केही घण्टाको फरकमा टर्कीमा गयो दोस्रो शक्तिशाली भूकम्प

सोमबार, माघ २३, २०७९

अंकारा । टर्कीमा केही समयअघि मात्रै देशको पूर्वी भागमा दोस्रो शक्तिशाली भूकम्प गएको छ । अघिल्लो भूकम्पबाट प्रभावित क्षेत्रमा नै यो भुइँचालो पनि गएको हो । 
यूएस जियोलोजिकल सर्भेका अनुसार उक्त भूकम्पको शक्ति ७.५ म्याग्निट्युड रहेको मापन गरिएको छ । यसअघि पहिलो भूकम्पका कारण १,२०० जनाभन्दा बढीको ज्यान गएको टर्की र सिरियाको ठूलो भूभागमा उद्धारकर्ताहरूले खोज तथा उद्धार कार्य जारी राखेका छन् । टर्कीको गाजीयान्टेप प्रान्तलाई केन्द्रबिन्दु बनाएर गएको सात दशमलव आठ म्याग्निट्यूडको भूकम्पका कारण कैयौँ भवन भत्किएका थिए । उक्त क्षेत्रमा लाखौँ सिरियाली शरणार्थीहरूको बसोबास छ ।

भूकम्प
हालसम्म द्वन्द्व प्रभावित उत्तरी सिरियामा एक सयभन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ । उक्त भूकम्पको धक्का लेबनन र गाजामा समेत महसुस गरिएको थियो । भूकम्पपछि टर्कीले सङ्कटकाल घोषणा गरेको छ । उसले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ।
राष्ट्रपति रेजेप ताइयीप एर्दोआनले सामाजिक सञ्जाल ट्विटरमार्फत् सन्देश दिँदै भनेका छन्, “हामी अपेक्षा गर्छौँ कि सकेसम्म चाँडो र कम क्षतिसहित हामी यो विपद्‌बाट पार पाउनेछौँ ।”
उनले प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धार टोली तत्कालै पठाइएको भन्दै अरू एकाइहरूलाई पनि सतर्क अवस्थामा राखिएको बताए ।
भूकम्प गएको स्थान दक्षिण–पूर्वी टर्कीस्थित गाजीयान्टेप सिरियासँगको सीमानजिकै पर्छ । अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार टर्कीको स्थानीय समयअनुसार बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

क्षतिको विवरण आउने क्रम जारी
भूकम्पको धक्का राजधानी अङ्कारासहित टर्कीका विभिन्न सहरहरूमा महसुस भएका विवरणहरू प्राप्त भएको छ ।
कैयौँ भवनहरू भत्किएका र त्यहाँ केही मानिस फसेका हुनसक्ने विवरणहरू सार्वजनिक भइरहेका छन् । भूकम्पपछि परकम्पहरू पनि महसुस गरिएका विवरण आएका छन् । भूकम्पको केन्द्रबिन्दु रहेको गाजीयान्टेपमा रहेको दुई हजार वर्षभन्दा पुरानो गाजीयान्टेप कासलका अधिकांश हिस्सामा क्षति पुगेको छ।
गाजा स्ट्रिपीथत घरहरु करिब ४५ सेकेन्ड हल्लिएका थिए । टर्कीका भूकम्पविद्ले भूकम्प ७.४ म्याग्निट्युडको रहेको अनुमान गरेका छन् ।

tarki1675664865.jpg
उनीहरूका अनुसार केही मिनेटमै दोस्रो धक्का महसुस भएको थियो । टर्की विश्वको सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्रहरूमध्ये एक हो । सन् १९९९ मा देशको उत्तर–पश्चिममा शक्तिशाली भूकम्प गएपछि १७ हजार भन्दा बढी मानिसले ज्यान गुमाएका थिए ।
यसैबीच संयुक्त राज्य अमेरिकाले उक्त विपद्का विवरणबाट आफू गम्भीर रूपमा चिन्तित रहेको जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले कसरी मद्दत पुर्‍याउन सकिन्छ भनेर विश्लेषण गर्न देशको अन्तर्राष्ट्रिय सहायता निकायलाई निर्देशन दिएका छन् । युरोपेली सङ्घले टर्कीमा खोजी तथा उद्धार टोली पठाइरहेको जनाएको छ । द नेदरल्यान्ड्स र रुमेनियाका खोजी तथा उद्धारकर्ताहरू उद्धारकार्यमा सघाउन निस्किसकेका छन् । फ्रान्स र जर्मनीसहितका देशले सहयोग गर्ने जनाएका छन् ।–बीबीसी 

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १७:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार