अख्तियारका पूर्वआयुक्त राजनारायण पाठक र लम्बोदर न्यौपानेलाई तीन वर्ष कैदको सजाय, ३९ लाख जरिवाना

७८ लाख घुस काण्ड 
शुक्रबार, पुस २९, २०७९

काठमाडौं । घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई तीन वर्ष तीन महिना कैदको फैसला सुनाएको छ। बिहीवार विशेष अदालतले पाठकलाई सार्वजनिक पद आचरण विपरित कार्य गरेको भन्दै ३९ लाख जरीवानासमेत तोकेको छ।
यसैगरी घुस खुवाउने कार्य गरेको कसुरमा नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायण भक्तपुरका तत्कालीन अध्यक्षका लम्बोदर न्यौपानेलाई पनि विशेष अदालतले तीन वर्ष कैद र ३९ लाख जारीवाना तोकेको छ। अख्तियारका तत्कालीन आयुक्त पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएको काण्डमा पक्राउ परेका न्यौपाने सेटिङमा धरौटीमा छुटेका थिए । छुटेको केही समयपछि फरार भएका उनलाई पुन पक्राउ गरिएको थियो ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरू यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले बिहीबार पाठकलाई दोषी ठहर गर्दै उक्त कैद सजायको फैसला सुनाएको हो । 
अदालतले भ्रष्टाचार निवारण ऐनअनुसार तीन वर्ष र अख्तियारको बहालवाला आयुक्त भएकाले थप तीन महिना कैद गर्ने फैसला सुनाएको हो ।
पूर्वआयुक्त पाठकले नेपाल इञ्जिनीयरिङ कलेजको जग्गा विवादमा ७८ लाखभन्दा बढी घुस लिएको खुलासा भएपछि विवाद भएको थियो ।
भ्रष्टाचार प्रकरणबाट बच्नका लागि पाठकले आयुक्त पदबाट राजीनामा दिएका थिए । अख्तियारले राजीनामा दिएपछि पाठकमाथि अनुसन्धान गरी घुस रिसवतमा मुद्दा दायर गरेको थियो । 
नेपाल इन्जिनियरिङ कलेजविरुद्ध अख्तियारमा परेको उजुरीमाथि छानबिन रोक्न न्यौपानेबाट पाठकले ७८ लाख रुपैयाँ घुस लिएको भन्दै अख्तियारले १२ चैत २०७५ मा पाठक र न्यौपाने दुबै विरुद्ध भ्रष्टाचार  मुद्दा दायर गरेको थियो ।
पाठकले ७८ लाख रुपैयाँ घुस लिएको स्वीकार गरेको भिडियो प्रमाणका रुपमा अख्तियारले पेश गरेको थियो । तर विशेष अदालतले घुस लेनदेनमा नभई घुस लेनदेनको प्रयास मात्र भएको ठहर गरेको हो । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को ९ज० मा ५० लाखदेखि १ करोड रुपैयाँसम्म घुस लेनदेन गरेमा ६ देखि ८ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । ऐनकै दफा २१ अनुसार घुस लेनदेनको उद्योग गर्नेलाई तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ ।

के हो घटना ?
नेपाल इञ्जिनियरिङ कलेजमा भएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । तर उक्त उजुरीमा छानबिन अघि नबढाउन भन्दै कलेजका अध्यक्ष न्यौपानेले एक इञ्जिनियरमार्फत तत्कालिन आयुक्त पाठकलाई पटक पटक गरी ७८ लाख रुपैयाँ बुझाएका थिए । रकम लिएको स्वीकारोक्तिसहितको भिडियो सार्वजनिक भएपछि पाठकले आयुक्तबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएपछि उक्त घटनामा अनुसन्धान गरेर अख्तियारले पाठक र न्यौपानेविरुद्ध मुद्दा चलाएको हो ।

नेपालमा नमुना इञ्जिनियरिङ कलेज बनाउने भनी इञ्जिनियरहरुको एक समूहले गैरनाफामूलक संस्था खोली भक्तपुरको चाँगुनारायणमा नेपाल इञ्जिनियरिङ कलेज स्थापना गरेका थिए ।
पछि केही सञ्चालकहरुले त्यसलाई निजीकरण गर्ने प्रयास गरे, केही त्यसको विरोधमा लागे । निजीकरणको पक्षमा लम्बोदर न्यौपाने थिए भने दीपक भट्टराईलगायत त्यसको विरोधमा थिए ।
नेपाल इञ्जिनियरिङ कलेजमा त्यतिबेला करिव १० करोड रुपैयाँभन्दा बढी मौज्दात थियो । पछि सञ्चालक समितिले संस्था निजीकरण गर्ने र १० करोड रुपैयाँ रकम बाँड्ने निर्णय गर्‍यो । जस अनुसार ७ जना सञ्चालकको भागमा डेढ डेढ करोड रुपैयाँ पर्‍यो ।
उक्त निर्णयविरुद्ध दीपक भट्टराई पक्षले जिल्ला प्रशासन कार्यालय भक्तपुर, संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको थियो ।
अनुसन्धान प्रभावित पार्न कलेजका अध्यक्ष न्यौपानेले अख्तियारका पदाधिकारीलाई प्रभावित पार्ने प्रयास थालेका थिए । छानबिन तामेलीमा राख्ने प्रलोभन देखाएर एउटा समूहसँग आयुक्त पाठकले घुस मागे । अख्तियारको अनुसन्धान अनुसार, एक करोड ६५ लाख रुपैयाँमा भएको मोलमोलाई किस्ताबन्दीमा टुंगियो । अख्तियारले साक्षीको रुपमा प्रस्तुत गरेका घुस रकम ओसारपसार गर्ने एक व्यक्तिका अनुसार, किस्ताबन्दीमा रकम दिने र फाइल तामेलीमा गएपछि सबै रकम उपलब्ध गराउने सहमति बनेको थियो ।

काम नभएपछि अडियो सार्वजनिक
काठमाडौंको एक निजी कलेजका सञ्चालकमार्फत आयुक्त पाठकले घुसको डिल गरेका थिए । पाठकको सुझाव अनुसार ती कलेज सञ्चालकले पहिले राजनारायणका भाइ शुभनारायणलाई भेटे र १५ लाख रुपैयाँ बुझाए । हामीले घुस पुर्‍याउने व्यक्ति र पाठकको भिडियो रेकर्ड गर्ने खेलाडीको आग्रहमा उनीहरुको नाम गोप्य राखेका छौं ।
शुभनारायण त्यतिबेला पूर्वाञ्चल विश्वविद्यालयका डिन थिए । भाइमार्फत रकम बुझेका आयुक्त पाठकले नेपाल इञ्जिनियरिङ कलेजका सञ्चालक विरुद्ध अख्तियारमा परेको उजुरी तामेलीमा राखिदिने बचन दिए । घुस पुर्‍याउने ती कलेज सञ्चालकको भनाइमा पाठकलाई दुई किस्तामा पैसा दिइयो । कमलपोखरीमा गाडी रोकेर मिठाइको बट्टामा रकम पुर्‍याइएको, अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
फाइल पाठकको नियन्त्रणबाट फुत्किसकेको थियो । घुस बुझेर पनि पाठकले समयमा काम गर्न सकेनन् । काम नहुने भए रकम फिर्ता पाउनुपर्ने भनी कलेज सञ्चालकले ताकेता बढाए । पाठकले उल्टै थप रकम मागेर धम्क्याउन थाले ।
त्यसपछि ती कलेज सञ्चालकले आफ्नो साथी एक कराते खेलाडीलाई अख्तियारका आयुक्त पाठकको घरमा पठाए । १४ माघ २०७४ मा ती खेलाडी पहिलोपटक अख्तियारको नक्सालस्थित कार्यालयमै गए, पाठकको कार्यकक्षमै पुगेर रकम फिर्ता मागे । रकम फिर्ता नहुने निश्चित भएपछि उनले आफूले लुकाएको क्यामेराबाट भिडियो खिचेका थिए ।
पटक पटक खिचेको ६ घण्टा भन्दा लामो भिडियो खिचेका उनले अन्तिममा भिडियो सार्वजनिक गर्ने चेतावनी दिए र थप कुरा गरे । त्यसक्रममा पाठकले हात जोडेर माफी मागेका छन् । भिडियोमा पाठकले आफूले एक पटक ४० र अर्को पटक ३८ लाख, अनि भाई शुभनारायणले १५ लाख रुपैयाँ लिएको स्वीकार गरेका थिए ।
१ फागुन २०७५ मा घटना सार्वजनिक भएपछि पाठकले राजीनामा दिएका थिए । त्यसको डेढ महिनापछि उनीविरुद्ध भ्रष्टाचार मुद्दा चलेको हो ।

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  ०७:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार