एमालेलाई ४ र माओवादीलाई २ मुख्यमन्त्री, मधेशमा आलोपालो

बुधबार, पुस १३, २०७९

काठमाडौं । सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको नेतृत्व भागवण्डाबारे छलफल सुरु भएको छ । सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रका नेताहरु एमालेलाई ४ वटा प्रदेशको मुख्यमन्त्री दिन तयार देखिएका‍ छन् ।
एमालेले प्रदेश १, बाग्मती, गण्डकी र कर्णालीको मुख्यमन्त्री पाउने सम्भावना छ । माओवादी केन्द्रले लुम्बिनी र सुदूरपचिमको मुख्यमन्त्री लिने देखिएको छ ।  मधेस प्रदेशको नेतृत्वमा भने जनता समाजवादी र जनमत पार्टीबीच आलोपालो गर्ने गरी सहमतिको प्रयास भइरहेको छ ।

यस्तो छ मन्त्रालय बाँडफाँटको प्रारम्भिक खाका
मन्त्रालय बाँडफाँटका लागि बोलाइएको सत्ता साझेदार दलहरुको बैठकले प्रारम्भिक खाका तयार गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेट गरेपछि बसेको बैठकले मन्त्रालय बाँडफाँटको प्रारम्भिक खाका तायारी गरेको छ ।
मन्त्रालय भागवण्डाको प्रारम्भिक खाका अनुसार गठबन्धनको सबभन्दा ठूलो दल एमालेले ९ देखि १० वटा मन्त्रालय पाउनसक्छ । एमालेको दाबी १२ छ । उसले अर्थ मन्त्रालय लिइसकेको छ भने मन्त्रालय नटुंगिएका कारण एमालेबाट मन्त्री भएका ३ जनाले मन्त्रालय पाएका छैनन् ।
यस्तै ७ मन्त्रालय दाबी गरेको माओवादीले ५ वटा पाउने सम्भावना छ । माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् ।
रास्वपालाई ३ मन्त्री र एक राज्यमन्त्री दिने तयारी छ। रास्वपा सभापति रवी लामिछाने उपप्रधान तथा गृहमन्त्री भइसकेका छन् र रास्वपाको दाबी ५ वटा मन्त्रालयमा छ ।
एकीकृत समाजवादीलाई २ देखि ३ वटा मन्त्रालय दिएर सरकारमा ल्याउने प्रयास भइरहेको छ । त्यसो भएमा जनमत पार्टी र जनता समाजवादी पार्टीले भने २–२ वटा मत्रालय पाउने सम्भावना छ ।

प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  १८:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार