किशोरीको जन्म भएको अस्पतालबाट कागजात मगाउन अदालतको आदेश

क्रिकेटर सन्दीप लामिछाने  बलात्कार प्रकरण 
मंगलबार, पुस १२, २०७९

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरुपण गर्न उनको जन्म भएको भनिएको अस्पतालबाट कागजात झिकाउन अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले अस्पतालबाट जन्म दर्ताको कागजात झिकाउने आदेश दिएको हो ।
लामिछानेका वकिल सरोजकृष्ण घिमिरेका अनुसार जिल्ला अदालत काठमाडौंले मंगलबार ३ वटा आदेश गरेको छ । अदालतको आदेशमा किशोरीको जन्म भएको भनिएको नारायणी अस्पताल वीरगञ्जबाट रेकर्डको कागजात झिकाउने आदेश गरेको हो ।
किशोरीको जन्म हुँदा उनीहरू वीरगञ्जमा रहेको र त्यहीँको नारायणी अस्पतालमा किशोरीको जन्म भएको दावी गरिएको छ । सन्दीप पक्षका वकिलका अनुसार किशोरीको जन्म २०६१ साल जेठ १८ गते बिहान ६ बजे भएको थियो । त्यहाँ किशोरीको आमाको नाम उल्लेख गरिएको र छोरीको जन्म भएको भनेर उल्लेख गरिएको सन्दीप पक्षका वकिलले दावी गरेका छन् ।
मंगलबार आजकै आदेशमा किशोरीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई पनि बकपत्रका लागि बोलाउने आदेश भएको छ । जाहेरीपछि किशोरीको स्वास्थ्य परीक्षण गर्ने डाक्टरले अब बकपत्रका लागि काठमाडौं जिल्ला अदालतमा आउनुपर्नेछ ।
त्यसैगरी किशोरी र सन्दीप लामिछाने दुवैका साथी भनिएका क्रिकेटर देव खनाललाई पनि बुझ्ने आदेश भएको छ । अधिवक्ता घिमिरेका अनुसार मंगलबारको सुनुवाइपछि यी तीन वटा विषयमा बुझ्ने आदेश भएको हो । 

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  १८:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार