Dashain Banner
Dashain Banner

केन्द्रकै समीकरण रहे सातै प्रदेशमा सत्ता गठबन्धनको सरकार, तर काँग्रेस समीकरण भत्काउने रणनीतिमा  

पुस २८ गतेसम्म मधेश प्रदेशमा सरकार गठन गर्न आह्वान
शुक्रबार, पुस २२, २०७९

काठमाडौँ । केन्द्रमा सरकार बन्दाको राजनीतिक समीकरणअनुसार नै प्रदेशमा पनि सरकार गठन हुने अनुमान छ । तर प्रदेश सरकार गठनमा काँग्रेसले हस्तक्षेपकारी भूमिका खेल्ने उसको राजनीतिक छनकले देखाएको छ । केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई सकभर विश्वासको मत पुर्‍याउन नदिने रणनीतिमा काँग्रेस लागेको चर्चा छ । काँग्रेसले १४ सिट भएको राप्रपालाई प्रधानमन्त्री दिएर भए पनि अहिलेको सत्ता गठबन्धन टुटाउने रणनीति बनाएको समाचार बाहिरिएका छन् । तर, राप्रपाका नेताहरूले एमालेसहितको अहिलेको सत्ता गठबन्धनमा उपप्रधानमन्त्रीसहित ३ मन्त्रालय लिएर सरकारमा जाने तयारी गरेको बताइरहेका छन् । केन्द्रको राजनीति धुमिल भयो भने त्यसको असर प्रदेश सरकारमा पनि पर्ने देखिन्छ । केन्द्रमा प्रधानमन्त्रीले विश्वासको मत लिने दिन अगावै प्रदेश सरकारमा पनि मुख्यमन्त्रीसहितको दावी पेश गर्न आह्वान भएपछि दलहरु थप दबाबमा परेका छन् ।  कुन प्रदेशको नेतृत्व कुन दलले गर्ने र मन्त्रालयको बाँडफाँट कसरी गर्ने भन्ने टुंगो नलाग्दा प्रदेश सभाका राजनीतिक दलहरु केन्द्रको मुख ताकिरहेका छन् ।
शुक्रबार मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले प्रदेश सरकार गठनको आह्वान गरेका छन् । यो आह्वान सहित सातै प्रदेशमा सरकार गठनका लागि आह्वान भइसकेको छ । मधपेश प्रदेश प्रमुख मिश्रले पुस २८ गते अपराह् ४ बजेसम्ममा दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीका लागि आफ्नो दावी गर्न आह्वान गरेका छन् ।  
संविधानको धारा १६८को उपधारा २ बमोजिम प्रदेश प्रमुख मिश्रले सरकार गठनका लागि आह्वान गरेका हुन् । मधेश प्रदेशमा कुनै पनि दलको एकल बहुमत छैन । 

कस्तो बन्दैछ सरकार
बिहीबार बागमती, लुम्बिनी र सुदूरपश्चिमका प्रदेश प्रमुखले मुख्यमन्त्रीको दाबी पेश गर्न प्रदेशसभामा रहेका दलहरुलाई आह्वान गरे । प्रदेश १, कर्णाली तथा गण्डकी प्रदेशमा  पनि सरकार गठनको आह्वान भइसकेको छ ।
सत्ताका दुई प्रमुख दलका नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश सरकार गठनको बारेमा सामान्य छलफल गरेका छन् । छलफलमा प्रदेश–१, बागमती, गण्डकी र कर्णालीमा एमाले नेतृत्वमा सरकार गठन गर्ने, लुम्बिनी र सुदूरपश्चिम माओवादी केन्द्रलाई दिने प्रारम्भिक सहमती भएको बताइएको थियो । 
मधेश प्रदेशमा एमाले ठूलो दल भए पनि जनता समाजवादी पार्टी र जनमत पार्टीले आलोपालो नेतृत्व गर्ने गरी छलफल अघि बढेको थियो । तर, मधेशमा कसले पहिला सरकारको नेतृत्व गर्ने भन्ने टुङ्गो लागेको छैन । केन्द्रकै समिकरण रहँदा मधेश प्रदेश बाहेक अन्यमा एमाले–माओवादी नेतृत्वमा नै प्रदेश सरकार गठन हुने देखिन्छ । बागमती प्रदेशमा राप्रपाले मुख्यमन्त्रीमा दाबी गरेको अवस्था छ । 

प्रदेश–१ मा एमालेका हिक्मत कार्कीको दाबी 
प्रदेश–१ मा एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्रीका दावेदार हुन् । ९३ सदस्यीय प्रदेशसभाामा एमालेको ४० सीट छ । सरकार गठन गर्नको लागि ४७ जना सांसदको समर्थन चाहिन्छ । नेकपा एमाले र माओवादी केन्द्रले साझेदारी गर्दा ५३ सीट हुन्छ । प्रदेश–१ मा माओवादी केन्द्रको १३, राप्रपाको ६ जना र जसपाको १ जना सांसद छन् । नेपाली कांग्रेसको २९ र एकीकृत समाजवादीको ४ सांसद रहेका छन् । 

बागमतीमा एमाले, माओवादी र राप्रपाको दावी
 बागमती प्रदेशमा एमालेको नेतृत्वमा सरकार बनाउने प्रारम्भिक सहमती भए पनि अहिले केन्द्रीय सरकारलाई समर्थन गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सरकारको नेतृत्व दावी गरिरहेको छ ।
१ सय १० सदस्यीय बागमती प्रदेश सभामा सरकार बनाउन ५६ जना सांसदको समर्थन आवश्यक पर्छ । बागमतीमा नेकपा एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३ सांसद छन् । प्रदेश सभामा सबैभन्दा ठूलो दल कांग्रेसको ३७ सांसद छन् भने एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् । एमाले, माओवादी केन्द्र र राप्रपा मिल्दा बागमतीमा सरकार बन्छ । बागमतीमा एमालेले जगनाथ थपलियालाई संसदीय दलको नेता बनाएको छ । नेकपा माओवादी केन्द्रले शालिकराम जमरकट्टेललाई संसदीय दलको नेता चयन गरेको छ भने राप्रपाले उद्धव थापालाई संसदीय दलको नेता चयन गरेको छ ।

कर्णाली यमलाल कँडेलका दाबी 
कर्णाली प्रदेशमा पनि सरकार गठनको आह्वान भएको छ । कर्णालीमा एमाले र माओवादीकै सांसद मिलेर सरकार गठन गर्न पुग्ने सदस्य छन् । सरकार गठनका लागि २१ सदस्य चाहिने कर्णालीमा माओवादीका १३ र एमालेका १० जना सांसद छन् । १४ जना सांसदसहित काँग्रेस ठूलो पार्टी बनेको हो । एकीकृत समाजवादी १ र स्वतन्त्र १ सांसदले प्रदेश सभामा प्रतिनिधित्व गरेका छन् । एमालेको नेतृत्वमा सरकार बन्दा यमलाल कडेँल मुख्यमन्त्री हुनेछन् ।

नागरिक उन्मुक्तिको साथले मात्रै बन्छ सुदूरपश्चिममा सरकार 
 ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार गठनका लागि २७ जना सांसदको समर्थन आवश्यक पर्छ । यहाँ पनि सरकार गठनको लागि आह्वान भइसकेको छ । नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्रीको दाबी गरेको छ । कांग्रेससँग गएर भए पनि मुख्यमन्त्री फुत्काउने दाउवमा उन्मुक्ति पार्टी छ ।
नागरिक उन्मुक्ति पार्टीले केन्द्रमा प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ । पछिल्लो समय उसले कारागारमा रहेका रेशम चौधरीको रिहाइको विषयलाई विश्वासको मतसँग जोडेर प्रचण्ड सरकारलाई अप्ठ्यारो पारेको छ । 
नेपाली कांग्रेसका १९ र नागरिक उन्मुक्तिका ७ सांसद छन् । १ जना स्वतन्त्रलाई हातमा लिन सकिएको अवस्थामा केन्द्रमा भएको सत्ता साझेदार दलबाहेकको पनि प्रदेशमा सरकार बन्न सक्ने अवस्था छ । सुदूरपश्चिममा माओवादी केन्द्रका ११, नेकपा एमालेका १० एकीकृत समाजवादीका ४, राप्रपाका १ र १ जना स्वतन्त्र सांसद छन् । नागरिक उन्मुक्ति बाहिर बस्दा एकीकृत समाजवादीसहित स्वतन्त्रलाई पनि सत्ता साझेदार दलले सरकारमा सहभागी गराउनुपर्ने हुन्छ ।
सुदूरपश्चिममा नेपाली कांग्रेसबाट कमल बहादुर शाह, नेकपा माओवादीका खगराज भट्ट, एमालेबाट राजेन्द्र रावल र नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी मुख्यमन्त्रीका दाबेदारका रुपमा हेरिएका छन् । 

गण्डकीमा एमालेका खगराज अधिकारीको दाबी 
६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकार बनाउन ३१ सांसदको समर्थन चाहिन्छ । सरकार गठनका लागि प्रदेश प्रमुखबाट आह्वान भइसकेको छ ।  गण्डकीमा एमालेले खगराज अधिकारीलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको छ । गण्डकीमा एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सदस्य छन् । केन्द्रमा सत्ता साझेदारी गरिरहेका ३ पार्टीबाट पनि सरकार गठनको लागि आवश्यक संख्या पुग्ने अवस्था छ । कांग्रेससँग २७ सिट छ भने एकीकृत समाजवादीको एक सिट रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  १७:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार