राष्ट्रपतिले दिएको समय सकियो, प्रचण्डको नेतृत्वमा नयाँ गठबन्धनको सरकार

आइतबार, पुस १०, २०७९

काठमाडौं । संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपतिले दिएको आज साँझ ५ बजेसम्मको समय सीमा सकिएको छ । निर्धारित समय सकिनु केही अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपतिको कार्यालय ‘शीतल निवास’ पुगेका छन् । नयाँ सरकारका लागि कांग्रेससहितको सत्ता गठबन्धन भत्किएसँगै नाटकीय रुपमा प्रचण्डको नेतृत्वमा एमालेसहितको सरकार बन्ने निश्चित भएको हो ।
शीतल निवास जानुअघि प्रचण्ड, ओली लगायतका नेताहरुले ओलीको बालकोटस्थित निवासमा बहुमत जुटाउन राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा नेपाल लगायतका दलसँग छलफल गरेका थिए ।
उक्त छलफलमा साना दलहरुले समर्थन जनाउने र बहुमत जुट्ने प्रस्ट भएपछि प्रचण्ड र ओली सोही बैठकको निर्णयअनुसार बहुमतको दाबीका साथ शीतल निवास पुगेका हुन् ।

prachand1671969148.jpg

राष्ट्रपति एमालेलाई, प्रधानमन्त्री–सभामुखमा आलोपालो
नेकपा एमाले र माओवादी केन्द्रबीच प्रमुख पद बाँडफाँटबारे सैद्धान्तिक सहमति जुटेको छ । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन छाडेसँगै पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउन एमाले सहमत भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको वार्तामा प्रमुख दल बाँडफाँटबारे समेत सैद्धान्तिक सहमति जुटेको छ ।
राष्ट्रपति एमालेले लिनेछ । प्रधानमन्त्री र सभामुखमा आलोपालोको सहमति भएको छ । यो सहमतिअनुसार सुरुमा प्रचण्ड प्रधानमन्त्री हुने भएकाले एमालेले सभामुख पनि लिनेछ । जब एमालेले प्रधानमन्त्री लिनेछ, सभामुख पनि फेरिनेछ । माओवादीले सभामुख पाउने छ । एमाले, माओवादी मिलेसँगै ५ प्रदेशमा पनि उनीहरुको सरकार बन्नेछ । जनमत पार्टी र नागरिक उन्मुक्ति पनि थपिँदा सातै प्रदेशसमा यो गठबन्धनको सरकार बन्नेछ । केन्द्र र प्रदेश सरकारका मन्त्री र मुख्यमन्त्री लगायतका पद बाँडफाँटमा भोलि सम्वाद हुने एक नेता बताउँछन् ।

pracha-oli1671969139.jpg

सरकार गठनपछि राष्ट्रपति बारे छलफल हुन्छ : शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ सरकार गठनपछि राष्ट्रपतिको विषयमा छलफल हुने बताएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन हुने सहमति बारे सुनाउँदै उनले यसो भनेका हुन् । ‘राष्ट्रपति पदको बारेमा सरकार गठनपछि छलफल गरेर सहमति गरिन्छ’ उनले भने ।
एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको ७ दलको बैठकले नयाँ सत्ता समीकरण निर्माण गर्ने निर्णय गरेको हो। नयाँ गठबन्धनमा एमाले र माओवादीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन् ।  

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  १७:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार