सातै प्रदेशले पाए मुख्यमन्त्री

बुधबार, पुस २७, २०७९

काठमाडौं । सातै प्रदेशमा मुख्यमन्त्री नियुक्त भएका छन् । बुधबार बेलुकासम्म सातवटै प्रादेशिक सरकारका मुख्यमन्त्री नियुक्त भएका हुन् । सत्ता गठबन्धनका शीर्ष तहबाटै भागबण्डा गरी सातै प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया अगाडि बढाइएको हो । प्रदेश १ मा आइतबार एमालेका हिक्मत कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 
१ नं प्रदेशसभामा नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् । कार्की नेतृत्वको तीन सदस्यीय मन्त्रिमण्डलले प्रदेश सरकार सञ्चालन गरिरहेको छ । 
मधेश प्रदेशमा बुधबार सरोज यादव मुख्यमन्त्रीमा नियुक्त भएका छन् । जसपा मधेश प्रदेशसभा संसदीय दलका नेता रहेका यादवलाई बुधबार दिउँसो प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री नियुक्त गरेका हुन् । यादवले बहुमत सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख मिश्रसमक्ष दाबी गरेका थिए ।
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । गण्डकी प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई सोमबार मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
६० सदस्यीय प्रदेशसभामा एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद गरी ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि अधिकारीले दाबी पेस गरेका थिए ।
यस्तै बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल नियुक्त भएका छन् । माओवादी संसदीय दलका नेता जम्कट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । ११० सदस्यीय प्रदेश सांसद रहेको बागमती प्रदेशमा जम्कट्टेलले ७० जना सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लिला गिरी मुख्यमन्त्री नियुक्त भएका छन् । एमाले संसदीय दलका नेता गिरीलाई प्रदेश प्रमुख अमिक शेरचनले बुधवार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
उनले एमालेका २९, माओवादीका १०, राप्रपाका ४, नागरिक उन्मुक्ति पाटीका ४, जसपा ३, स्वतन्त्र २, जनमत ३, लोसपा ३ गरी ५८ जना सांसदको समर्थन रहेको दाबी पेश गरेका थिए ।
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका राजकुमार शर्माले नियुक्त भएका छन्। प्रदेश प्रमुख तिलक परियारले शर्मालाई बुधवार मुख्यमन्त्री नियुक्त गरेका हुन् । कुल ४० सदस्यीय प्रदेश सभामा शर्माले माओवादी, एमाले, राप्रपा र समाजवादी गरी २५ सांसदको समर्थनरहेको दाबी पेश गरेका थिए ।
यस्तै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्र रावल नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशीले नेता रावललाई बुधवार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन । ५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सरकार गठनका लागि २७ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्नेमा २९ जनाको समर्थन रावलले पाएका छन् ।

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  १९:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार