जसपाबाहेक राष्ट्रिय मान्यता प्राप्त दलले चयन गरे संसदीय दलका नेता 

आइतबार, पुस १०, २०७९

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाएका सात दलमध्ये छ वटा दलहरूले आफ्नो संसदीय दलको नेता चयन गरिसकेका छन् । संसद्‌मा आफ्नो दलले लिने निर्णय र उठाउने सवालमा नेतृत्व दिने संसदीय दलका नेतालाई उक्त पार्टीले सरकारको नेतृत्व गर्ने अवसर पाएको अवस्थामा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा पनि हेर्ने गरिएको छ । 
दलहरूले चयन गर्ने संसदीय दलको नेता ती पार्टीका प्रमुख भन्दा फरक व्यक्ति पनि हुन सक्छन् । यद्यपि संसद्का अधिकांश दलहरूले आफ्नो पार्टीका प्रमुखलाई नै संसदीय दलको नेतामा चयन गरेका छन् । प्रतिनिधिसभा निर्वाचनमा पार्टी अध्यक्ष पराजित भएको जनता समाजवादी पार्टीले भने हालसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन । पार्टीमा संसदीय दलको नेता कसलाई बनाउने भन्नेबारे सहमति हुन नसकेका कारण ढिलाइ भएको पार्टी निकट नेताहरू बताउँछन् । जसपा नेता राम सहाय यादवले नेता चयनमा विवाद नरहेको दाबी गरे ।
“सबैको नेता चयन भइसक्यो हाम्रो पनि अब चाँडै हुन्छ । पार्टीमा छलफल गरेर सहमति कि मतदानबाट गर्ने टुङ्गो लाग्छ,” उनले भने ।

देउवा काग्रेसका नेता 

प्रतिनिधिसभामा ८९ सिट सहित सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलका नेतालाई आगामी सरकारको सम्भावित प्रधानमन्त्रीका रूपमा पनि चर्चा गरिएको छ। यद्यपि गठबन्धनमा सरकारको नेतृत्वबारे सहमति भइसकेको छैन ।
प्रतिनिधिसभामा निर्वाचनबाट संसदीय दलको नेता चयन गर्ने कांग्रेस एक मात्र दल हो। बाँकी सबै पार्टीका संसदीय दलका नेताहरू सर्वसम्मत भए ।
हाल ७८ वर्षका शेरबहादुर देउवाले पार्टी महामन्त्री गगन थापासँग प्रतिस्पर्धा गरेका थिए । देउवा भन्दा तीन दशक कान्छा थापाले २५ मत पाउँदा उनले ६४ सांसदको समर्थन पाए । पाँच पटक प्रधानमन्त्री भइसकेका देउवा पार्टीका सभापति पनि हुन् ।

ओली एमालेका नेता 
प्रतिनिधिसभामा ७८ सिट सहित दोस्रो ठूलो दल नेकपा एमालेले सर्वसम्मत रूपमा पार्टी अध्यक्ष केपी ओलीलाई संसदीय दलको नेता चयन गर्‍यो । दुई पटक प्रधानमन्त्री भइसकेका ओली दलको नेतामा पनि दोहोरिएका हुन् । विसं २०७४ को निर्वाचनपछि पनि ओली निर्विरोध दलको नेता चयन भएका थिए। तर त्यस बेला ओली विरुद्ध उम्मेदवारी दिने तयारी गरे पनि आफूलाई प्रतिस्पर्धाको मौका नदिइएको नेता घनश्याम भुसालले गुनासो गरेका थिए । यो पटक स्वतन्त्र उम्मेदवार बनेका भुसाल निर्वाचनमा पराजित भए । गठबन्धनले सरकार बनाएको अवस्थामा ओली प्रमुख प्रतिपक्षी दलको नेता हुने ठानिएको छ ।

kp-oli_202012220319301667885406.jpg

प्रचण्ड माओवादीका नेता 
संसद्को तेस्रो ठूलो शक्ति नेकपा माओवादी केन्द्रले पनि बिहीवार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको छ । माओवादीमा हालसम्म दाहाललाई कुनै पनि नेताले चुनौती दिएका छैनन् । माओवादी केन्द्रले प्रतिनिधिसभामा ३२ सिट जितेको छ । प्रचण्डले गठबन्धनका तर्फबाट आगामी सरकारको नेतृत्वमा दाबी गरेका छन्। दुई पटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई गठबन्धनमा निर्णायक नेता ठानिएको छ । उनको दलका नेताहरूले नेकपा एमालेसँग पनि सम्भावित सहकार्यबारे छलफल गरिरहेको दाबी उक्त दलका नेताहरूले गर्दै आएका छन्।

1651751889.png

रवि लामिछाने
पहिलो पटक भाग लिएको संसदीय निर्वाचनबाटै २० सिट सहित चौथो ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी पनि आगामी संसद्‌मा प्रभावशाली शक्ति हुने ठानिएको छ । यो दलले सरकार बनाउने पक्षसँग मुद्दा मिलेको अवस्थामा सरकारमा जान सकिने जनाएको छ । “हामी एकदमै छलफलमा छौँ, भोटको प्रतिनिधित्व भए सरकारमा जाने हो नभए सङ्ख्या मात्रै बढाउन जाँदैनौँ,” संसदीय दलका नेता समेत चुनिएका पार्टी सभापति रवि लामिछानेले भने ।
यो दलले परम्परागत दल भन्दा भिन्न तरिकाले प्रारम्भिक निर्वाचनबाट संसदीय दलको नेता चयन गरिएको दाबी गरेको छ ।

rabi1671450468.jpg
“हाम्रो दलले निर्वाचनअघि नै संसदीय दलको नेताका लागि आह्वान गरेको थियो । दलको नेता बन्न पाँच जनाले आवेदन दिए पनि बाँकी चार जना प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि रवि लामिछाने निर्विरोध दलको नेता बन्नुभयो,” राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले भने ।

राजेन्द्र लिङ्देन
प्रतिनिधिसभामा पाँचौँ ठूलो दलका रूपमा उदाएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको राजनीतिमा नयाँ दल चाहिँ होइन । पञ्चायतकालबाटै सक्रिय यो दलमा गत वर्ष भएको पार्टी महाधिवेशनबाट राजेन्द्र लिङ्देन नेतृत्वमा पुगेपछि थप सक्रिय देखिएको छ। प्रतिनिधिसभामा १४ सिट जितेको राप्रपाले पनि लिङ्देनलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको छ ।  झापा ३ मा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका लिङ्देन दोस्रो पटक संसद् पुगेका हुन् । यो दलका नेताहरूले सरकारमा जाने विषयलाई “प्राथमिकता नदिने” बताउँदै आएका छन् ।

1635859511.jpg

सीके राउत
पृथकतावादी अभियानबाट मूलधारको राजनीतिमा समावेश भएका सीके राउत नेतृत्वको जनमत पार्टीले पनि पार्टी अध्यक्ष राउतलाई नै संसदीय दलको नेता चयन गरेको छ ।  भाग लिएको पहिलो निर्वाचनबाटै प्रतिनिधिसभामा ६ सिट जितेको यो पार्टी आगामी सरकारमा सहभागी हुने ठानिएको छ। राउतले सरकारमा सहभागिताबारे गठबन्धनका नेताहरूसँग निरन्तर छलफल गरिरहेका छन् ।अधिकांश दलमा जस्तै जनमत पार्टीमा पनि राउत सर्वसम्मत संसदीय दलको नेता चुनिएका हुन्। 

dr-CK-RAUT1669098694.jpg

अन्य दलमा को
प्रतिनिधिसभाका अधिकांश दलहरूले पनि संसदीय दलको नेता चयन गरिसकेका छन् ।  नेकपा एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधव नेपाललाई दलको नेता चयन गरेको छ । एमाले विभाजनबाट बनेको यो दलका नेता नेपाल पूर्व प्रधानमन्त्री समेत हुन् ।  त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले अध्यक्ष महन्थ ठाकुरलाई र नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रन्जिता श्रेष्ठलाई संसदीय दलको नेता चयन गरेका छन् ।  प्रतिनिधिसभामा कम्तीमा दुई सांसद रहेको दललाई संसद् सचिवालयले संसदीय दलको सुविधा दिने गरेको छ।–बीबीसी  

प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  १५:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार