माघे सङ्क्रान्ति पर्वमा राष्ट्रपतिले दिइन शुभकामना

पर्वहरुले नेपाली पहिचान निर्माण गर्न योगदान पुर्‍याएकाे विश्वास
आइतबार, माघ १, २०७९

काठमाडौँ । आज माघे सङ्क्रान्ति । माघ महिनाको पहिलो दिन तराई भूभागमा धुमधामका साथ माघी पर्व मनाइने गरिन्छ । आजको दिन मानिसहरुले ध्यू, चाकु, तिलका परिवारका खाने गर्दछन् । यसै पर्वका उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकहरुलाई शुभकामना दिएकी छन् ।
माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारू समुदायले माघीलाई नयाँ वर्षका रुपमा पनि मान्ने गर्छन् । मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडको रूपमा धुमधामका साथ मनाउँछन् । हिमाल, पहाड र तराईका बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ आदि जातजातिले यस पर्वलाई आआफ्ना परम्परा, भिन्न–भिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन् ।
माघे सङ्क्रान्ति वा मकर सङ्क्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले आ–आफ्नै ढङ्गले हर्षोल्सासपूर्वक मनाउने गर्दछन् । विशेषगरी थारू समुदायमा माघी पर्वलाई नयाँ वर्षका रूपमा धुमधामसँग मनाइन्छ भने तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउने गर्दछन्  ।
माघीका दिन पवित्र नदी एवं त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाअर्चना गरेपश्चात घिउ, चाकु, तरुल, सेलरोटी, तिलको लड्डु, ढिक्री र खिचडीजस्ता परिकार खाइ रमाइलोसँग यो पर्व मनाउने प्रचलन रहिआएको छ । यसै उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पर्वहरूले सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको विश्वास व्यक्त गरेकी छन् ।
माघे सङ्क्रान्ति एवं माघी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै माघी पर्वबाट प्रकृति र संस्कृतिको संरक्षण गरी सभ्य, सुसंस्कृत र समतामूलक  समाजको निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । “बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस प्रकारका चाडपर्वले सम्पूर्ण नेपालीको बीचमा बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्ने विश्वास लिएको छु”, शुभकामना सन्देशमा भनिएको छ ।
विशिष्ट मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेका यस्ता पर्वहरूले मुलुकलाई विश्वसामू परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका उनको भनाइ छ ।

“सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु”, राष्ट्रपति भण्डारीले भनेकी छन् ।

 

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  ०८:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार