रास्वपा रविको नेतृत्वमा सरकारमा जाने

रास्वपा रविको नेतृत्वमा सरकारमा जाने
सोमबार, पुस ११, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको छ । पार्टीको धुम्बाराहीमा बसेको बैठकले सभापति लामिछानेको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो ।  रविले सरकारमा जानका लागि उपप्रधानमन्त्री पद पनि मागेका छन् । गठबन्धन सरकारमा एमालेबाट विष्णु पौडेल तथा माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री पदमा जाँदै छन् । रविका लागि उपप्रधानमन्त्रीमा सहमति हुन बाँकी छ । रविले आफ्ना लागि उपप्रधानमन्त्री मागेपछि यसबारे गठबन्धनको बैठकले निर्णय लिने भएको हो । 
नागरिकता विवाद खेपिरहेका रविले आफूलाई शक्तिशाली स्थानमा उभ्याउन खोजेका छन् ।  राप्रपाले सरकारलाई समर्थन गरे पनि मन्त्रालय नलिने भएको छ। अर्कातिर जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले कृषि मन्त्रालय लिने तयारी गरेका छन् ।
राप्रपा तत्काल सरकारमा नजाने, बाहिरै बसेर समर्थन जनाउने समझदारी
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल सहभागी नहुने भएको छ । हिजो बसेको पदाधिकारी बैठकले सरकारलाई बाहिरै बसेर समर्थन गर्ने अनौपचारिक सहमति गरेको हो ।
चुनावमा सन्तोषजनक नतिजा ल्याए पनि राप्रपा नेताहरुले सरकारमा जाने विषयमा अनिच्छा देखाउँदै आएका थिए । हिजो बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनबीच भेटघाट भएको थियो । उक्त भेटमा ओलीले लिङदेनलाई नयाँ गठबन्धन निर्माण गर्न सहयोग मागेका थिए । लिङदेनले राजनीतिक स्थिरताका निम्ति बहुमत पुर्‍याउन आफूहरुले सहयोग गर्ने बचन दिएका थिए ।
ओलीले सरकारमा सहभागी हुन पनि लिङदेनलाई आग्रह गरेका थिए । लिङदेनले यसमा भने ठोस जवाफ दिएनन् । पार्टीमा छलफल गर्नुपर्ने भन्दै उनी बालकोटबाट बाहिरिएका थिए । त्यसपश्चात उनले पार्टी पदाधिकारीको बैठक राखेर छलफल गरे । छलफलमा धेरै नेताहरु प्रचण्डको नेतृत्वमा सरकारमा जान नहुने पक्षमा उभिएको स्रोतले बतायो ।
‘कसैले पनि खुलेर सरकारमा जानुपर्ने कुराको वकालत गर्नुभएन’, स्रोतले भन्यो, ‘अहिलेलाई हामी बाहिरै बसेर समर्थन गर्नेछौं । सरकारमा जाने च्याप्टर लगभग बन्द भयो ।’
ओलीको पहलमा निर्माण भएको गठबन्धनलाई बहुमत पुर्‍याइदिनमात्रै राप्रपाले सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो । ओली र लिङदेनबीच छलफल हुँदा यति सजिलै बहुमत हासिल हुन्छ भन्ने थिएन । यदि पहिल्यै बहुमत पुगेको अवस्थामा ओलीले लिङदेनलाई एप्रोच गरेको भए उनले असहमति जनाउन पनि सक्थे । राप्रपामा प्रचण्ड प्रधानमन्त्री बनेमा त्यसलाई समर्थन गर्नु हुँदैन भन्ने मत प्रबल थियो । तर, ओलीसँगको सम्बन्धका कारणले समर्थन गर्नुपरेको एक नेता बताउँछन् ।
 

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १३:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार