सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । संसदमा ठूलो पार्टी बनेपछि सत्ता तथा राज्यका प्रमुख पदहरु गुमाएको नेपाली कांग्रेसले विकसित राजनीतिक घटनाक्रम बारे छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ । यही पुस २२ गते बस्ने गरी केन्द्रीय कार्य समितिको बैठक डाकिएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को समीक्षा र समसामयिक राजनीतिका सन्दर्भमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रतिनिधि सभामा सबैभन्दा बढी ८९ सिटमा विजयी भएर कांग्रेस सङ्घीय संसदको ठूलो दल बनेको छ । पहिलो प्रधानमन्त्री र राष्ट्रपति नछाड्ने अडानपछि रुष्ट भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेससँगको गठबन्धन तोडेर एमालेको सहितको गठबन्धनमा गएर प्रधानमन्त्री नियुक्त भएका छन् । प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएसँगै काँग्रेस केन्द्र सरकार तथा सातै प्रदेशको सरकारमा पावर सेयरिङ, संवैधानिक अङ्गका प्रमुख, प्रदेश प्रमुखसहित राजनीतिक नियुक्तिबाट विमुख हुनुपर्ने अवस्था बनेको छ । पार्टी सभापति शेरबहादुर देउवाको एकल निर्णयका कारण मुखमै आएको सत्ता आफ्नो हातबाट गुमेको भन्दै कार्यकर्ता तहमा देउवाको व्यापक आलोचना हुने गरेको छ ।