गण्डकी प्रदेशले पायो सभामुख

माओवादी केन्द्रका कृष्णप्रसाद धिताल सभामुखमा निर्वाचित
शनिबार, पुस ३०, २०७९

काठमाडौं । प्रदेश १, बागमती प्रदेशसभाले सभामुख पाएपछि आज गण्डकी प्रदेशले पनि सभामुख पाएको छ । मुलुकका सात प्रदेशमध्ये अहिलेसम्म तीनवटा प्रदेशले सभामुख चयन गरिसेका छन् । शनिबार गण्डकी प्रदेशसभाले पनि सभामुख पाएको छ । आजै सुदूरपश्चिम प्रदेशसभाले पनि सभामुख पाउँदैछ । गण्डकीमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल सभामुखमा निर्वाचित भएका छन् । उनले  ३२ मत पाए । कांग्रेसले सरस्वती अर्याललाई सभामुखको उम्मेदवार बनाएको थियो । उनले २६ मत प्राप्त गरिन् ।
गठबन्धनका उम्मेदवार धिताललाई एमालेका २१, माओवादी केन्द्रका आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र नेकपा एसका सांसद राजीव गुरुङ (दीपक मनाङे)ले मत दिएका थिए । एमालेबाट निर्वाचित ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सभाको अध्यक्षता गरेकाले मतदानमा भाग लिएनन् भने नेपाली कांग्रेसका एक सदस्य अनुपस्थित थिए । सभामुखको निर्वाचन प्रक्रियामा ५८ जनाले भाग लिएका थिए ।
सभामुखमा निर्वाचित भएका धितात मङ्सिर ४ गतेको निर्वाचनमा गोरखा क्षेत्र नं १ (१) बाट प्रदेशसभामा निर्वाचित भएका थिए । उनी माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा गोरखा जिल्लाको इन्चार्जसमेत हुन् । सत्ता गठबन्धनमा गण्डकी प्रदेशमा एमालेले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने गरी समझदारी भएको थियो । सोहीअनुसार एमालेका संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर शुक्रबार प्रदेशसभाबाट विश्वासको मत पाइसकेका छन् । गण्डकी प्रदेशसभामा ६० सदस्य छन् । प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका आठ, राप्रपाका दुई र एक स्वतन्त्र सदस्य रहेका छन् ।

सुदूरपश्चिम प्रदेश सभामुखका लागि मतदान हुँदै
सुदूरपश्चिम प्रदेशको सभामुखका लागि केहीबेरपछि पुनः मतदान हुने भएको छ । बिहीबार भएको मतदानमा कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि  आज साँझ ६ बजे पुनः मतदान हुन लागेको हो ।
आज बिहान बसेको सर्वदलीय बैठकमा सबै दल सहमत भएपछि चुनावको मिति तोकिएको हो । सभामुखका लागि सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन् । त्रिपन्न सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ मत चाहिन्छ । तर बिहीबारको चुनावमा गठबन्धनका उम्मेदवार भण्डारीले २६ मत प्राप्त गरे भने कांग्रेसका रावलले २३ मत पाउनुभएको थियो ।
सुदूरपश्चिम प्रदेशसभामा माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाका एक तथा कांग्रेसका १९, एकीकृत समाजवादीका चार र एक स्वतन्त्र सदस्य छन् ।

 

प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९  १७:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार