गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाए विश्वासको मत, ३१ सांसदको साथ

शुक्रबार, पुस २९, २०७९

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा विश्वासको मत पाएका छन् । साठी सदस्यीय प्रदेशसभामा अधिकारीले ३१ पाए भने  विपक्षमा २७ मत खसेको थियो ।  मुख्यमन्त्री अधिकारीलाई एमालेका २१, माओवादीका आठ र राप्रपाका दुई सांसदले मत दिए भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २७ सदस्यले विपक्षमा मतदान गरे । 
प्रदेशसभाको अध्यक्षता गरेका मित्रलाल बस्यालले मतदानमा सहभागी भएनन् । स्वतन्त्र सांसद राजीव गुरुङ बैठकमा अनुपस्थित थिए । 
अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । अधिकारीले गठबन्धनका तर्फबाट ३३ जना सांसदको समर्थनसहित प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी गरे पछि मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 
मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि संसद्‍मा प्रस्ताव पेश गरेका थिए, सो प्रस्तावमा छलफल पछि भएको मतदान प्रक्रियावाट उनले विश्वासको मत प्राप्त गरेका हुन् । विश्वासको मत पाउने अधिकारी प्रदेश सरकारका पहिलो मुख्यमन्त्रीसमेत हुन् ।

मधेस प्रदेशका मुख्यमन्त्री यादवसँगै चार मन्त्रीले लिए शपथ
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  मधेस भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित समारोहमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष उनले पथ तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । मुख्यमन्त्री यादवले भोजपुरी भाषामा शपथ लिएका थिए । 
मुख्यमन्त्री यादवको सिफारिस नियुक्त तीन  बिना विभागीयमन्त्रीले पनि आजै पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । नवनियुक्त तीन मन्त्रीहरुमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव, जनता समाजवादी पार्टी (जसपा) का सञ्जय यादव र जनमत पार्टीका वसन्तप्रसाद कुशवाहा छन् । उनीहरुले प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् ।  
सत्ता गठबन्धन दल र दुई सदस्यदसहित ६३ जनाको समर्थनमा बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका यादवलाई लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले पनि समर्थन गर्ने तयारी गरेको छ । नौ सदस्य रहेको लोसपाले समर्थन गरेमा उनलाई ७२ सदस्यको समर्थन हुनेछ । 
शपथग्रहण समारोहमा जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, जसपा प्रतिनिधिसभा संसदीय दलका नेता रामसहायप्रसाद यादव, माओवादी केन्द्रका महासचिव देव गुरुङलगायत नेता तथा सरकारी अधिकारीको उपस्थिति रहेको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  १७:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार