सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । दुई ठूला वामपन्थी दलको अगुवाइमा बनेको गठबन्धनले सोमवार नयाँ सरकार गठन गरेपछि नेपालमा फेरि वामपन्थी एकताबारे बहसहरू सुरु भएका छन् । यी दुई दलबीच नै अघिल्लो संसदीय निर्वाचनमा भएको गठबन्धनले बहुमत ल्याएपछि चुनावलगत्तै पार्टी एकीकरण पनि भयो । तर नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएको दुई वर्षमै आन्तरिक विवादका कारण फेरि अलग भए । एमाले र माओवादी अलग भएपछि एकअर्काको दल र तिनको नेतृत्वमाथि नेताहरूले औँल्याएका समस्या समाधान नहुँदै फेरि दुई शक्ति एक ठाउँमा आएपछि यो सहकार्यको अवधिबारे चासो सुरु भएको छ । यो पटक पनि वामपन्थी दलहरूबीचको गठबन्धन पार्टी एकतातर्फ अघि बढ्ला वा यसअघि जस्तै फेरि अलग होला भन्ने फरकफरक आकलन भइरहेका छन् । “यो कुनै नीतिगत हिसाबले र न्यूनतम साझा कार्यक्रम तय गरेर बनेको गठबन्धन होइन । त्यसैले मौकापरस्त भन्न पनि सकिन्छ,” वाम विश्लेषक हरि रोका भन्छन्, “स्थिर हुनसक्ने सम्भावना कम छन् । किनभने मौकापरस्त राजनीति गर्ने भएपछि कसले कसलाई कसरी छेक्ने भन्ने कुरा भइहाल्छ।”
एमाले र माओवादीबीच फेरि पार्टी एकीकरण होला ? कुनैबेला वामपन्थी राजनीतिमा सक्रिय भएर पछि कम्युनिस्ट पार्टी छाडेका निलाम्बर आचार्य दुई पार्टीबीच एकता हुनेमा आशङ्का गर्छन् । “जसरी माओवादी र कांग्रेसको गठबन्धन अप्राकृतिक थियो। सोही स्तरमा नभए पनि एमाले र माओवादीको पनि राजनीतिक, दार्शनिक दृष्टिकोण मिल्दोजुल्दो छैन,” राजदूत र मन्त्री भइसकेका उनले भने । “त्यसकारण भोलिका घटना कसरी जान्छन् भन्न सकिँदैन । पुनः एकीकरणमा जान्छन् वा एउटै पार्टी हुन्छन् भन्ने मलाई लाग्दैन ।” आचार्यको बुझाइमा संविधानसभा सदस्य समेत भइसकेका रोका सहमत छन् । “एमाले र माओवादीबीच फेरि पार्टी एकीकरण भइहाल्छ भन्ने मलाई लाग्दैन । किनभने अस्ति त्यत्रो ठूलो विभाजन भयो । यहाँहरूबीच राम्रो समझदारी बनाउन सक्ने अवस्था हुँदाहुँदै पनि त्यो भएन,” रोका भन्छन् ।
गठबन्धन कति दिगो बन्ला ? राजनीतिक मामिलामा लेख्दै आएका डम्बर खतिवडा विगतका असमझदारी दुवै दलले बिर्सेर अघि बढ्नसक्ने र गठबन्धन लामो समय जानसक्ने सम्भावना नकार्न नसकिने बताउँछन् । “गत चुनावबाट बनेर फुटेको भन्दा यो अलि दिगो जान सक्छ कि भन्ने मलाई किन लागेको छ भने उनीहरूले तत्कालै एउटा असफलता र अपजसका कारण जनताको तहबाट निन्दा बेहोरिसकेकाले गत निर्वाचनभन्दा यसपालि अलि बढी जिम्मेवार भएर अघि बढ्लान् कि भन्ने अपेक्षा गर्न चाहिँ सकिन्छ,” उनले भने । संवैधानिक व्यवस्थाका कारण दुई वर्ष सरकार परिवर्तन गर्न अप्ठेरो पर्ने भएकाले त्यस अवधिसम्म दुई दलबीचको सहकार्य बाध्यात्मक जस्तै हुने तर त्यसपछिको अवस्थाबारे यसै भन्न नसकिने रोका बताउँछन् । एमालेसँगको सहकार्य छोडेर कांग्रेससँग गठबन्धन गरेको माओवादी र एक्लै निर्वाचनमा होमिएको एमाले दुवै हालैको निर्वाचन परिणामबाट सन्तुष्ट नदेखिएका कारण दुवै दलबीचको सहकार्य थप अघि बढ्ने कुरालाई नकार्न पनि नसकिने रोका बताउँछन् । “एक खालको हण्डर दुवैले भोगिसकेका छन् । यो कुरा नेताहरूले महसुस गरेको भए नयाँ वामपन्थवादको एजेन्डामा उहाँहरू अघि बढ्न पनि सक्ने सम्भावना छ,” उनले थपे । यद्यपि त्यसका लागि अहिले नै राजनीतिक वातावरण बनिनसकेको रोकाको बुझाइ छ । “तर कांग्रेस र माओवादीबीच वैचारिक रूपले ठूलो अन्तर थियो। तर माओवादी र एमालेबीच त्यो अन्तर कम हुन्छ,” उनले भने । आचार्य चाहिँ एमाले र माओवादीको गठबन्धन दिगो नहुने दाबी गर्छन्। एमाले संसदीय प्रणालीको पक्षधर र माओवादी यो प्रणाली नरुचाउने पार्टी भएका कारण कुनै न कुनै समयमा फेरि कांग्रेस र एमाले मिल्न सक्ने आचार्यको बुझाइ छ । “कांग्रेस र एमालेबीच केही न केही समझदारी हुन आवश्यक छ। नेपालको आन्तरिक समस्या समाधानका लागि पनि, बाह्य सम्बन्ध सञ्चालनका लागि पनि यी दुई दल मिल्न सक्छन् भन्ने मलाई लाग्छ,” उनले भने । नेपालको बाह्य सम्बन्ध पनि कतिपय मामिलामा कारक हुनसक्ने उनी ठान्छन् ।
ओलीको ‘नेतृत्व’मा प्रचण्ड अडिएलान् ? सात दलको गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री बने पनि यो गठबन्धनको हर्ताकर्ता ओली नै हुनसक्ने राजनीतिका जानकारहरूको बुझाइ छ । “यसपालि पदमा प्रचण्ड भए पनि यो सरकारको “डि फ्याक्टो”९हर्ताकर्ता० प्रधानमन्त्री चाहिँ ओली हुनुहुन्छ जस्तो मलाई लाग्छ,” खतिवडा भन्छन् । विगतमा दुई नेता र दलबीच देखिएका असमझदारीलाई “बिर्सेर” यी दुई नेता अघि बढ्ने ठम्याइ खतिवडाको छ । निलाम्बर आचार्य पनि यो बुझाइमा सहमत छन् । “सरकारको नेतृत्व प्रचण्डको भए पनि राजनीतिक नेतृत्व केपी ओलीले गर्ने भए। ओलीको नेतृत्व प्रचण्डले स्वीकार गर्छन् वा गर्दैनन् भन्नेले धेरै कुरा बताउँछ,” उनले भने । अबको केही समयमै दुई दलबीचको आगामी सहकार्यका प्रारम्भिक सङ्केतहरू देखिनसक्ने उनी ठान्छन् । यसअघि ओली र प्रचण्डबीच व्यक्तित्वको टकराव देखिएका कारण पनि समस्या भएको कतिपयको बुझाइ छ। यो पटक पनि एक अर्कालाई गरिने व्यवहारमा गठबन्धनको निरन्तरता भर पर्ने उनको दाबी छ । “एक अर्काबीच गरिने व्यवहारमा गठबन्धनका प्रमुख दुई घटकबीचको आगामी सहयात्रा भर पर्छ जस्तो लाग्छ,” रोकाले भने ।–बीबीसी