सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सरकारले प्रदेश प्रमुखबाट आफूलाई असहयोग हुने विश्लेषण गर्दै सोमबार दुई प्रदेशका प्रमुखलाई पदमुक्त गरी नयाँ नियुक्ति गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी हुन् । सोमबार मन्त्रिपरिषद बैठकको सिफारिसमा गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्त भएका छन् । गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला कुमारी पन्त प्रदेश प्रमुख थिए । उनीहरु पदमुक्त भएका छन् । एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि प्रदेशप्रमुख नियुक्त भएका उनीहरु माओवादी केन्द्रमा आवद्ध थिए । माओवादी केन्द्रमै आवद्ध रहेका तिलक परियार प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त भई त्यहाँ राजेश अहिराज नियुक्त भइसकेका छन् ।
को हुन् गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख बनेका पौडेल र यादव ? पौडेल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार हुन् । उनी एमालेको भ्रातृ संगठन अखिल नेपाल महिलासंघकी अध्यक्ष समेत हुन् । त्यस्तै यादव भने दोस्रो संविधान सभाका उपाध्यक्ष र उपभामुख भएका थिए । उनी राप्रपा नेपालबाट उपसभामुख बनेका थिए । यादव २०७४ सालको प्रतिनिधिसभा चुनावअघि एमालेमा प्रवेश गरेका थिए । यादव समानुपातिक सूचीमा रहेका भए पनि सांसद भने भएका थिएनन् ।