एमाले कर्णाली प्रदेशसभा दलको नेतामा यामलाल कँडेल सर्वसम्मत

बुधबार, पुस १३, २०७९

कर्णाली ।  नेकपा एमाले कर्णाली प्रदेशसभा दलको नेतामा यामलाल कँडेल चयन भएका छन् । एमाले कर्णाली प्रदेश समितिको आज बसेको बैठकले कँडेललाई सर्वसम्मतरूपमा दलको नेतामा चयन गरेको हो । संसदीय दलको नेतामा सुर्खेत क्षेत्र नं २ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य कँडेलसँगै दैलेख क्षेत्र २ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य एवं एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहको दाबी थियो ।  आफूले दाबी छोडेपछि कँडेल सर्वसम्मत दलको नेतामा चयन भएको अध्यक्ष शाहले जानकारी दिए । नेता कँडेल विसं २०७४ मा पनि प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । हाल उनी एमालेको स्थायी कमिटी सदस्य र कर्णाली प्रदेश इञ्चार्ज छन् । 

माओवादी कर्णाली प्रदेशसभा दलको नेतामा राजकुमार शर्मा चयन
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलको नेतामा राजकुमार शर्मा सर्वसम्मत चयन भएका छन् । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समितिको आज बसेको बैठकले शर्मालाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको प्रदेश अध्यक्ष बिमला केसीले जानकार दिइन् । अध्यक्ष केसीले भनिन्, “दल नेतामा कालिकोटका दुर्गबहादुर रावत, सुर्खेतका विन्दमान विष्ट र कृष्ण जिसीको पनि दाबी रहेको थियो । हिजो र आज बसेको प्रदेश समितिको बैठकमा वृहत छलफलपछि उहाँलाई सर्वसम्मत रुपमा दलको नेता बनाइएको हो ।” 
दलको नेतामा निर्वाचित शर्मा रुकुम पश्चिम (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । विसं २०७४ मा जिल्ला समन्वय समिति रुकुमपश्चिमको प्रमुख भएर काम गरिसकेका उनले पार्टीको जिल्ला इञ्चार्ज, प्रदेश अध्यक्ष हुँदै हाल नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य छन् ।
 

लुम्बिनी प्रदेशसभा सदस्यको शपथ १६ गते
लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाका सदस्यलाई यही पुस १६ गते शपथ गराउन प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशसभाका सदस्यलाई शपथ गराउन सरकारका तर्फबाट प्रदेश प्रमुख अमिक शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश अधिवेशन पुस १८ गते बोलाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानून तथा सञ्चारमन्त्री तिलकराम शर्माले बताउनुभयो । लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्यलाई दाङको देउखुरीमा रहेको प्रदेशसभाको भवनमा शपथ गराउने तयारी गरिएको छ । 
गण्डकी प्रदेशसभा ज्येष्ठ सदस्यलाई शपथ
गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेश प्रमुख पृथ्वीमान् गुरुङबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । 
प्रदेश प्रमुखको सरकारी निवासमा आज आयोजित समारोहमा उनले शपथ लिएका हुन् ।  बस्याल पर्वतको प्रदेशसभा (ख) बाट नेकपा एमालेका तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनको जन्म विसं २०१४ भदौ ५ गते पर्वतमा भएको हो । संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखले प्रदेशसभा सदस्यका ज्येष्ठ सदस्यलाई र ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराउने प्रावधान छ । ज्येष्ठ सदस्य बस्यालले बिहीबार अन्य सदस्यलाई शपथ गराउने कार्यक्रम छ ।
शपथ ग्रहण समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, मन्त्री, नवनिर्वाचित प्रदेशसभा सदस्य, सरकारी उच्चपदस्थ अधिकारी र सञ्चारकर्मीको उपस्थिति थियो । 
 

प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  १८:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार