त्रिभुवन विश्वविद्यालयले समयमा परीक्षाफल सार्वजनिक नगर्दा हजारौँ विद्यार्थी प्रभावित

शुक्रबार, पुस २२, २०७९

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षा लिएको लामो समयसम्म नतिजा प्रकाशन नगर्दा आफ्नो “थप अध्ययन” र “रोजगारी”को अवसर प्रभावित भएको गुनासो विद्यार्थीहरूले गरेका छन् ।
परीक्षा दिएको एक वर्ष भइसक्दा पनि नतिजा नआएपछि कतिपयले “विदेशमा भर्ना पाउन नसकेको” तथा “लोकसेवा आयोग र विभिन्न प्रतिस्पर्धात्मक परीक्षामा सहभागी हुन नपाएको” बताएका हुन् ।

विद्यार्थीको आन्दोलन
त्रिभुवन विश्वविद्यालय नेपालकै सबैभन्दा ठूलो शैक्षिक संस्था हो । समयमा परीक्षाफल प्रकाशित नहुँदा विभिन्न सङ्काय र तहका हजारौँ विद्यार्थी प्रभावित भएका छन् ।
विश्वविद्यालयअन्तर्गत रहेका तथा सम्बन्धनप्राप्त क्याम्पसका प्रमुखहरूले पनि समयमा नतिजा नआउँदा “आफूहरू विद्यार्थीका प्रश्नसामु विवश बनेको” बताएका छन् ।
विश्वविद्यालयका अधिकारीहरूले भने कोभिड महामारीका कारण शैक्षिक क्यालेन्डर प्रभावित हुँदा यस्तो अवस्था आएको तर्क गर्दै अब चाँडै बाँकी रहेका नतिजाहरू प्रकाशित हुने बताएका छन् ।
काठमाडौै कलङ्कीकी स्वास्थानी कार्की स्नातक तेस्रो वर्षको परीक्षाफल कुरिरहेकी छन् । तर परीक्षा दिएको एक वर्ष हुँदा पनि परीक्षाफल आएको छैन ।

त्रिभुवन विश्वविद्यालय
“थप अध्ययनका लागि विदेश जान भनेर अरू सबै तयारी पूरा गरेको महिनौँ भइसक्यो रिजल्ट नआउँदा समस्या भइरहेको छ। अब स्नातक तहमै विदेशमा भर्ना गरौँ भन्दा पनि ग्याप धेरै भइसक्यो,” उनले भनिन् ।
“मसँग पढ्ने कति साथीहरूले लोकसेवा दिनका लागि पनि अधिकृतका निम्ति आदेदन दिन पाएनन्” उनले भनिन् । 
रत्नराज्यलक्ष्मी क्याम्पसमा अध्ययन गरेकी उनकै जस्तो समस्या सोही क्याम्पसमा स्नातक पढेका भक्तपुरका क्षितिज पोखरेलको पनि छ ।
“मैले विदेशमा अप्लाई गर्ने भनेर भाषा परीक्षा पनि दिइसकेँ तर रिजल्ट नआउँदा तनावमा छु,” उनले भने ।
नेपाली कांग्रेसको भातृसङ्गठन नेपाल विद्यार्थी सङ्घमा आबद्ध विद्यार्थीहरूको आह्वानमा त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय बल्खुमा धर्ना पनि दिइएको थियो ।
“रिजल्ट समयमा नआउँदा विद्यार्थीको भविष्य डामाडोल भएकाले दबाव दिनका लागि हामीले परीक्षा नियन्त्रण कार्यालयमा धर्ना दिएका थियौँ,” आफू पनि स्नातक तह तेस्रो वर्षको नतिजा कुरिरहेको बताउने नेवि सङ्घसँग आबद्ध विनोदराज जोशीले भने ।
परीक्षाफल प्रकाशन गर्न ढिलो हुँदा विद्यार्थीले भोग्नुपरेको समस्याबारे बीबीसीले सामाजिक सञ्जालमा राखेको प्रश्नमा पनि थुप्रैले लामो समयसम्म परीक्षाफल प्रकाशित नहुँदा आफूहरूले समस्या भोगेको लेखेका छन् ।

त्रिभुवन विश्वविद्यालय
किरण अर्यालले आफूले स्नातक तह तेस्रो वर्षको परीक्षाफल कुरिरहेको र त्यो ढिलो हुँदा आफूजस्तै विद्यार्थीको भविष्यमा गम्भीर असर पर्ने उल्लेख गरेका छन् ।
साम खत्रीले स्नातकको रिजल्ट समयमा नआउँदा स्नातकोत्तर पढ्ने बेलामा एक वर्ष ढिलो भएको देखिने अवस्था आएको गुनासो गरेका छन् ।
उनीहरूले जस्तै अरू धेरैले पनि आफ्नो मूल्यवान् समय खेर गएको र अवसर गुमेको गुनासो गर्ने गरेका छन् ।

कलेजहरू के भन्छन् ?
लामो समयसम्म परीक्षाको नतिजा नआउँदा विद्यार्थीको गुनासो धेरै आउने गरेको कतिपय कलेजका अधिकारीहरू बताउँछन् ।
त्रिभुवन विश्वविद्यालयमा आबद्ध भएका कलेजमा पढ्दा “आफ्नो भविष्य बिग्रिएको” गुनासो गर्ने विद्यार्थीलाई जबाफ दिन आफूहरूसँग कुनै उत्तर नभएको उनीहरू बताउँछन् ।
त्यस्तैमध्येको एक जनकपुरस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पसका प्रमुख प्रदीपकुमार प्रसादले भने, “जाँच भयो किन मूल्याङ्कन हुँदैन ? भएको पनि किन आउँदैन ? हामी बुझ्न सक्दैनौँ।”
“विद्यार्थीले सुविधा पनि पाउँदैनन्। करिअर बनाउन सकिरहेका छैनन्”, उनले भने ।
उनले परीक्षाफल प्रकाशित नहुँदा विद्यार्थीको आगामी शिक्षा र रोजगारीमा समेत समस्या भएको बताए ।
क्याम्पस प्रमुख प्रसाद भन्छन्, “हामी पनि विवश छौँ, हामी केही गर्न सक्दैनौँ । विद्यार्थीले सोधेको जबाफ दिन सक्दैनौँ ।”

परीक्षा नियन्त्रण कार्यालय के भन्छ ?
त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले अहिले अहिले स्नातक तहका मात्र पाँचवटा परीक्षाफल निकाल्नुपर्ने अवस्था रहेको जनाएको छ ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षाफल निकाल्न ढिलो हुनुको कारण कोभिड महामारीको असर भएको दाबी गरे ।

त्रिभुवन विश्वविद्यालय
“कोभिडका कारण परीक्षालाई पछि सार्नुपर्ने अवस्था आयो । त्यसले गर्दा विसं २०७७ र ७८ सालको परीक्षा ७७ साल मङ्सिरदेखि ७८ साल साउनसम्म लियौँ,” उनले भने ।
“त्यसअघि हामीले शैक्षिक क्यालेन्डरअनुसार पाँचदेखि साढे पाँच र ढिलोमा ६ महिनाभित्र परीक्षाफल निकाल्न थालिसकेका थियौँ ।”
“कोभिडका बेला भएको ढिलाइ र कर्मचारीको अभावका कारण परीक्षाफल प्रकाशन गर्न केही ढिलो भएको हो ।”
उनका अनुसार अहिले स्नातक तहको चौथो, पहिलो, दोस्रो र तेस्रो वर्षाका परीक्षाफलहरू प्रकाशित हुन बाँकी छन् । तीध्ये केही परीक्षा लिएको एक वर्ष भइसकेको छ । उनले भने, “तर अब विद्यार्थीले धेरै कुर्नुपर्ने अवस्था छैन । आगामी चैतसम्ममा बाँकी रहेका सबै परीक्षाफल प्रकाशित गरिसक्छौँ । त्यसपछि क्यालेन्डरअनुसार नै परीक्षाफल प्रकाशित हुन थाल्नेछ ।”
“पहिले १५ महिनासम्म ढिलो भएको थियो, अहिले १० महिना झरेको छ । अब चाँडै शैक्षिक क्यालेन्डर अनुसार नै परीक्षाफल आउने अवस्था बन्छ”, उनले भने । 

विज्ञ के भन्छन् ? 
शिक्षाविद् प्रा.विद्यानाथ कोइराला परीक्षाफल ढिलो प्रकाशित हुँदा विद्यार्थीको विश्वविद्यालयप्रति नै वितृष्णा बढ्ने बताउँछन् । त्यसका साथै उनीहरूको भविष्य पनि बिग्रिन सक्ने उनको चिन्ता छ । परीक्षाफल चाँडै प्रकाशित गर्नका निम्ति उनी त्रिभुवन विश्वविद्यालयले “केन्द्रीकृत गरेको” उत्तरपुस्तिका जाँच तथा परीक्षाफल प्रकाशनको कार्यलाई विकेन्द्रित गर्नुपर्ने सुझाव दिन्छन् ।
“जाँच गर्नलाई बल्खुमा थुपार्ने र फेरि बल्खुले जाँचकीलाई बाँड्ने अनि फेरि उनीहरूले फिर्ता गर्ने प्रणाली ठिक भएन,” उनले भने, “त्यसमा सुधार नगरी यो समस्याको समाधान हुँदैन ।”-बीबीसी 

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  ०४:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार