सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । तेस्रो पटक प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । उनले अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा शपथ ग्रहण गर्न लागेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई पद तथा गोपनीयताको शपथ खुवाउनेछिन् । प्रचण्डले आइतबार प्रतिनिधिसभाका १६९ जना सांसदहरुको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए । सोही दिन राष्ट्रपति भण्डारीले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । प्रचण्डले केही मन्त्रीहरुसहित शपथ ग्रहण गर्ने तयारी गरेको स्रोतले बतायो । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरुको समर्थनसहित प्रधानमन्त्री बनेकाले उनीहरुलाई सरकारमा कसरी समेट्ने भनेर प्रचण्डले छलफल जारी राखेका छन् । सुरुमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने र पछि त्यसलाई विस्तार गर्ने प्रचण्डको तयारी रहेको उनको सचिवालयले जनाएको छ । २०६४ सालको संविधानसभा निर्वाचनमा बहुमत ल्याउँदै २०६५ सालमा ५ वर्षका लागि प्रधानमन्त्री बनेका प्रचण्डले आफ्नो कार्यकाल १ वर्ष पनि कटाउन सकेनन् । जम्मा २८० दिन प्रधानमन्त्री बनेका उनी त्यस समय राजीनामा दिन बाध्य भएका थिए । २०७३ सालमा दोस्रो पटक फेरि प्रधानमन्त्री बनेका प्रचण्डले आफ्नो दोस्रो कार्यकाल पनि १ वर्ष कटाउन सकेनन् । त्यस समयमा उनी ३०७ दिनका लागि प्रधानमन्त्री बने । अहिले प्रचण्ड तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको शपथ लिने तयारीमा छन्। २०६५ सालपछिका हरेकजसो सरकार निर्माणको प्रक्रिमा प्रचण्डकै महत्वपूर्ण भूमिका देखिँदै आएकामा यस पटक भने ओलीको निर्णायक भूमिकाको देनले उनी प्रधानमन्त्री बन्न सफल भए। आफैँ सत्तामा जानु भन्दा पनि सत्ताको भ¥याङ बन्दा उपलब्धिमूलक रहने ठम्याएका प्रचण्ड एक पटक सत्तामा पुग्ने महत्वकाक्षमा थिए । नेपाली कांग्रेससँग गठबन्धन गरेको माओवादीले पहिलो कार्यकालमा प्रधानमन्त्री नपाउने भएपछि एमालेसँग सहकार्य गर्दै प्रचण्ड प्रधानमन्त्री बनेका हुन् । राष्ट्रपतिले गत ४ पुसमा नयाँ सरकार गठनका लागि संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठन गर्न आह्वान गरेकी थिइन् । संविधानको धारा ७६ को उपधारा १ अनुसार कुनै दलको पनि एकल बहुमत नआएकाले धारा ७६ को उपधारा २ अनुसार सरकार गठन गर्न आह्वान गरिएको थियो। उक्त उपधाराअनुसार प्रतिनिधिसभामा २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्रीका लागि दाबी पेस गर्न सक्ने व्यवस्था थियो । त्यसैअन्तर्गत एमाले–माओवादीसहित ७ वटा दलको समर्थन प्रचण्डले प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष आफ्नो दाबी पेस गरेका थिए । राष्ट्रपति कार्यालयअनुसार आज दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई देशको २४औँ प्रधानमन्त्रीका रूपमा शपथ गराउँदै छन्। शपथ ग्रहणलगत्तै प्रचण्ड नेतृत्वमा सानो आकारको मन्त्रिपरिषद् पनि गठन गर्ने तयारी भएको छ । एमाले र माओवादीबाट सीमित नेतासहित मन्त्रिपरिषद् गठन गर्ने तयारी भएको एमालेका एक नेताले बताए । रास्वपा, राप्रपालगायतका दलले सरकार गठनको प्रक्रियामा समर्थन जनाए पनि सरकारमा सहभागी हुने विषयमा भने कुनै निर्णय गरिसकेका छैनन्। यस्तो अवस्थामा गठबन्धनमा आबद्ध दलहरूसँग पनि सहकार्यको विषयमा समानान्तर रूपमा छलफल अगाडि बढाउने र मन्त्रिपरिषद् पनि विस्तार गर्दै जाने निर्णय एमाले–माओवादी गठबन्धनले गरेको छ। प्रधानमन्त्रीका लागि दाबी पेस गरेका प्रचण्डले अब ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्नेछ।
उपप्रधानमन्त्रीसहित गृह या भौतिक मन्त्रालयमा रास्वपाको अडान राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधानमन्त्रीसहित गृह या भौतिक मन्त्रालय दिनुुपर्ने अडान राखेको छ । यसबाहेक थप श्रमसहित बाँकी दुई मन्त्रालय र उपसभामुखमा दाबी रहेको सो पार्टीका एक नेताले जानकारी दिए । “हामीले गृह मन्त्रालय भनेका छौँ, त्यो भएन भने भौतिक मन्त्रालयमा अडान रहने छ,” उनले भने, “श्रम मन्त्रालय पनि हाम्रो रोजाइमा परेको छ ।” उनका अनुसार उपसभामुखमा पनि रास्वपाको दाबी रहेको छ । सभामुख भने नेकपा एमालेले लिने भएको छ ।