गण्डकीमा सभामुखको निर्वाचन आज, गठबन्धनबाट माओवादीका कृष्णप्रसाद धिताल उम्मेदवार

शनिबार, पुस ३०, २०७९

पोखरा । सत्तारुढ गठबन्धनका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत दिएको भोलिपल्ट शनिबार गण्डकी प्रदेश सभाले नयाँ सभामुख छान्दै छ । प्रदेश सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल उम्मेदवार बन्ने भएका छन् । माओवादी केन्द्र गण्डकी प्रदेशसभा संसदीय दलको शुक्रबार साँझ बसेको बैठकले गोरखा क्षेत्र नं १ (१) बाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित धिताललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सो दलका नेता एवम् प्रदेश सरकारका विनाविभागीयमन्त्री हरिबहादुर चुमानले दलको बैठकले सर्वसम्मत उम्मेदवार तय गरेको जानकारी दिए । सत्ता गठबन्धनमा माओवादी केन्द्रले सभामुख पाउने निर्णय यसअघि नै भइसकेको छ।
यहाँ एमालेले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने गरी भागवण्डा गरिएको थियो । सोहीअनुसार नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर प्रदेशसभाबाट विश्वासको मत पाइसकेका छन् । गण्डकीमा गठबन्धनका पक्षमा बहुमत रहेकाले गठबन्धनका उम्मेदवार विजयी हुने निश्चित छ।
सभामुख चयनका लागि प्रदेशसभाको बैठक शनिबार दिउँसो ३ बजे बोलाइएको छ । प्रदेशसभाको शुक्रबारको बैठकमा प्रदेशसभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेशसभामुख चयन गर्न शनिबार बैठक बोलाएका हुन् ।
प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उम्मेदवार टुङ्गो लगाइसकेको छैन । कांग्रेस संसदीय दलको बैठकले सभामुखको उम्मेदवार तय गर्ने जिम्मा दलको नेतालाई दिएको छन् । साठी सदस्य रहेको गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका आठ, राप्रपाका दुई र स्वतन्त्र एक सदस्य छन् ।

प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९  ०८:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार