सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पुस १० गते अघि औपचारिक वार्ता भएको थिएन् । काँगेससहितको गठबन्धनलाई जसरी पनि फुटाउने रणनीतिमा लागेका ओली मौकाका खोजीमा थिए । एमाले दोस्रो तहका नेता पनि ओलीको यहि आशयलाई फलो गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको भेटघाटलाई बाक्लो बनाउँदै थिए । पुस १० मा नेपाली काँग्रेसले पहिलो प्रधानमन्त्री आफ्नै पार्टीका नेता राष्ट्रपति आफ्नै पार्टीका नेतालाई बनाउनु पर्ने अडान नछाडेपछि फन्किएका प्रचण्डलाई फकाउने यहि उपयुक्त समय हो भन्ने निष्कर्ष निकालेर प्रचण्डलाई बालकोट पुर्याउन दोस्रो तहका नेता सफल पनि भए । निर्वाचन पछि फोन र दुतमार्फत भएका सन्देश आदानप्रदानले प्रचण्ड–ओलीको सम्बन्धमा सुधार मात्रै ल्याएन कट्टर विरोधी समर्थक नै बने । ओलीको साथले प्रचण्ड प्रधानमन्त्री मात्रै बनेका छैनन् वाम गठबन्धनको साथका लागि ओलीले गृहकार्य गरिरहेका छन्। त्यसका लागि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग ओलीलगायत एमालेका नेताहरुले संवाद अघि बढाइसकेका छन् । जसको पहल कदमी एमालेका दोस्रो तहका नेताहरुमार्फत भइरहेको एमाले र नेकपा एकीकृत समाजवादी निकट स्रोतहरु बताउँछन्। बुधबार प्रचण्ड–नेपालको वार्तामा वाम एकताका बारेमा समेत संवाद भएको थियो । सरकारमा सहभागी हुन प्रचण्डले नेपाललाई प्रस्ताव गरे पनि नेपालले तत्काल सरकारमा सहभागी हुने वचन भने दिएनन् । ‘सरकारमा सहभागी हुनुस् भनेर प्रचण्डले आग्रह गर्नुभयो तर अहिले तत्काल निर्णय गर्दैनौं भन्नुभएको छ’, एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले भने । प्रचण्डको उक्त प्रस्तावबारे नेपालले बुधबार आफ्ना पार्टीका जिल्ला अध्यक्षहरुसँग भर्चुअल छलफल गरेका थिए । शीर्ष नेताहरुले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ब्रिफिङ गरेको एकीकृत समाजवादीको छलफलमा सरकारमा सहभागी हुने नहुनेबारे नेताहरुको धारणा नेपालले सुनेका थिए । तत्काल सरकारमा सहभागी नहुने रणनीतिमा एकीकृत समाजवादी छ। किनभने प्रचण्ड नेतृत्वको सरकारले अबको केही दिनमा सरकारको न्युनतम कार्यक्रम ल्याउने छ। उक्त कार्यक्रमका आधारमा मात्रै आफ्नो प्रचण्ड सरकारलाई समर्थन हुने नहुनेबारे निर्णय गर्ने छ। त्यतिबेलासम्म प्रचण्ड र एमालेका नेताहरुसँग एकीकृत समाजवादीका नेताहरुले अनौपचारिक संवाद गर्नेछन् । उक्त संवाद सकारात्मक भए वाम एकता र सरकारलाई समर्थन गर्न सकिने पक्षमा एकीकृत समाजवादीका केहि नेताहरु सहमत छन् । एकीकृत समाजवादीको समर्थन जुटाउन प्रचण्डले तत्काल मन्त्रिपरिषद विस्तार नगर्ने एमालेका नेताहरुको भनाइ छ। ‘पहिला विश्वासको मत लिनुहुन्छ त्यसपछि मात्रै उहाँले सरकार विस्तार गर्नुहुन्छ। त्यसअघि न्युनतम कार्यक्रम आउँछ’, एमालेका ती पदाधिकारीको भनाइ छ । प्रदेश सरकार गठनको भागबन्डालगायतका विषयमा पनि प्रचण्ड–ओलीबीच छलफल भइरहेको छ। अहिले ८ सदस्यीय मन्त्रिपरिषदलाई पूर्णता दिनु पहिले प्रदेश सरकार गठनको भागबन्डा मिलाउन दुई नेता सक्रिय भएका हुन् । माधव नेपाललाई मनाउने प्रयास सोमबार प्रचण्डले प्रधानमन्त्रीको शपथ लिदा राष्ट्रपति कार्यालय शीतलनिवासमा नेपालसँग सामान्य कुराकानी गरेका थिए। ओली–नेपालको लामो समयको संवादहीनता शीतलनिवासको संवादपछि तोडिएको छ । ओलीले पछिल्लो समय नेपालसँगको सम्बन्ध सुधार गर्न चाहेकाले पनि एमाले नेताहरुले नेपालालई एमालेमै फर्काउन प्रयास गरिरहेका हुन् । बुधबार एमालेका नेता महेश बस्नेतले नेपाललाई भेटेर एमालेमै फर्कन आग्रह गरेका थिए । एमालेका उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलले पनि नेपालसँग संवाद गरेका छन् । उनले पनि नेपाललाई अहिलेको सरकारलाई समर्थन गर्नेदेखि एमालेमा फर्कन नेपाललाई आग्रह गरेका छन् । पहिलो पार्टी बनाउन गृहकार्य एमाले अहिले प्रतिनिधि सभामा ७८ सिट सहित दोस्रो ठूलो दल हो । एमालेका नेताहरुले नेपालको पक्षमा रहेका १० सांसदलाई एमालेमै फर्काउन सकिए पहिलो पार्टी बन्ने भन्दै त्यसको गृहकार्यमा लागेका हुन् । एकीकृत समाजवादीका सांसद फर्किए ८८ सांसद हुनेछन् भने ओलीले स्वतन्त्र सांसदको रुपमा रहेका ५ जना मध्य केहीलाई एमालेमा आउन प्रस्ताव गरेका छन् । अहिले पहिलो पार्टी रहेको नेपाली कांग्रेसँग ८९ जना सांसद छन् । एमाले पहिलो पार्टी बन्न एकीकृत समाजवादीसहित कम्तिमा २ जन स्वतन्त्र सांसदलाई एमालेमा तान्नुपर्ने छ । ‘नेताहरुमार्फत एकीकृत समाजवादीका नेताहरुसँग वार्ता भइरहेको छ। तर अहिले नै पार्टी एकताकै लागि तयारी भइसकेको छैन’ एमालेका एक पदाधिकारी भन्छन् ।
पार्टी एकता कति सम्भव ? निवर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार नभएपछि प्रचण्डले कांग्रेससँगको सम्बन्धमा ब्रेक र एमालेसँग सहकार्यका लागि गृहकार्य गरेका थिए । माओवादी र एमालेका दोस्रो तहका नेताहरुमार्फत भएको पहलमा ओली र प्रचण्ड पनि सहमत भएपछि प्रचण्ड–ओलीको सहकार्य सम्भव भएको थियो । तर उक्त सहकार्य पार्टी एकतासम्मै पुग्छ भन्नेबारेमा भने माओवादी केन्द्रका नेताहरु विश्वस्त छैनन् । माओवादीका सचिव गणेश साहले अहिले नै पार्टी एकता नहुने बताए । ‘अहिले त यो सहकार्य मात्रै हो । पार्टी एकता नै त हुँदैन्। तर पछि सम्म के हुन्छ भन्न सकिन्न’ उनले भने । प्रचण्ड–ओलीको हार्दिकता प्रचण्ड–ओलीको सम्बन्धमा आएको दरारकै कारण पार्टी एकता संकटमा परेकोमा फेरि प्रचण्ड–ओलीको सम्बन्ध सुधारकै कारण सहकार्यको स्थिति बनेको छ । बुधबार ओली प्रचण्डको निजी निवास खुमलटार जानुको अर्थ पनि सम्बन्ध हार्दिकतापूर्ण भएको सन्देश दिनु भएको नेताहरु बताउँछन् । प्रचण्डको सचिवालयले सरकारको न्युनतम कार्यक्रमका लागि दुई नेताबीच छलफल भएको र शक्ति बाँडफाँटका विषयमा समेत कुराकानी भएको जानकरी दिएको छ। प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सरकारलाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा कुराकानी भएको बताए। ‘सरकारलाई कसरी प्रभावकारी बनाउने, सरकारको नीति तथा कार्यक्रमका बारेमा छलफल भएको छ’ मल्लले भने ।
माधव नेपाललाई राष्ट्रपति नयाँ सत्ता समीकरणबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार गठन भएसँगै एमालेले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाएर पार्टी एकता गर्नेसम्मको गृहकार्य तीव्र बनाएको छ। प्रचण्ड र नेपालसँग तिक्ततापूर्ण सम्बन्ध राख्दै आएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा एमालेका दोस्रो तहका नेताहरू नेपाललाई राष्ट्रपति दिएर भए पनि नेकपा एससँग तत्काल पार्टी एकताको छलफलमा जुटेका छन्। यो छलफललाई सहज हुनेगरी प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालसँग सरकारमा सहभागी हुन औपचारिक वार्ता थालेका छन् । प्रचण्ड र एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमको जोडबल र पार्टी केन्द्रीय कमिटीदेखि जिल्ला नेतृत्वसम्मको सुझावका आधारमा नेपाल सरकारलाई निःशर्त समर्थन गर्न भने तयार भइसकेका छन् । बुधबार नेपालले केन्द्रीय कमिटीका सदस्य, जिल्लाका इन्चार्ज तथा सहइन्चार्ज र जिल्ला कमिटीका अध्यक्ष, सचिवहरूको भर्चुअल बैठक राखेर सरकारमा सहभागिता र वाम एकताका विषयमा सुझाव मागेका थिए । पार्टीका अधिकांश नेताहरूले प्रचण्ड नेतृत्वको सरकारलाई तत्काल समर्थन गर्न र विगतका गल्ती कमजोरीको समीक्षा गरी भावी दिनमा मनमुटाव नहुने ग्यारेन्टीसहित एकताको गृहकार्य गर्न पार्टी अध्यक्ष नेपाललाई ‘म्यान्डेट’ दिइसकेका छन् । यो म्यान्डेटसँगै एमाले नेतृत्वसँग वार्ता र सम्वादका लागि नेपाल तयार मात्र भएनन्, एमालेले राष्ट्रपतिका लागि गरेको प्रस्तावमा सकारात्मकसमेत बनेका छन्। पार्टी अध्यक्ष ओली पार्टी एक हुने अवस्थामा नेपाललाई राष्ट्रपति बनाउन र सम्मानित नेता झलनाथ खनाललाई वरिष्ठ नेता बनाएर पुनः पार्टीमा भित्र्याउन तयार छन् । ओलीको यो लाइनअनुसार बुधबार मात्र एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतसहतिका नेताले नेपाललाई भेटेर सरकारमा सहभागी हुन र पार्टी एकता गर्न तेस्रो पटक प्रस्ताव गरेका छन् । यसअघि मङ्गलबार एमाले उपाध्यक्ष विष्णु पौडेलसहितको टिमले पनि नेपाललाई भेटेर यही प्रस्ताव राखेको थियो । यद्यपि, नेता नेपालले पौडेललाई नभेटेको बुधबारको भर्चुअल बैठकमा बताएका थिए।कांग्रेस नेतृत्वको गठबन्धन भत्किएसँगै एमाले नेताहरू तत्काल नेकपा एस र विस्तारै माओवादी केन्द्रसँग पनि एकता गरेर पुनः बृहत् वाम शक्ति निर्माण गर्नुपर्ने पक्षमा छन्। यो आवाज नेकपा एस र माओवादी केन्द्रका दोस्रो तहका नेताले अझ बढी उठाउँदै आएका छन् । बुधबार नेपाललाई भेटेका एमाले नेता बस्नेतले नेकपा एस सरकारमा सहभागी हुन र पार्टी एकतालाई अघि बढाउन तयार रहेको बताए। भेटमा सहभागी नेकपा एसका नेता मेटमणि चौधरीका अनुसार एमालेबाट आएको पार्टी एकताको प्रस्तावअनुसार पार्टीभित्र गम्भीर छलफल सुरु भएको छ। भर्चुअल बैठक पनि पार्टीको सचिवालय र नेताहरूका अनौपचारिक बैठकले नेता नेपालको राष्ट्रपति बन्ने सम्भावना र एकताका विषयमा सकारात्मक छलफल थालेको चौधरीको भनाइ छ । बृहत् वामपन्थी पार्टीको एक्लो अध्यक्ष बन्ने एमाले अध्यक्ष ओलीको पछिल्लो चाहनाअनुसार नेपाललाई राष्ट्रपतिको प्रस्ताव गरिएको हो । यसमा नेपाल सकारात्मक भए पनि सम्मानित नेता खनालले भने तत्काल हतार नगर्न सुझाव दिएका छन् । चुनावअघि पार्टीका तर्फबाट राष्ट्रपतिका आकाङ्क्षी थिए खनाल । तर, चुनाव हारेपछि अध्यक्ष नेपालले नै उनको राष्ट्रपति बन्ने सम्भावना कमजोर भएको सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । एमाले अध्यक्ष ओलीले शक्तिशाली अध्यक्ष बन्ने चाहनाअनुसार नेपाललाई राष्ट्रपतिमा थान्को लगाउन खोजेको र अन्य नेतालाई पेल्न खोजेको खनालको बुझाइ छ । पार्टी सचिवालय बैठकमा समेत उनले यो धारणा राखेपछि अन्य नेताहरूले भने विश्वासको बलियो आधार बनेको अवस्थामा अवसर र एकता दुवै गुमाउन नहुने बताएको एक सचिवालय सदस्य बताउँछन्। एमाले प्रस्तावमा नेकपा एस र त्यसका अध्यक्ष नेपालले ठोस जबाफ दिन ढिला गरेपछि ओली आफैँले नेपाललाई भेटेर निर्णायक गफ गर्ने भएका छन्। एमालेका एक नेताका अनुसार सम्भवतः बिहीबार नै २ जना नेताबीच सम्वाद हुनेछ । यो सम्वाद निर्णायक नभए पनि यसले विश्वासको वातावरण भने बन्ने नेकपा एसका एक केन्द्रीय सदस्य बताउँछन् । एमालेको प्रस्तावअनुसार नेपाल तयार नभएको अवस्थामा मात्र एमालेले आफ्नो भागमा परेको राष्ट्रपतिमा कसलाई अघि बढाउने भन्ने औपचारिक छलफल थाल्ने एमालेका नेताहरू बताउँछन् ।