलाई निर्वाचित हुन सघाउन अनुरोध गरेका छन् ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने, “दुई दिनअघि रामचन्द्र पौडेल र सुवास नेम्वाङसँग भेटघाट भएको छ । उहाँहरूले राष्ट्रपति चुनावमा साथ, सहयोग र समर्थन माग्नुभएको छ । हामीले कुनै निर्णय गरिसकेका छैनौँ। उपयुक्त समयमा निर्णय लिन्छौँ ।”
पार्टीभित्र राष्ट्रपति चुनावको मतदानको विषयलाई लिएर विभिन्न किसिमका धारणाहरू रहेको भएपनि एकमतले निर्णय हुने विश्वास उनको छ ।
उनी भन्छन्, “भोट हालेर जानुपर्ने मतहरू पनि छ । बहिस्कार गर्नुपर्छ भन्ने पनि छ । तटस्थ हुनुपर्छ भन्ने पनि छ। सबै खाले मतहरू छ तर हाम्रो कुनै फरक धारणा हुँदैन। एउटै धारणा हुन्छ ।”
राजसंस्थाको पक्षमा आफूलाई उभ्याएको भएपनि राप्रपाले ‘संविधान र संवैधानिक व्यवस्था’ मा भएका प्रावधान अनुरूप आफूहरू अघि बढी रहेको उनले बताए ।
उनको भनाइ छ, “हामीले निर्वाचनमा भाग लिएका छौँ । सरकारमा गएका छौँ । राष्ट्रपतिसँग शपथग्रहण गरेका छौँ। यसै सेरोफेरोमा रहेर हामी उपयुक्त समयमा निर्णय लिन्छौँ ।”

मत माग्न दुवै उम्मेदवार व्यस्त
फाल्गुन २५ गते तय भएको राष्ट्रपति चुनावका लागि आफ्नो पक्षमा वातावरण बनाउन दुवै उम्मेदवारहरूले बिहीवार पनि मत माग्ने क्रम जारी राखेका छन् ।
प्रधानमन्त्रीसहित आठ दलीय गठबन्धनका शीर्ष नेताहरूले आफ्ना सांसद्हरूको अभिमुखीकरण आयोजना गरेर पौडेलको पक्षमा मतदान गर्न आग्रह गरेका थिए ।
नेम्वाङसहितको टोलीले एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीको कार्यालयमा पुगेर अध्यक्ष माधवकुमार नेपाललाई आफ्ना उम्मेदवारलाई समर्थनका लागि अनुरोध गरेका थिए ।
उक्त भेटपछि नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले भने, “राष्ट्रपति निर्वाचनको सन्दर्भमा हामी रामचन्द्र पौडेलको प्रस्तावक रहेकाले हामीले तत्कालै केही भन्न सक्ने परिस्थिति थिएन। उहाँहरूले पनि त्यो कुरा मनन गर्नुभएको छ ।”
उनका अनुसार ‘बल्ल बल्ल दुई पार्टीबीच आधिकारिक औपचारिक भेटवार्ता’ हुनु सकारात्मक हो ।
अहिले राष्ट्रपति चुनावका लागि कांग्रेससहितको गठबन्धनको पक्षमा देखिएको अङ्कगणित कायम रहेको खण्डमा पौडेल देशको सर्वोच्च पदमा पुग्ने निश्चित छ ।
राष्ट्रपति चुनावमा गोप्य मतदान हुने भएकाले गठबन्धन टुटाउन अथवा सङ्घीय संसद् र प्रदेशसभाका सांसदहरूको मत तान्न एमालेले प्रयत्न गर्ने देखिन्छ ।
एमालेले कांग्रेसबाहेक दलसँग मत माग्ने निर्णय गरेको छ भने राष्ट्रिय सहमति कायम हुने भन्दै आफ्ना उम्मेदवारलाई समर्थन गर्न कांग्रेसले एमालेलाई पत्राचार गरेको छ ।–बीबीसीको रिपोर्ट 

प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  १०:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार