चीनमा संक्रमण दर बढ्दो, जनवरीमा प्रतिदिन ३० लाख सङ्क्रमित हुने चेतावनी 

शनिबार, पुस १६, २०७९

बेइजिङ । हालै निषेधाज्ञाहरू खुकुलो गरिएपछि चीनमा कोभिड(१९ थप फैलिने चिन्ता व्यक्त गरिएको छ । पछिल्लो सङ्क्रमणको लहरसँगै अस्पतालहरूमा चाप बढेको छ । डिसेम्बर महिनामा १३ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको आधिकारिक तथ्याङ्क छ ।  यद्यपि कोभिडसम्बन्धी मृत्यु प्रमाणित गर्ने चीनका मापदण्डहरू सीमित छन् । तिनमा कोरोनाभाइरसका कारण हुने श्वासप्रश्वाससम्बन्धी रोगलाई मात्रै मूल आधार मानिन्छ । उक्त भाइरसले पार्ने अरू प्रभावका कारण ज्यान गुमाएकालाई मृतकको सङ्ख्यामा गणना गरिँदैन ।
उक्त गणना प्रणाली विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुरूप छैन र मृतकको सङ्ख्या धेरै देशको तुलनामा धेरै कम छ ।
चीनले यसअघि नै सामूहिक परीक्षण बन्द गरिसकेको छ । उसले अस्पताल र ज्वरोसम्बन्धी क्लिनिकहरूमा कोभिडका लक्षणहरू लिएर आउने मानिसहरूको जाँचको परिणामका आधारमा प्राप्त हुने सङ्ख्यालाई मात्रै गन्ने गरेको छ । लक्षण नदेखिएका सङ्क्रमणका घटना र घरमै जाँच गर्न सकिने किट प्रयोग गरिएका परीक्षणका नतिजालाई पनि गणनामा समावेश गरिएको छैन ।
हाल आधिकारिक गणनामा दैनिक ५,००० जनामा सङ्क्रमण पुष्टि हुने गरेको देखिन्छ । यूकेमा रहेको अनुसन्धान कम्पनी एअरफिनिटीले भनेको छ उसको तथ्याङ्कसम्बन्धी ढाँचाले चीनमा जनवरी महिनामा प्रतिदिन ३० लाखभन्दा धेरैलाई सङ्क्रमण हुन सक्ने देखाएको छ ।

चीनमा कोभिडका बिरामीहरू

अस्पतालमा कतिको चाप छ ?
सरकारी तथ्याङ्क कम देखिएको भए पनि विश्व स्वास्थ्य सङ्गठनले चीनको स्वास्थ्य प्रणालीमा गम्भीर दबाव परिरहेको हुनसक्ने बताएको छ । समाचारसंस्था रोयर्टसले चिनियाँ अस्पतालहरू क्रिस्मसको बिदाको समयमा व्यापक भिड भएको तथा क्लिनिकहरूमा लामो लाइन रहेको र बिरामीका घुइँचो भएका प्रतीक्षालयनजिकैका अस्पतालका शय्याहरूमा बिरामी देखिएको उल्लेख गरेको छ ।
डिसेम्बर महिनाभरि सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा अस्पतालमा भिडभाड देखिन्छ ।
बीबीसीले अनलाइनमा राखिएका अन्य तस्बिरसँग तुलना गर्दै उत्तरी चीनमा रहेको एउटा बाल अस्पतालमा देखिएको घुइँचो पुष्टि गर्न सकेको छ । तर अन्य कैयौँ भिडियो प्रमाणित गर्न सकिएको छैन । चीनले देशबाहिर जाने सूचनामा कडा नियन्त्रण गर्ने भएकाले अवस्था कति गम्भीर छ भनेर ठम्याउन गाह्रो छ । बेइजिङमा रहेको बीबीसीको टोलीले स्वास्थ्य क्लिनिकबाहिर लामो लाइन रहेका र औषधि पसलहरूमा स्वास्थ्य सामग्रीको उच्च माग रहेको जनाएको छ ।

चीनमा कोभिड
सघन उपचार कक्षको सुविधासहित देशभरि अस्थायी स्वास्थ्य केन्द्रहरू स्थापना गरिएको छ ।
राष्ट्रिय प्रसारक सीसीटीभीले बेइजिङको एउटा अस्पतालमा चार गुणाले बिरामीको सङ्ख्या बढेपछि सो अस्पतालको क्षमता बढाउन लागिएको जनाएको छ । शाङ्घाईका अस्पतालहरूमा थप दुई लाख ३० हजार शय्याको व्यवस्था गरिएको छ । साङ्घाइमा विद्यालयहरू बन्द गरिएका छन् । कडा लकडाउनलाई लिएर गएको नोभेम्बर महिनामा देशभरि प्रदर्शन भएपछि चीनले अकस्मात् धेरै निषेधाज्ञा खुकुलो बनाएको थियो । अहिलेको खुकुलोपनअघि चीनले कोभिड नियन्त्रणका लागि संसारकै कठोरमध्येको एक ुशून्य कोभिड नीतिु अवलम्बन गरेको थियो । 
उक्त कदमअन्तर्गत एकाध सङ्क्रमित फेला पर्दा पनि कठोर लकडाउन लगाउने गरिन्थ्यो । सङ्क्रमण देखिएका ठाउँमा सामूहिक परीक्षण र सङ्क्रमितहरूलाई सरकारी केन्द्रहरूमा एक्लिएर आइसोलेशन वा क्वारन्टीनमा बस्नुपर्ने अवस्था थियो । अहिले लकडाउन खारेज गरिएको छ र क्वारन्टीनसम्बन्धी नियम हटाइएको छ । सार्वजनिक यातायात, रेस्टुराँ, व्यायामशाला र अरू सार्वजनिक भवनमा जान परीक्षण गराएर कोभिड नभएको प्रमाणित गरिराख्नुपर्दैन ।
चिनियाँ अधिकारीहरूले ज्यानुअरी ८ बाट सीमा खोल्ने र आगन्तुकहरूका लागि कुनै कडाइ वा क्वारन्टीनको व्यवस्था नराख्ने बताएका छन् । अमेरिकासहित कैयौँ देशहरूले चीनभित्र बढ्दो कोभिडको आँकडा देखाउँदै त्यहाँबाट जाने मानिसहरूलाई परीक्षण गर्ने जनाएका छन् ।

चीन

चीनमा कतिले खोप लगाएका छन् ?
चीनले देशको ९० प्रतिशत भन्दा बढी जनसङ्ख्याले खोपको पूर्ण मात्रा लगाएको जनाएको छ । तर ८० वर्ष वा त्यो न्दा माथिको उमेर समूहका आधाले मात्रै खोपको तीन मात्रा लगाएका छन्। गएको एप्रिलमा उक्त समूहका खोप लगाउने व्यक्तिको जनसङ्ख्या २० प्रतिशतभन्दा कम थियो । अधिकारीहरूले उनीहरूले स्थानीय स्वास्थ्य सेवा प्रदायकहरूलाई विशेषगरी ज्येष्ठ नागरिकहरूमाझ खोप कार्यक्रमलाई अझ प्रभावकारी ढङ्गले सञ्चालन गर्न भनेका छन् ।
चीनका मुख्य खोपहरू सिनोभ्याक र सिनोफार्म कोरोनाभाइरसको सबैभन्दा बढी देखा परेको प्रकार ओमिक्रोनमा कतिको प्रभावकारी छ भन्नेमा पनि आशङ्का गर्ने गरिएको छ ।
चीनले पश्चिमा खोप व्यापक रूपमा प्रयोग गर्न अस्वीकार गरेको छ । यसबारे सरकारले आधिकारिक व्याख्या गरेको छैन। तर राष्ट्रिय गौरव एउटा कारण हुनसक्ने अन्तर्राष्ट्रिय मामिलासम्बन्धी एउटा थिङ्क ट्याङ्क च्याटम हाउसका वरिष्ठ रिसर्च फेलो डा. यू जीले बताइन् ।
‘मलाई लाग्छ सी जिन्पिङले आर्थिक आत्मनिर्भरतालाई केन्द्रमा राखेर सोचिरहेका छन् । त्यसको अर्थ कतैबाट आयात गर्नुको सट्टा चीन आफैँले उत्पादन गरेर आफ्नै खोप प्रयोग गर्नुपर्छ’ उनले भनिन् ।–बीबीसी  

प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  ०७:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार