नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय आज सकिँदै

आइतबार, पुस १०, २०७९

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी नयाँ सरकार गठनका लागि आह्वान गरेको एक साताको समय आज साँझ ५ बजे सकिँदै छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन गर्न राष्ट्रपतिले यही पुस ३ गते एक साताको समय निर्धारण गरी आह्वान गरेकी थिइन् ।
पाँचदलीय सत्तागठबन्धन दलहरूले आफ्नै नेतृत्वमा आगामी नयाँ सरकार गठन गर्ने निर्णय गरी विभिन्न प्रयासमा जुटिरहेका छन्। त्यसका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चालगायत दलका शीर्षनेताहरूले द्विपक्षीय, बहुपक्षीयरूपमा छलफल जारी राखेका छन् । गठबन्धनको नेतृत्वकर्ता दल कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गर्नका लागि पहल गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार भएको गठबन्धनका शीर्षनेताको बैठकमा आगामी सरकार गठन सम्बन्धमा सकारात्मक छलफल भएको र आज बिहान पुनः बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गठबन्धन दलमा पहिलो प्रधानमन्त्री तथा राष्ट्रपतिसहितका मुलुकका प्रमुख पदमा सहमति जुट्न नसकेपछि एमाले–माओवादीले नयाँ समीकरणको पहल गरेका छन् । माओवादी अध्यक्षलाई प्रधानमन्त्री दिएर एमालेले राष्ट्रपति र सभामुखसहित महत्वपूण पदमा आफूले दावी गर्ने गरी यी दुई दलबीच कुराकानी भइरहेको छ । एमाले–माओवादीले सुरु गरेको नयाँ समीकरणमा राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी तथा जसपा पनि सहभागी भएको छ । 
निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि पुस १० गते साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेकी थिइन्।
हालै सम्पन्न निर्वाचनअन्तर्गत प्रतिनिधिसभाका दुई सय ७५ सिटमध्ये कांग्रेस ८९, नेकपा एमाले ७८, नेकपा (माओवादी केन्द्र) ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राष्ट्रिय प्रजातन्त्र पार्टी १४, जनता समाजवादी पार्टी नेपाल १२, नेकपा ९एकीकृत समाजवादी० १०, जनमत पार्टी छ, लोकतान्त्रिक समाजवादी पार्टी चार, नागरिक उन्मुक्ति पार्टी तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी एकरएक स्थानमा तथा पाँच स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।
 

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  १५:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार