एमालेसँग एकताको विषयले प्रवेश पायो नेकपा एसमा, नेताहरुबीच मत भिन्नता 

शनिबार, पुस १६, २०७९

काठमाडौँ । मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि राष्ट्रिय पार्टी बन्न चुकेको नेकपा (एकीकृत समाजवादी)ले पार्टी एकीकरणको विषयलाई स्थायी समितिको बैठकमा प्रवेश गराएको छ । शनिबार बसेको नेकपा एसको स्थायी समिति बैठकमा वाम ध्रवीकरणसहित एमालेसँगको एकीकरणको विषयले औपचारिक प्रवेश पाएको हो । एमालेसँग पार्टी एकीकरणका विषयमा भने नेताहरू विभाजित भएका छन् । विविध विषयमा छलफल नसकिएकाले स्थायी समितिको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । बैठक पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको थियो । बैठकमा नेताहरूले समसामयिक विषयमा धारणा राख्न बाँकी रहेकाले स्थगित गरिएको हो । 
आजको बैठकमा १८ जना नेताले आफ्नो धारणा राखेका थिए । वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा सङ्गठन निर्माणका कार्ययोजना, वामपन्थी एकतासँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । आजको बैठकमा नेकपा एमालेसँग एकता गर्ने विषयमा नेताहरुबीच मत भिन्नता देखिएको छ ।
बैठकको प्रारम्भमा अध्यक्ष नेपालले पछिल्लो पटक विकास भएको राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिकाका बारे धारणा राखेका थिए । उनले पार्टीको शक्ति सुदृढीकरणका लागि सशक्त एजेण्डाका साथ देशव्यापी अभियान अगााडि बढाउन नेताहरुलाई निर्देशन दिएका छन् । अध्यक्ष नेपालले पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउने विषयमा गम्भीरतापूर्वक विचार राख्न नेतालाई आग्रह गरेका थिए।
 पार्टीका सम्मानित नेता झलनाथ खनालले क्रान्तिकारी पार्टी निर्माणका लागि आवश्यक पर्ने वैचारिक र राजनीतिक हतियारलाई चुस्त, दुरुस्त पार्नुपर्नेमा जोड दिए । पार्टी सञ्चालनमा समग्र विषयको वृहत छलफल गर्नुपर्ने उनको भनाइ थियो । 
महासचिव डा बेदुराम भुसालले सङ्गठन निर्माण र पुनःताजगीका लागि प्रस्ताव पेस गरे । पार्टीले पछिल्लो समय जनवर्गीय सङ्गठनका साथै प्रवासमा रहेका पार्टी निकट सङ्गठन, शुभेच्छुकसँग सुझाव लिएको छ । 
केहीले निर्वाचनमा जनताले प्रदान गरेको अभिमतबाट आफ्नो पार्टी प्रतिपक्षमा बसेर ढिलासुस्ती, भ्रष्टाचार, सामाजिक विकृतिका विरुद्ध क्रियाशील हुनुपर्ने, निर्वाचनमा पार्र्टीले उल्लेख्यता सफलता कायम गर्ने अपेक्षा गरिएकामा कम उपलब्धी हासिल भएकाले केहीले सरकारमा सहभागी भएर पनि जनताको सेवा गर्दै सङ्गठन सुदृढीकरणमा लाग्नुपर्नेजस्ता सुझाव दिएका छन् ।
 

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  २०:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार