प्रदेश सरकार विस्तारका लागि लुम्बिनीका मुख्यमन्त्रीले छलफल थाले

मंगलबार, माघ २४, २०७९

रूपन्देही । लुम्बिनीका मुख्यमन्त्री लीला गिरीले राष्ट्रियसभाको उपनिर्वाचनलगत्तै क्याविनेट विस्तार गर्ने गरी तयारी थालेका छन् । लुम्बिनीमा भोलि राष्ट्रियसभा सदस्यको उपनिर्वाचन हुँदैछ ।  राष्ट्रिय सभाको निर्वाचनपछि मन्त्री थप्ने गरी मुख्यमन्त्री गिरीले सत्ता साझेदार दलका नेतासँग छलफल गरेका हुन् । 
गत पुस २७ मा मुख्यमन्त्री बनेका गिरीले माघ ५ मा विश्वासको मत लिएका थिए । आफूसँगै माओवादी र एमालेबाट एक–एक जना मन्त्री नियुक्त गरेका मुख्यमन्त्री गिरीले मन्त्रीहरूलाई जिम्मेवारी पनि दिन सकेका छैनन् । नेकपा एमालेबाट चेतनारायण आचार्य र माओवादी केन्द्रबाट कृष्णा केसी बिना विभागीय मन्त्रीको रुपमा काम गरिरहेका छन् । सरकार गठनलगायतका विषयमा प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री गिरीबीच भेटघाट पनि भएको छ । सरकार विस्तार, सरकारको न्यूनतम साझा कार्यक्रमलगायतका विषयमा मुख्यमन्त्री गिरीले साझेदार दलसँग छलफल गरेको उनको सचिवालयले जनाएको छ ।
लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्यासमेत घटाइएको छ । यहाँ मुख्यमन्त्रीसहित १० मन्त्रालय छन् । माओवादी संसदीय दलका नेता जोखबहादुर महरालाई मातृशोक परेका कारण सरकार विस्तार रोकिएको र राष्ट्रियसभा चुनावलगत्तै प्रक्रिया अघि बढ्ने सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिए ।
माओवादी संसदीय दलका नेता महराले भने, “मुख्यमन्त्रीलाई सत्ता गठबन्धनमा रहेका सबै दलसँग छलफल र सहमति गरेर सरकारलाई पूर्णता दिन भनेका छौँ।” सरकार विस्तार, सरकारको न्यूनतम साझा कार्यक्रमलगायत विषयमा मुख्यमन्त्री गिरीले साझेदार दलसँग छलफल गरेको मुख्यमन्त्रीको सचिवालय सदस्य अमृत गिरीले जानकारी दिए । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य भूमिश्वर ढकालले पनि भोलि हुने राष्ट्रियसभाको निर्वाचनलगत्तै प्रदेश सरकार विस्तार हुने बताए । उनले सरकारलाई समर्थन गरेका दलसँग सत्ता साझेदारीका विषयमा छलफल चलिरहेको र केही दिनमै अन्तिम टुङ्गो लगाएर छिट्टै सरकार विस्तारको तयारी भइरहेको जानकारी दिए । बिना विभागीय मन्त्री तथा सरकारका प्रवक्ता चेतनारायण आचार्यले अबको केही दिनभित्रमा नै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए । 
स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा तत्काल मन्त्रालय राख्ने र आवासको समेत व्यवस्थापन गर्नुपरेकाले केही ढिलाइ भएको उनको भनाइ थियो । 

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १४:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार