सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नयाँ प्रधानमन्त्री नियुक्त भएका नेपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका हुन् । प्रधानमन्त्री प्रचण्डले सोमवारै सात सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन् । नयाँ मन्त्रिमण्डलमा नेकपा एमालेका मन्त्रीहरूको नेतृत्व गर्दै एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बनेका छन् । माओवादीका नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री तोकिएका छन्। त्यस्तै ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई र अब्दुल खान मन्त्री नियुक्त भएका छन् । तर उनीहरूले पाउने मन्त्रालय हालसम्म तोकिएको छैन । सोमवार नियुक्त सबै मन्त्रीहरूले राष्ट्रपतिबाट शपथ लिएका हुन् । नेकपा एमालेका अध्यक्ष केपी ओली र प्रचण्डबीच आगामी पाँच वर्षको प्रधानमन्त्री कार्यकाल आधा–आधा बाँड्ने सहमति भएको नेताहरूले बताएका छन् । प्रधानमन्त्री बन्नका निम्ति संसद्को तेस्रो ठूलो दलका अध्यक्ष प्रचण्डले चुनावअघि नेपाली कांग्रेससँग गरेको तालमेल तोडेर नयाँ गठबन्धन रोजेका थिए । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग सत्ता भागबन्डामा सहमति नजुटेपछि दोस्रो ठूलो शक्ति नेकपा एमालेसहितका सात दलहरूको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएका हुन् । मङ्सिर ४ गते भएको निर्वाचनबाट उनी नेतृत्वको माओवादी केन्द्र ३२ सिटसहित प्रतिनिधिसभामा तेस्रो ठूलो दल बनेको थियो। हाल ६८ वर्षीय यी नेता ३३ वर्षदेखि पार्टीको प्रमुख पदमा रहेका छन् ।
दौरा सुरुवालमा प्रचण्ड सोमवार प्रचण्डले पहिलो पटक दौरा सुरुवाल लगाएर शपथ लिएका हुन् । यसअघि दुई पटक प्रधानमन्त्री नियुक्त हुँदा उनले टाई(सूटमा भादगाउँले टोपी लगाएर शपथ ग्रहण गरेका थिए । यसअघि राजनीतिक कारणले नै आफूले दौरा नलगाएको उनको तर्क हुने गर्थ्यो । सशस्त्र विद्रोहमा लागेका तत्कालीन माओवादी पार्टीका नेतादेखि कार्यकर्तासम्म सबैले दौरा, सुरुवाल र कोटलाई ‘सामन्ती पोसाक’ भन्ने गर्थे । दुई वर्षअघि उक्त पोसाकप्रति आफ्नो नकारात्मक दृष्टिकोण नभएको बताउँदै उनले भनेका थिए, ‘कुनै दिन दौरा सुरुवाल लगाउन सक्छु ।’ ‘सन्दर्भ मिलेका दिन लगाउनुपर्छ भन्ने मैले सोचेको छु । तर दौरा, सुरुवाल र कोट सधैँ लगाउने भन्ने सायद हुँदैन’, उनले भनेका थिए । विभिन्न जातजाति र धर्मावलम्बीका कार्यक्रममा जाँदा आफूले उनीहरूको पहिचान झल्किने पोसाक लगाउने गरेको प्रसङ्ग निकाल्दै उनले दौरा, सुरुवाल र कोट पनि त्यसरी नै लगाउने बताएका थिए ।
को हुन् प्रचण्ड ? पच्चिस वर्ष भूमिगत जीवन बिताएका प्रचण्डले नेतृत्व गरेको १० वर्षे सशस्त्र द्वन्द्व नेपालमा ठूलो राजनीतिक परिवर्तनमा कारक बनेको बताइन्छ। माओवादीले उक्त सङ्घर्षलाई ुजनयुद्धु भन्ने गरेको छ । सामान्य परिवारमा जन्मिएका उनले नेतृत्व गरेको सङ्घर्षमा कैयौँ निर्दोष नागरिक मारिएका, बेपत्ता भएका र विस्थापित भएको विषयमा उनको आलोचना पनि हुने गरेको छ । शान्तिवार्तामार्फत् खुला राजनीतिमा आएपछि उनले नेतृत्व गरेको नेकपा माओवादी संसद्को सबैभन्दा ठूलो दल बनेको थियो। तर उनले नौ महिनामै सरकारको नेतृत्वबाट राजीनामा दिए । कास्कीको ढिकुरपोखरीमा विसं २०११ मा जन्मिएका प्रचण्डको राजनीतिक यात्रा भने शिक्षक पेसासँगै अघि बढेको थियो । प्रचण्डले १७ वर्षको उमेरमै २०२८ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए। त्यसपछि उनी राजनीतिमा विभिन्न भूमिकामा अघि बढ्दै गए । तर उनी आबद्ध सङ्गठनबाहिर प्रचण्डको परिचय कृषि विषय पढाउने शिक्षकको थियो । कृषिमा स्नातक गरेका प्रचण्ड भूमिगत हुनुअघि गोरखाको भीमोदय माविमा पढाउँथे। उनका सहकर्मी शिक्षकहरूका अनुसार प्रचण्डले आवश्यकताअनुसार विज्ञान, गणित र अङ्ग्रेजी पनि पढाए ।