सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्न सत्ता साझेदार दलले कार्यदल गठन गरेका छन् । साझा कार्यक्रममा नागरिकको अपेक्षाअनुसारको काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु पर्ने दबाबमा सत्ता साझेदार छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सरकारको न्यूनतम कार्यक्रम तय गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको संयोजत्कवमा एक कार्यदल गठन गरेको छ । कार्यदललाई पाँच दिनभित्र सरकारको न्यूनतम नीति तथा कार्यक्रम तयार पार्ने कार्यदेश दिइएको छ । कार्यदललमा सत्ता साझेदार दलका तर्फबाट एक–एक जना सदस्य रहनेछन् । वर्तमान सरकार जनताको अपेक्षा पूरा गर्न गठन भएकाले पनि केही न केही नयाँ कामको सुरुआत गर्नैपर्छ भन्ने मनसायका साथ आजको बैठकमा छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए। बैठकमा मन्त्रिपरिषद् विस्तार एवं अन्य समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको छ । मन्त्रिपरिषद् विस्तार गर्दा क्षमताका आधारमा काम गर्न सक्ने विज्ञलाई समेटेर विषयगतरूपमा समेत योग्य व्यक्तिलाई पनि समावेश गर्ने विषयमा बैठकमा महत्वपूर्ण विचार–विमर्श भएको थियो । उनले आजको बैठकलाई सुरुआती बैठकका रूपमा लिँदै शुक्रबार पुनः बैठक बस्ने बताए । “न्यूनतम साझा कार्यक्रम उद्देश्य प्राप्ति गर्ने लक्ष्यका साथ तयार गर्ने गरी छलफल भएको छ, हामी केका लागि सरकारमा छौँ भन्ने तय गर्न लागिएको छ”, उनले भने । उनले सरकार विस्तार गर्ने काम प्रधानमन्त्रीले विश्वासको मत लिएर गर्ने वा नगर्ने भन्नेभन्दा पनि सबै विषयलाई प्याकेजमा टुङ्गो लगाउने सन्दर्भमा छलफल केन्द्रित रहेको बताए । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष ओली, उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत सहभागी थिए ।