मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशसभाका सदस्यले लिए शपथ 

शनिबार, पुस १६, २०७९

काठमाडौं । प्रदेशसभाका अधिवेशनहरू धमाधम आह्वान भइरहेका छन् । प्रदेश अधिवेशन सुरु हुनुअघि नवनिर्वाचित सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनु पर्छ । केन्द्रीय संसदका सदस्यहरुले पनि पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । संविधानमा प्रदेश सभाको सभामुख तथा उपसभामुख निर्वाचन नहुँदा ज्येष्ठ सदस्यले शपथ गराउने व्यवस्था गरिएको छ । शुक्रबा सार्वजनिक बिदा भए पनि मधेश प्रदेश तथा सुदूरपश्चितम प्रदेश सभाका सदस्यले ज्येष्ठ सदस्यबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । 
मधेश प्रदेशसभा भवनमा आयोजितसमारोहमा ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेसमक्ष प्रदेश सभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।    
नेपालको संविधानको धारा १८२ (५) र प्रदेशसभा निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेशसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यबाट नवनिर्वाचित प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिने प्रावधान रहेको छ । न्यौपानेले बिहीबार प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष पद तथा गोपनीयताको सपथ लिएका थिए ।
एक सय सात सदस्यीय प्रदेशसभा समस्यमध्ये एकसय छ जनाले पद तथा गोपनीयताको शपथ लिनुपर्नेमा दुई जनाविरुद्ध क्लस्टरको विवादमा सर्वोच्च अदालतमा मुद्दा परेका कारण आज एकसय चार जनाले मात्रै शपथग्रहण गरेका छन् । क्लष्टरको विवादपछि परेको मुद्दामा सर्वोच्च अदालतबाट तत्काल शपथग्रहण नगराउन आदेश भएकाले माओवादी केन्द्रका तर्फबाट समानुपातिक सांसद मो.रजी हैदर र माला कर्णलाई हाल शपथग्रहण नगराइएको प्रदेशसभा सविच रञ्जितकुमार यादवले जानकारी दिए । 
दश वटा दल र पाँच स्वतन्त्र सांसदको प्रतिनिधित्व रहेको प्रदेशसभामा नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी (जसपा)का १६, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका नौ–नौ, एकीकृत समाजवादीका तर्फबाट सात सांसद रहेका छन् । त्यसैगरी नेपाल सङ्घीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीबाट एक–एक जना प्रदेशसभा सदस्य रहेका छन् भने प्रदेशसभामा पाँचजना स्वतन्त्र सांसदको प्रतिनिधित्व रहेको छ ।
सांसदहरुले विभिन्न आठ भाषामा पद तथा गोपनीयताको सपथ प्रहण गरेका छन् । मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्यले विभिन्न आठ भाषामा सपथग्रहण गर्ने पनि सविच यादवले जानकारी दिए । 

प्रदेशसभा सदस्यको मुहारमा खुशी
पद तथा गोपनीयताको सपथ लिँदै गर्दासुदूरपश्चिम प्रदेशसभाका सदस्य गीताकुमारी चौधरी हर्सित देखिइन् । सङ्घीय संरचनाअनुसार दोस्रो कार्यकालका लागि हालै भएको प्रदेशसभाको निर्वाचनमा कञ्चनपुर–२ बाट समानुपातिकतर्फ निर्वाचित उनी शपथ ग्रहणसँगै प्रदेशसभा सदस्यको जिम्मेवारीमा पुगेकी हुन् । त्रिपन्न सदस्यीय प्रदेशसभामा ३२ वर्षीय उनी सबैभन्दा कान्छा हुन् ।

NS-MAHENDRANAGAR-15-RSS21672451601.jpg
डगौरा थारु पहिरनको आकर्षक पहिरन र चम्किलो मुद्रामा सपथ ग्रहण गर्न आइपुगेकी गीतासँग अन्य कार्यकर्ता, आफन्त र शुभेच्छुकलाई प्रदेशसभा सचिवालय परिसरमा सेल्फी र सामूहिक तस्बीर लिइरहेका देखिन्थ्यो । 
“थारु समुदायको छोरीलाई सांसदमा पु¥याएकोमा पार्टी नेतृत्वलाई धन्यवाद दिन्छु,” नेपाली कांग्रेसबाट समानुपातिकतर्फ निर्वाचित उनले भनिन्, “प्रदेशसभा सदस्यको जिम्मेवारीमा पुग्दा चुनौतीसँगसँगै अवसर पनि छ, आफूले थारु, दलित र महिलाको हकहितका लागि काम गर्नेछु ।”
नवनिर्वाचित प्रदेशसभाका सदस्यलाई ज्येष्ठ सदस्य ६८ वर्षीय मानबहादुर रावलले प्रदेशसभा भवन धनगढीमा सामूहिक रुपमा पद तथा गोपनीयतको शपथ ग्रहण गराए । यसअघि ज्येष्ठ सदस्य रावललाई प्रदेश प्रमुख देवराज जोशीले प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण गराका थिए । रावल कांग्रेसबाट प्रत्यक्षतर्फ अछामको प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । 
प्रदेशसभाको दोस्रो कार्यकालका लागि धेरै सदस्य नयाँ अनुहारका हुँदा शपथ ग्रहणस्थल बाहिर उपस्थित भएका सर्वसाधारणले निकै चासो पूर्वक कार्यक्रमको अवलोकन गरेका थिए । प्रदेशसभामा पहिलो पटक पाइला टेक्दै गरेका प्रदेशसभाका युवा सदस्यको जोश एवं उमङ्ग बेग्लै देखिँदा दोस्रो कार्यकालका लागि पुनः निर्वाचित सदस्यले भने आफूलाई पहिलो कार्यकालको तुलनामा दोस्रो कार्यकालमा केही चुनौती थपिन्छ कि भन्ने अनुभव सुनाए ।
अछामबाट प्रदेशसभामा दोस्रो पटक निर्वाचित नेकपा (माओवादी केन्द्र) का अक्कलबहादुर रावलले भने, “प्रदेशसभाको औचित्य छैन, यो विघटन गर्नुपर्छ भन्ने सोच चिन्तन प्रवृत्तिलाई मत्थर पार्दै दोस्रो कार्यकाललाई सुदृढ र व्यवस्थित र जनमुखी बनाउन लाग्नैपर्छ ।” सदस्यको शपथ ग्रहणको अवलोकन गरेका धनगढीका धर्मराज भण्डारीले भने, “पहिलो कार्यकालमा जनताको अपेक्षाअनुसार काम भएको त्यति देखिएन, दोस्रो कार्यकालमा अपेक्षा पूरा होला भन्ने आशा गरौँ ।” 
शपथ लिएपछि प्रतिक्रिया दिनुहँदै नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य रामेश्वर चौधरीले थारु समुदायका माग र मुद्दालाई सरकारले न्यायोचित ढङ्गले सम्बोधन गर्नुपर्ने बताए । “टीकापुर घटनाका राजबन्दी रिहाइ नभएसम्म कसैलाई सरकार बनाउनमा सहयोग गर्दैनाँै र सरकारमा सहभागी हुँदैनौँ”, प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेतासमेत रहेका चौधरीले भने, “राज्यले हेर्ने दृष्टिकोण परिवर्तन गर्नुप¥यो ।”
सङ्घीय संरचनाअनुसार भएको निर्वाचनपछि दोस्रो प्रदेशसभाका सांसदको शपथ ग्रहणसँगै प्रदेश सरकार गठनको बाटो खुलेको छ । नेपालको राज्य पुनः संरचनामा प्रदेशसभा गठन दोस्रो पटक भएको हो । शपथ ग्रहणसँगै यसले गर्ने काम पनि आजदेखि औपचारिक रुपमा सुरु भएको छ । 

थारु भाषामा शपथ 
प्रदेशसभामा प्रतिनिधित्व गर्ने थारु समुदायका छ जनाले आफ्नो मातृ भाषामा शपथ लिएका छन् । नेपालीमा लेखिएको शपथ पत्रलाई थारु समुदायका केही सांसदले आफ्नो मातृ भाषामा पढेर शपथ लिएका हुन् । 
कस्तो छ प्रदेशसभा 
त्रिपन्न सदस्यीय प्रदेशसभामा कांग्रेस सबैभन्दा ठूलो दल रहेको छ । कांग्रेसका १९ सदस्य छन् । दोस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)का ११ जना छन् । यस्तै नेकपा (एमाले)का १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी) का चार र राप्रपा र स्वतन्त्र एक÷एक जना छन् । पहिलो प्रदेशसभामा दुई जनाको प्रतिनिधित्व रहेको कैलाली, कञ्चनपुरका आदिवासी रानाथारु समुदायको प्रतिनिधित्व दोस्रो कार्यकालमा शून्य भएको छ ।
प्रदेशसभामा खस आर्य समुदायका ४३, दलित समुदायबाट तीन, थारुका पाँच, आदिवासी÷जनजाती समुदायबाट दुई जनाको प्रतिनिधित्व रहेको छ । महिलाको प्रतिनिधित्व रहेका सबै १८ समानुपातिकबाट निर्वाचित भएका हुन् ।
सेती र महाकाली अञ्चलका नौ वटा जिल्ला रहेको यो प्रदेशको क्षेत्रफल १९ हजार पाँच सय ३९ वर्ग किमी रहेको छ । यो नेपालको क्षेत्रफलको करिब १३ प्रतिशत हो । यो प्रदेशमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, पाश्चिम सेती जल विद्युत् आयोजनाजस्ता आयोजना विकासका उच्च सम्भावना बोकेका विकास आयोजना हुन् । अपि, साइपाल, खप्तडजस्ता हिमाली क्षेत्र, मध्यपहाडको महाभारत पर्वत श्रृङ्खलामा रहेका दुर्लभ जडीबुटी, वन पैदावार पनि विकास सम्भावना हुन् ।
धनगढी, भीमदत्तनगर (महेन्द्रनगर) दीपयालय, डडेलधुरा, टीकापुर, साँफेबगर, अत्तरिया, लम्की, बेलौरी यस क्षेत्रका मुख्य व्यापारिक केन्द्र हुन् । धान, गहुँ, जाँै, मकै र तेलहन बाली मुख्य रुपमा उत्पादन हुने यो क्षेत्रमा बाहुन, क्षेत्री, ठकुरी, थारु, दलितलगायत जातजातिको बाहुल्यता रहेको छ ।
 

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  ०७:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार