डीएसपी ठगबहादुर केसी निलम्बित

बिहीबार, पुस १४, २०७९

काठमाडौं । सुन व्यापारीसँग घुस रकम लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिएसपी ठगबहादुर केसी  निलम्बनमा परेका छन् । आइतवार केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले डिएसपी केसीलाई नियन्त्रणमा लिएको थियो । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले केसीलाई आज बिहीबार निलम्बन गरेको हो । केसीलाई निलम्बनका लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको थियो भने प्रधान कार्यालयले गृह मन्त्रालयमा सिफारिस गरेको थियो । बरामद गरिएको अवैध सुनमा डिएसपी केसीले रकम लिएको आरोप लागेपछि छानविन गर्न भन्दै प्रहरीले डिएसपी केसीलाई नियन्त्रणमा लिएको हो । प्रहरी प्रधान कार्यालय नक्सालको अनुमति पाएपछि सिआइबीले अनुसन्धान थालेको थियो ।
खिमबहादुर जिसीको साथबाट ९ लाख ५० हजार रुपैयाँको चेक र सुनजस्तो देखिने पदार्थ ३५ तोला बरामद भएपछि अनुसन्धान डिएसपी केसीतिर सोझिएको थियो । त्यसपछि डिएसपी केसीको क्वाटरमा छापा मार्दा ८ लाख ५० हजार रुपैयाँ भेटिएको प्रहरीले जानकारी दिएको छ । डिएसपी केसीको कोठाबाट प्रहरीले केही परिमाणमा सुन र रकमसमेत बरामद गरेको जानकारी दिएको छ। अवैध सुनसँग यसअघि पनि विभिन्न विवादमा प्रहरी पर्दै आएका धेरै घटनाहरु छन् ।
 

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  १७:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार