सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि प्रदेश सभाहरू विस्तारै लयमा फर्कन थालेका छन् । प्रदेशसभामा दलका नेता छनोट पनि धेरै प्रदेशका दलहरुले गरिसकेका छन् । जति दलको उपस्थिति छ त्यति नै दलले आफ्नो दलको नेता छनोट गर्नुपर्छ । यसै सन्दर्भमा सोमबार लुम्बिनी प्रदेशसभामा कांग्रेसले संसदीय दलको नेता छनोट गरेको छ । दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन भएका छन् । दाङ क्षेत्र नं ३ (क) बाट दोस्रो पटक प्रदेशसभामा निर्वाचित उनलाई काँग्रेसले दलको नेता छनोट गरेको हो । हाल उनी पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री छन् । नेपाली काँग्रेसको संस्थापन पक्षका चौधरी संविधानसभा सदस्यसमेत हुन् । संसदीय दलको नेताका लागि डिल्ली चौधरीसहित राजु खनाल, अब्दुल रज्जाक र जन्मजय तिमिल्सिना वीरबहादुर राना र निमा गिरी आकाङ्क्षी थिए । लुम्बिनी प्रदेशसभामा कूल ८७ सिटमध्ये प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी कांग्रेसका २७ सांसद छन् । लुम्बिनी प्रदेशसभामा नेकपा एमाले पहिलो दल बनेको छ । एमालेका २९ सांसद छन् । लुम्बिनी प्रदेशमा पनि नेकपा एमाले तथा माओवादीको सहकार्यमा गठबन्धनको सरकार बन्ने देखिन्छ । गठबन्धन बन्दा मुख्यमन्त्री कुन पार्टीलाई दिने भन्ने विषयमा टुङ्गो लागिसकेको छैन ।