सुदूरपश्चिम प्रदेशसभा सभामुखका लागि आज फेरि मतदान हुँदै

एक मत नपुग्दा निर्वाचित हुन सकेनन् भीम भण्डारी 
शुक्रबार, पुस २९, २०७९

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको सभामुख पदका लागि आज फेरि मतदान हुने भएको छ । बिहीबारको निर्वाचनमा कुनै पनि उम्मेदवारले प्रदेशसभाको कुल सदस्य संख्याको बहुमत संख्या प्राप्त नगरेपछि आज फेरि मतदान हुन लागेको हो । आज बिहान ११ बजे बस्ने बैठकमा फेरि सभामुख चयनका लागि मतदान हुनेछ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मतदानमा ५० जनाले भाग लिएका थिए । सभामुखमा निर्वाचित हुन २७ मत ल्याउनुपर्दथ्यो । तर, सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका भीमबहादुर भण्डारीले २६ मत ल्याए । कांग्रेसका मानबहादुर रावलले २३ मत ल्याए । 
भण्डारीले माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति र राप्रपाको कुल २९ मत पाउनुपर्नेमा दुई सांसद अनुपस्थित रहे भने एक मत बदर भएको थियो ।
रावललाई कांग्रेस, एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदको समर्थन रहेको थियो । 
सत्तारुढ गठबन्धनको एक मत ‘क्रस’ भएको थियो । मतविभाजनका क्रममा अर्को मतदाताको नामावलीमा दस्तखत गरेको भेटिएको छ । जसले गर्दा भण्डारीले सभामुख चयनका लागि बहुमत पाएनन् ।

सत्तारुढ गठबन्धनको पक्षमा माओवादी ११, एमाले १०, नागरिक उन्मुक्ति ७ र राप्रपा १ गरेर कूल २९ सांसद छन् । तर, सभामुखका प्रत्याशी माओवादीका भण्डारीले त्यो मत पाउन सकेनन् ।
नेकपा एमाले चक्र मल्ल, नागरिक उन्मुक्तिका राजकिशोर चौधरी बैठकमा अनुपस्थित थिए । कांग्रेसका शिवराज भट्टले सभाको अध्यक्षता गरेकाले मत विभाजनमा भाग लिन पाएनन् ।
 

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  ०८:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार