माधव नेपाल भन्छन्, 'पावर सेरिङमा हाम्रो पार्टीको भूमिका हुनुपर्छ'

सधैँ अरुकै लागि बलिदान भइन्न : माधव

मंगलबार, फागुन ९, २०७९

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिन नजिकिँदो छ । आजकाे दिन बितिसक्यो । मनोनयन दिनसम्मलाई गन्दा अब जम्मा चार दिन मात्रै बाँकी छ । तर दलहरुले अहिलेसम्म पनि राष्ट्रपति उम्मेदवारको टुङ्गो लगाउन सकिरहेका छन् । राष्ट्रपति निर्वाचनलाई लिएर दलहरु गोलचक्करमा परेका छन् । एमाले आफ्नै पार्टीका नेतालाई राष्ट्रपति बनाउन चाहन्छ । काँग्रेसको चाहना पनि यस्तै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिमा राष्ट्रिय सहमतिको राप अलापि रहेका छन् । उनको राष्ट्रिय सहमतिको नाममा एमालेलाई राष्ट्रपतिमा रोक्न ठूलो जोडबल रहेको छ । कहिले कसको नाममा चर्चामा छ त कहिले कसको । पछिल्लो समय नेकपा एसका अध्यक्ष माधव नेपालको नाममा आएर राजनीतिक अडकिएको छ । एमालेले आफूले राष्ट्रपतिमा आफ्ना नेतालाई जिताउन नसक्ने हुँदा माधव नेपाललाई राष्ट्रपतिमा अघि सार्न खोजेको छ । एमाले अध्यक्ष केपी ओली र नेकपा एसका अध्यक्ष माधव नेपालबीच सोमबार भएको लामो छलफलले पनि राष्ट्रपतिमा माधव नेपाललाई अघि सार्ने वातावरण बनेको पुष्टि गरेको छ । एमाले–नेकपा एस माधव नेपाललाई राष्ट्रपति बनाएर पार्टी एकीकरणसम्म गर्न तयार भएको चर्चा भइरहेको छ । बाबुराम भट्टराई पनि राष्ट्रपतिका लागि खुट्टा उचालेका नेता हुन् । काँग्रेसबाट रामचन्द्र पौडेल तथा कृष्णप्रसाद सिटौलाको नाम अग्रपक्तिमा लिइने गरिएको छ । काँग्रेस सभापति पनि राष्ट्रपतिका लागि तयारी भएको भन्ने पनि चर्चा चलेको छ । मधेशवादी दलहरुबाट महन्थ ठाकुरको नाम पनि राष्ट्रपतिका लागि लिने गरिएको छ । राष्ट्रपनि निर्वाचनका लागि नेकपा माओवादीको मत निर्णायक छ । उसले जसलाई समर्थन गर्छ सोही उम्मेदवार नै राष्ट्रपति बन्नेछन् । सोमबारदेखि राष्ट्रपतिमा चर्चा गरिएका माधव नेपालले भने सार्वजनिक रुपमा राष्ट्रपति निर्वाचनका बारेमा औपचारिक निर्णय गरिनसकेको बताए पनि शक्ति बाँडफाटमा हिस्सेदारी खोजेका छन् । 
नेकपा एसका अध्यक्ष नेपालले राष्ट्रपति निर्वाचनलाई आफ्नो पार्टीले शक्तिको बाँडफाँटको रुपमा लिने बताएर आफूहरुलाई यो पद दिनुपर्ने संकेत गरेका छन् । 
आज पश्चिम दाङको भालुवाङमा पत्रकारसँग कुराकानी गर्दै उनले राष्ट्रपति बन्न आफूलाई ठोस प्रस्ताव नआएको भने भन्न छुटाएनन् । “अहिले बजारमा हल्ला धेरै छन् । चर्चा परिचर्चा धेरै छन् । यस सन्दर्भमा कुनै टुङ्गो लागेको छैन”, उनले भने, “चाहना राख्ने कुरा बेग्लै कुरा हो । मैले नै आफू के गर्ने सोचिसकेको छैन ।” 
राष्ट्रपतिको उम्मेदवारका विषयमा आफ्नो पार्टीले निर्णय नगरेको उल्लेख गर्दै अध्यक्ष नेपालले भने, “‘पावर सेरिङ’मा हाम्रो पार्टीको भूमिका हुनुपर्दछ । अरुकै लागि सधैँ बलिदान भइन्न ।” अरुले फाइदा उठाउने कुरा मान्य नहुने उनको भनाइ छ । 
राष्ट्रपतिको लागि बृहत् छलफलको आवश्यकता रहेको उल्लेख गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति बन्न आफूलाई प्रस्ताव गरेको समाचार सार्वजनिक भए पनि अध्यक्ष नेपालले कतिपय कुरा पर्दाभित्रै रहन दिँदा उपयुक्त हुने टिप्पणी गरे । “प्रेसमा आएका सबै समाचार साँचो हुन्छन् भन्ने छैन”, उनले भने, “अहिले नै बोल्ने कुराको हतार गर्नुहुन्न । हतार नगरिकन पर्दाभित्र नै रहन दिनुपर्छ ।”
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले पार्टीको ध्यान देशको हितको रक्षा गर्नुपर्ने कुरामा सबै गम्भीर हुनुपर्ने बताए । “संविधानलाई जोगाउने कुरामा हामी अत्यन्तै चनाखो हुनुपर्ने छ”, उनले भने, “देशलाई समाजवादको दिशातर्फ लग्ने सोचतिर हामीले ध्यान दिएका छौँ ।”

प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १९:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार