राष्ट्रपति–उपराष्ट्रपति निर्वाचन प्रक्रिया थाल्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको आग्रह

सोमबार, पुस १८, २०७९

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट नयाँ प्रतिनिधि छनोट भएपछि अब मुलुककै सर्वाेच्च पद राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचनको संघारमा प्रतिनिधिसभा उभिएको छ । 
राष्ट्रपतिको निर्वाचन पदावधि सकिन एक महिना अघि नै गर्नु पर्ने कानुनी व्यवस्था छ । माघ २८ गतेभित्र चुनाव गराइसक्नुपर्छ । फागुनमा राष्ट्रपति–उपराष्ट्रपतिको पदावधि सकिन्छ । 
यसै सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनको प्रक्रियाका विषयमा निर्वाचन आयोगका पदाधिकारीसँग सोमबार छलफल गरेका छन् । 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको छलफलमा संवैधानिक व्यवस्था बमोजिम राष्ट्रपति–उपराष्ट्रपति पदको निर्वाचनका विषयमा प्रधानमन्त्री प्रचण्डले छलफल गरेका हुन् । 
छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका आयोगका पदाधिकारी एवम् उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलगायत उपस्थित थिए । बैठकमा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालगायत आयुक्तले निर्वाचन आयोगको कामकारवाही र निर्वाचन प्रक्रियाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । 
बैठकमा राष्ट्रियसभा सदस्यको रिक्त एक स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न आयोगका पदाधिकारीलाई प्रधानमन्त्री प्रचण्डले आग्रह गरेका थिए । 
बैठकमा प्रधानमन्त्रीले “रिक्त रहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुहोस्, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि हामी राजनीतिक दलबीच छलफल गछौँ र हामी एउटा निष्कर्षमा पुगौँला” भनेका थिए ।
छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनको तयारीमा विषयमा जानकारी गराएका थिए । प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचन, प्रदेशसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकामा आयोगलाई धन्यवाद दिएका थिए । अहिलेका राष्ट्रपति–उपराष्ट्रपति दुबैको यो दोस्रो कार्याकाल हो । अघिल्लो पटक एमाले–माओवादी गठबन्धनबाट विद्यादेवी भण्डारी राष्ट्रपति र नन्दबहादुर पुन उपराष्ट्रपतिमा निर्वाचित भएका थिए । पाँच वर्षपछि सोही गठबन्धन बनेको छ । यस पटक पनि एमालेको भागमा राष्ट्रपति परेको छ भने उपराष्ट्रपति कुन दलको भागमा पर्ने हो एकिन भइसकेको छैन । सत्तामा ७ दलीय गठबन्धन भएकाले महत्वपूर्ण पदहरुको भागवण्डाका विषयमा टुङ्गो लागिसकेको छैन । 

प्रकाशित मिति: सोमबार, पुस १८, २०७९  १३:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार