आज एकै दिन पायो चार प्रदेशले मुख्यमन्त्री 

बुधबार, पुस २७, २०७९

काठमाडौं । बुधबार एकै दिन चार प्रदेशले मुख्यमन्त्री पाएको छ । सुदूरपश्चिभ, कर्णाली, लुम्बिनी र मधेश प्रदेशले एकै साथ मुख्यमन्त्री पाएका हुन् । सुदूरपश्चिममा एमालेका राजेन्द्रसिंह रावल, कर्णाली प्रदेशमा माओवादी केन्द्रका राजकुमार शर्मा, लुम्बिनीमा एमालेका लिला गिरी तथा मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)का नेता सरोजकुमार यादव मुख्यमन्त्रीमा नियुक्त भएका छन् । 
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त रावल समानुपातिकतर्फका सांसद हुन् । प्रदेश प्रमुखले दिएको समय घर्किनै लाग्दा रावलले मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष आफ्नो दाबी पेश गरेका थिए । 
उनलाई माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाका एक गरी २९ जना सदस्यले समर्थन गरेका थिए । त्रिपन्न सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ जना आवश्यक हुन्छ । प्रदेशसभामा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, नेकपा (एस)का चार, राप्रपाका एक र स्वतन्त्र एकजना सदस्य छन् ।
प्रदेश प्रमुखले बहुमत सांसदको समर्थन जुटाउन सक्ने प्रदेशसभाका सदस्यलाई मुख्यमन्त्रीको नियुक्तिका लागि दाबी पेश गर्न एक हप्ताको समय दिएका थिए । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एमाले र माओवादीले आलोपालो गर्ने सहमति भएको छ । प्रदेशसभाको सभामुख माओवादीले पाउने छ । सोही सहमतिअनुसार माओवादी केन्द्रका भीमबहादुर भण्डारीले सभामुख पदका लागि आज उम्मेदवारी दर्ता गराएका छन् । सभामुखका लागि कांग्रेसका मानबहादुर रावलले पनि उम्मेदवारी दर्ता गराएका छन् । 

कर्णालीको मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्मा नियुक्त
कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीमा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन् ।  कर्णाली प्रदेश सरकारको नेतृत्व गर्न सत्ता गठबन्धन दल एमाले, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा शर्माले प्रदेश प्रमुख तिलक परियारसमक्ष मुख्यमन्त्रीको दाबी पेश गरेका थिए । शर्माले मुख्यमन्त्रीमा दाबी पेश गरेसँगै प्रदेश प्रमुखले आजै मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 
मुख्यमन्त्रीमा माओवादी केन्द्रका १३, नेकपाका १०, राप्रपा र एकीकृत समाजवादीका एक–एक गरी २५ प्रदेशसभा सदस्यको समर्थन रहेको छ । मुख्यमन्त्रीको शपथ ग्रहण भने बिहीबार हुने छ । 

लुम्बिनी प्रदेशको मुख्यमन्त्री बने एमाले नेता लिला गिरी 
एमाले संसदीय दलका नेता लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त  भएका छन् ।  लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले बुधबार गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । एमालेसहित सात राजनीतिक दल र दुई स्वतन्त्र सांसदसहित ५८ जनाको समर्थनमा गिरी मुख्यमन्त्री बनेका हुन् । सरकार गठन गर्नका लागि सत्ता गठबन्धनले बुधबार दिउँसो प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेको थियो । एमाले, माओवादी केन्द्र, राप्रपा, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी र दुई स्वतन्त्र सांसदसहित ५८ जनाको हस्ताक्षरमा सरकार गठनको लागि दाबी पेश भएको थियो । 
लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका चार, जसपा, लोसपा र जनमतका तीन÷तीन सिट छन् । नागरिक उन्मुक्तिसँग चार सिट र स्वतन्त्र दुई जना सांसद रहेका छन् । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ । प्रदेशमा कांग्रेसका २७, लोसपाका तीन र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक÷एक सदस्य छन् । गिरी रुपन्देही क्षेत्र नम्बर २ (२) बाट प्रदेशसभामा विजयी भएका हुन् । उनी यसअघि लुम्बिनी प्रदेशको वन तथा वातावरण र उद्योगमन्त्रीसमेत बनेका थिए ।  शपथ कार्यक्रम भने भोलि प्रदेशको राजधानी राप्ती उपत्यकामा दिउँसो १ बजेका लागि राखिएको छ । 

मधेश प्रदेशमा  जसपाका नेता सरोजकुमार यादव मुख्यमन्त्री बने 
जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख हरिशङ्कर मिश्रले यादवलाई आज मुख्यमन्त्री नियुक्त गरेका हुन् । सत्ता गठबन्धन दल र दुई स्वतन्त्र सांसद गरी ६३ जनाको समर्थनमा यादवले आजै मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । यादवलाई एमाले २३, जसपा १६, जनमत पार्टी १३, माओवादी केन्द्र ८, राप्रपा र नागरिक उन्मुक्ति पार्टी एक–एक र दुई जना स्वतन्त्र सांसदले समर्थन गरेका छन् ।  मधेश प्रदेशसभामा छ जना स्वतन्त्र सांसद निर्वाचित भएका छन् । सरकार गठनको दाबी पेस गर्न भोलिसम्मको समयसीमा भए पनि प्रदेश प्रमुख मिश्रले यादवलाई आजै मुख्यमन्त्री नियुक्त गरेका हुन् । 

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  १९:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार