सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । गत महिना भएको निर्वाचनबाट संसद्को सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले आफ्नै अडानका कारण सत्ताबाट बाहिरिनु परेको छ । नेतृत्वले पहिलो प्रधानमन्त्री पदमा आफू पुग्नु पर्ने अडान नछाड्दा काँग्रेस पहिलो पार्टी बनेपनि सत्ता बाहिर पुगेको हो । नेतृत्वको यो निर्णयमा पार्टीका महामन्त्रीद्धय तथा अन्य पदाधिकारीले पनि असन्तुष्टि व्यक्त गरेका छन् । कार्यकर्ता पंक्तिमा त झन नेतृत्वप्रतिको आक्रोश थेगि नसक्नुको छ । केहीले पार्टी सभापतिका रूपमा शेरबहादुर देउवाले खेलेको भूमिका “गलत देखिएकाले” उनले राजीनामा दिनुपर्ने माग पनि सार्वजनिक रूपमै गरेका छन् । उनीहरूका बुझाइमा देउवा अब पार्टी सभापति र संसदीय दलको नेताका रूपमा समेत पदमा रहनु उपयुक्त पात्र रहेनन् । तर देउवा निकट नेताहरू उनले राजीनामा दिनुपर्ने कुनै कारण नरहेको र पछिल्लो सत्ता साझेदारी प्रकरणमा “प्रचण्डको” दोष धेरै रहेको व्याख्या गर्न पनि पछि परेका छैनन् । एकजना राजनीतिशास्त्रीले चाहिँ देउवाले राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा लिएको अडान “अराजनीतिक र गैरजिम्मेवार” देखिएको बचाए । उनका भनाइमा कांग्रेसले आगामी दिनहरूमा पनि यस्तै “अनिर्णयको बन्दी बन्ने” प्रवृत्ति देखाए त्यसले उसले धेरै अवसरहरू गुमाउन सक्ने देखिन्छ ।
देउवाको आलोचना संसद्को सबैभन्दा ठूलो दल बनेर पनि सत्ता आफ्नो हातमा आउन नसक्ने परिस्थिति बन्नुमा नेपाली कांग्रेसकै नेताहरूले पार्टी सभापति शेरबहादुर देउवाको दोष रहेको बताइरहेका छन् । कतिपयले सामाजिक सञ्जालमा लेख्दै उनले “नैतिकताका आधारमा राजीनामा दिनुपर्ने” माग पनि गरेका छन् । आलोचना गर्ने मध्येका कांग्रेसका नेता गुरुराज घिमिरेले लेखेका छन्, “नेका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजीनामा दिनुपर्छ ।” “हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दा भन्दै किन गरियो र आज किन जोगाउन सकिएन ? यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ ? राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइनेछ ।” कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पनि नेतृत्वको आलोचना गरेका छन् । उनले लेखेका छन्, “इतिहासमा ७४ सिट छोडेर ९१ सिटमा लड्न कांग्रेसलाई बाध्य पारियो र केन्द्रीय समिति बैठक आवश्यक ठानिएन ।” “यति गुमाउँदा समेत केन्द्रीय समितिको बैठक आवश्यक नठान्ने र वर्षौँसम्म गठबन्धन कायम रहन्छ भनेर हवाला दिने पदाधिकारी र कार्यसम्पादन समितिले वर्तमान जटिल अवस्थाको जिम्मा लिनु पर्छ ।”
देउवा निकटहरू के भन्छन् ? नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका देउवा निकट मानिने नेता प्रकाशशरण महत गठबन्धनको नेतृत्वमा सरकार बनाउने कुरा अघि नबढेपछि अब कांग्रेस प्रतिपक्षका भूमिकामा सशक्त हुने बताए । उनले भने, “अब सरकार कसरी प्रस्तुत हुन्छ, हामी त्यो नजिकबाट हेर्छौँ अनि सशक्त रूपमा प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ।” उनले अहिलेको सत्ता गठबन्धनका लागि पद प्रमुख बन्न गएको बताए । “हामीले जुन उद्देश्यले गठबन्धन बनाएका थियौँ यो समग्रतामा हाम्रो उद्देश्यभन्दा पद महत्त्वपूर्ण हुन गयो,” उनले भने । “प्रचण्डजीले पनि पदकै लागि ओलीसँग जानुभयो। राजा चाहिन्छ भन्ने, राजा चाहिन्न भन्ने र सङ्घीयता चाहिन्छ भन्ने र चाहिँदैन भन्नेहरू पनि त्यहीँ छन्। विचार र सिद्धान्त गौण भएर पद नै मुख्य हुन पुग्यो” उनले भने । उनले अहिलेको परिस्थिति बन्नुमा कस्ता कारणहरू रहे भन्नेबारे पार्टीभित्र छलफल हुने तर सभापतिलाई मात्र दोष लगाउनु उपयुक्त नहुने दाबी गरे। “प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा पनि आलोचना हुन्थ्यो अहिले नबनाउँदा पनि आलोचना भइरहेको छ,” उनले भने। उनले अहिले “कांग्रेसले गुमायो भन्नेहरूले नै पहिले कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै लिनुपर्छ” भनेर अडान राखेको दाबी गरे । उनले अहिलेको परिस्थितिका कारणले देउवाले राजीनामा नदिने स्पष्ट पारे । उनले प्रधानमन्त्रीको नेतृत्वबारे धेरै छलफल भएको तर कुरा नमिलेको बताए । अन्तिम समयमा देउवाले दाहाललाई राखेको प्रस्तावबारे उनले भने, “प्रचण्डजीलाई तपाईँ नै नेतृत्व लिनुस् भन्ने सन्देश पनि गएको हो तर उहाँले ढिलो भयो के भयो भनेर पन्छिनु भयो ।”
राजनीतिशास्त्री के भन्छन् ? राजनीतिशास्त्री कृष्ण खनालका बुझाइमा देउवाले पछिल्लो प्रकरणमा प्रस्तुत गरेको कार्यशैली “एकदमै अराजनीतिक” देखिएको छ । उनले भने, “यस्तो निर्वाचन प्रणाली र परिणाममा गठबन्धनको विकल्प छैन। अनि गठबन्धनमा बसिसकेपछि ‘सबै म लिन्छु’ भन्ने त अति हो नि ! ” उनले कांग्रेसले संस्थागत निर्णय गरेर भन्दा पनि देउवाको व्यक्तिगत हठ र स्वार्थले अहिलेको परिस्थिति बनेको बताए । गठबन्धन भए पनि कांग्रेसले अन्य दलहरूसँग संवाद गर्नुपर्नेमा देउवा र अन्य “आशा गरिएका” भनिएका नेताहरूले पनि पहल नगरेको देखिएको खनाल बताउँछन् । “गठबन्धनबाहेकका अन्य पार्टीलाई पनि विश्वासमा लिएर वातावरण बनाउन सकिन्थ्यो। चौथो ठूलो दलसँग समेत कुरा भएन। अन्यसँग बसेर कुराकानी गरेको भए पनि परिस्थिति अर्कै बन्थ्यो,” उनले भने । उनले नैतिकताका आधारमा देउवाले पार्टी सभापति र संसदीय दलको नेताबाट राजीनामा दिनुपर्ने अवस्था भए पनि उनले त्यस्तो गर्ने नदेखिएको बताए । खनालका बुझाइमा अहिलेको जस्तै निर्णय गर्न नसक्ने अवस्थामा रहिरहेमा कांग्रेसले भविष्यमा पनि अवसरहरू गुमाउन सक्छ । “अहिलेका घटनाक्रमले भोलिको बाटो निर्धारण गर्छ। यसरी अनिर्णयको बन्दी हुने हो भने भोलि पनि यस्तै हुनसक्छ,” खनालले भने ।–बीबीसी