पहिलो प्रधानमन्त्री को बन्ने सहमति नहुँदा सत्ता गठबन्धनको बैठक भोलिसम्मका लागि स्थगित

शनिबार, पुस ९, २०७९

काठमाडौं । सत्तारुढ दलबीच आगामी सरकार गठनका लागि सहमति जुटाउन बसेको बैठकमा पहिलो प्रधानमन्त्री कुन पार्टीका नेता बन्ने भन्ने विषयमा सहमति नहुँदा भोलि बिहानसम्मका लागि स्थगित भएको छ । बैठक भोलि बिहान बस्ने गरी टुंगिएको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले बताए । पाँच दलीय सत्ता गठबन्धनको बैठक सकारात्मक रुपमा अघि बढेको कार्कीले दाबी गरे । 'प्रधानमन्त्री को पहिले बन्ने भन्ने कुरा गौण हो, मुलुकलाई जनताको आकंक्षाअनुसार अघि बढाउनु महत्वपूर्ण कुरा हो', कार्कीले भने, 'भोलि तपाईहरुले निर्णय पाउनुहुन्छ ।'
आइतवार निर्णयमा पुग्नुपर्ने संवैधानिक बाध्यता रहेको कार्कीको भनाई थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुलाई दाबी पेस गर्न दिएको समय सीमा आइतबार सकिँदैछ । प्रतिनिधिसभामा कांग्रेस ८९ सिटसहित ठूलो दलका रूपमा रहेको छ । प्रधानमन्त्रीमा कांग्रेस र माओवादीले दाबी गर्दै आएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरेपछि कांग्रेसले मनाउने कोशिश जारी राखेको छ । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का र नेता प्रकाशमान सिंहलाई खुमलटार पठाएर प्रचण्डलाई मनाउने कोशिश गरेका थिए । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास जारी राख्दा प्रचण्डले पनि सरकार नेतृत्वमा दाबी कायमै राखेका छन् ।

प्रधानमन्त्रीमा तीन नेताको आलोपालो
सत्तारुढ गठबन्धनमा तीन शीर्ष नेता आलोपालोमा प्रधानमन्त्री हुने सहमति जुटेको छ । तर पहिलो चरणमा शेरबहादुर देउवा कि पुष्पकमल दाहाल प्रचण्ड भन्ने टुंगिएको छैन । आइतबार बिहान बस्ने बैठकले समग्र शक्ति बाँडफाँटबारे सहमति जुटाउनेछ ।
संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि दावी पेश गर्न राष्ट्रपतिले दिएको ७ दिनको समयसीमा आइतबार अपरान्ह ५ बजे सकिने छ । त्यसको अघिल्लो दिन प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुको बैठकमा शक्ति बाँडफाँटबारे कुराकानी भएको छ ।
प्रधानमन्त्रीमा २-२-१ वर्षको पालो गर्ने पनि सहमति जुटेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले २-२ वर्ष सरकारको नेतृत्व गरेपछि प्रतिनिधिसभाको कार्यकालको बाँकी एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुनेछन् । ‘सुरुमा को प्रधानमन्त्री हुने भन्नेमा देउवा र प्रचण्डको दाबी कायमै छ । सञ्चारमन्त्री भन्छन्, 'धेरै विषयमा गम्भीर छलफल भयो, भोलि निर्णय सुनाउँछौँ ।'
 

प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  २०:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार