भावी राष्ट्रपति कांग्रेसबाट, आठ दलले दिने भए समर्थन

भोलि उम्मेदवार मनोनयन
शुक्रबार, फागुन १२, २०७९

काठमाडौँ । चुनावपछि भत्किएको पुरानो गठबन्धन राष्ट्रपति निर्वाचनमा फेरि एक ठाउँमा आएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज पुरानो गठबन्धनका तथा नयाँ थपिएका सहित आठ दलले राष्ट्रपतिमा काँग्रेसलाई साथ दिने निर्णय गरेका हुन् ।
आठ दलीय गठबन्धन भित्र नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टी गोलबद्ध भएका छन् ।  
आठ दलको बैठकले कांग्रेसका उम्मेदवारलाई भावी राष्ट्रपतिको निर्वाचनमा समर्थन गर्ने निर्णय गरेको हो ।
“आज प्रधानमन्त्रीज्यूले सत्तामा रहेका र सत्ताबाहिर रहेका आठ दलको बैठक बोलाउनुभएको थियो, त्यो बैठकमा एउटै ‘एजेन्डा’ राष्ट्रपतिको निर्वाचनको सम्बन्धमा मात्रै छलफल भयो, प्रधानमन्त्रीले ठूलो दलको हैसियतले कांग्रेसलाई राष्ट्रपतिको चुनावमा सहयोग गर्ने प्रस्ताव गर्नुभयो, त्यसमा हामीले सहमति जनाएका छौँ ” पत्रकारसँग नेकपा एसका नेता प्रकाश ज्वालाले भने ।  
काँग्रेसले अब राष्ट्रपति बनाउने पात्रको निर्णय लिनेछ । अहिले चर्चाृमा नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला अग्रस्थानमा छन् ।
बैठकमा प्रधानमन्त्री दाहालले भनेका थिए “आजदेखि नयाँ राजनीतिक यात्रा सुरु भएको छ, यसलाई अगाडि बढाऔँ, सबै दलहरु मिलेर जाऔँ र राष्ट्रको समृद्धि, राष्ट्रिय स्वाधीनतालगायतका विषयमा एकताबद्ध भएर जानुपर्छ, सत्ता समीकरणको विषयमा पनि एकताबद्ध भएर जाऔँ ।”
बैठकमा माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित जनार्दन शर्मा, कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एसका नेता घनश्याम भुसाल, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमतका वरिष्ठ उपाध्यक्ष अब्दुल खाँ र नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ सहभागी थिइन् ।
फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि शनिबार मनोनयन दर्ताको कार्यतालिका छ ।
बिहान बसेको कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एसको शीर्ष नेताहरूको बैठकले पुरानो गठबन्धन ब्युँत्याउने सहमति गरेका थिए । एमालेले पुस १० को सहमतिअनुसार राष्ट्रपति आफूले पाउनुपर्ने बताउँदै आइरहेको थियो । तर, प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति बनाउनुपर्ने अडान राख्दै आएका  थिए । राष्ट्रपति निर्वाचनको विषयमा आजै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा दुई घण्टा छलफल भएको थियो । दुई नेताले अआफ्ना अडान नछाड्दा राष्ट्रपतिमा काँग्रेसका उम्मेदवारलाई सघाउन वातावरण बनेको हो ।

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  २१:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार