सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सरकारले लिने नीति कार्यक्रम र सरकार सञ्चालनका बारेमा छलफल भएको छ । प्रधानमन्त्रीको निजी निवास खुमलटारमा आज भएको भेटवार्तामा उनीहरुबीच सरकारको मूल नीति कार्यक्रम र कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । “उहाँहरुबीच सरकारलाई प्रभावकारी बनाउने विषयमा विहङ्गम छलफल भयो”, उनले भने ।
दाहाल नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले गरेका निर्णयका बारेमासमेत उनीहरुबीच छलफल भएको मल्लले जानकारी दिए । “सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउने सरकारको निर्णयलाई कार्यान्वयन तहमा लैजाने विषयमा कुराकानी भयो”, उनले भने । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताहरुबीच थप छलफल हुने स्वकीय सचिव मल्लले जानकारी दिए । बैठकमा सत्ता साझेदार दलहरुको शीर्ष नेता सहभागी हुने उनको भनाइ छ । सरकार विस्तार, प्रदेश सरकारको बाँडफाँडका बारेमा आजको बैठकमा अनौपचारिक छलफल भए पनि त्यसले भोलि औपचारिकता पाउने उनले जानकारी दिए । प्रधानमन्त्री दाहालले आजै पूर्वप्रधानमन्त्री माधकुमार नेपालसँग पनि परामर्श गरेका छन् । दाहालले नेपाललाई सरकारलाई समर्थन र सहभागिताका लागि आग्रह गरेका थिए । प्रधानमन्त्री दाहालले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग पनि भेट गरेका छन् । यादवसँग पनि सरकारमा सहभागिताका विषयमा छलफल भएको जनाइएको छ ।