पशुपतिमा २० लाख भक्तजन आउने आशा

पशुपतिनाथ क्षाेत्रको सुरक्षाका लागि ६ हजार प्रहरी, १ हजार सशस्त्र प्रहरी परिचालन

शनिबार, फागुन ६, २०७९

काठमाडौँ । महाशिवरात्रि मेला लाग्ने पशुपति क्षेत्रको सुरक्षाका लागि नेपाल प्रहरीले तीन हजारभन्दा बढी पोशाक र त्यतिकै सङ्ख्यामा सादा पोशाकका प्रहरी परिचालन गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले शुक्रबारदेखि नै पशुपतिनाथ क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।
सशस्त्र प्रहरीले एक हजारभन्दा बढी जनशक्ति परिचालन गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार व्यवस्थित तरिकाले दर्शन गर्न पाउने व्यवस्थाका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ ।
यस वर्ष कसैलाई पनि मन्दिर प्रवेशको पास दिइएको छैन । यसैगरी पशुपति क्षेत्रमा मासु, मदिरा, गाँजालगायत नशालु पदार्थ पूर्णरूपमा बेचबिखन र सेवनसमेतमा प्रतिबन्ध लगाइएको छ ।
दर्शनका क्रममा असहज भएका दर्शनार्थीका लागि ठाउँ–ठाउँमा प्रहरी हेल्फ डेस्क, एम्बुलेन्सलगायतको सेवाका लागि समेत टोली खटाइएको प्रहरीले जनाएको छ ।
पशुपति क्षेत्रमा साधु–सन्तको घुइँचो बढेको छ । यस वर्ष शिवरात्रि मेलामा कम्तीमा पनि २० लाखभन्दा बढी दर्शनार्थी आउने अनुमान गरिएको छ ।
शिवरात्रिलाई लक्षित गर्दै महानगरीय ट्राफिक महाशाखाले १० वटा रुटमा पूर्णरूपमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । चावहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतीदेवी मोडबाट रातोपुल हुँदै गौशालातर्फ यस्तै सिफल चौरबाट जगबागेश्वरीतर्फ, लामापोखरी कुटुबालबाट मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ, तिलगङ्गाबाट गौशलातर्फ सवारी आवागमन निषेध गरिएको छ ।

 

प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९  ०५:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार