बागमती प्रदेशसभा सदस्यको शपथ पुस १४ गते 

पुस १७ गते प्रदेशसभा बैठक बोलाउन सिफारिश 
शुक्रबार, पुस ८, २०७९

मकवानपुर ।  पुस १७ गते बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्न बागमती प्रदेश मन्त्रिपरिषद् कार्यालयलाई आग्रह गरिएको छ । बागमती प्रदेश प्रदेशसभा सचिवालयद्वारा आज आयोजना गरिएको सर्वदलीय बैठकले प्रदेशको हिँउदे अधिवेशन आह्वानका लागि मन्त्रिपरिषद्मा सर्वसम्मतिले निर्णय गरी पठाएको छ । बैठकले प्रदेश प्रमुख यादवचन्द्र शर्माद्वारा प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानालाई यही पुस १३ गते दिनको २ बजे शपथ गराउने गरी कार्यसूची राखेको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद खनालले जानकारी दिए । साथै यही पुस १४ गते दिनको २ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य ढुङ्गानाले बागमती प्रदेशसभाका एक सय नौ जना सदस्यलाई प्रदेशसभाको सभाकक्षमा शपथ गराउने कार्यक्रम तय भएको छ । 
सर्वदलीय बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजावादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र हाम्रो नेपाली पार्टीबाट प्रतिनिधित्व गर्ने प्रदेशसभाका सदस्यको सहभागिता रहेको थियो । 
संघीय संसद सदस्य पदको शपथ लिएपछि बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले दिए राजीनामा 
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशका मुख्यमन्त्री पाण्डेले दिएको राजीनामा आजै स्वीकृत गरेका छन् । मुख्यमन्त्री पाण्डे गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा धादिङको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएका थिए । उनले बिहीबार प्रतिनिधिसभा सदस्यको शपथ लिएका थिए ।  
प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीको राजीनामा स्वीकृत गरिएको भए पनि प्रदेशको अर्को सरकार गठन नहुँदासम्म मौजुदा मन्त्रिपरिषद्लाई आफ्नो कार्यभार सम्हालिरहन तोकेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  १७:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार