रिहा भए शोभराज 

शुक्रबार, पुस ८, २०७९

काठमाडौं । विश्व कुख्यात सिरियल किलरका रूपमा चिनिएका चार्ल्स शोभराज केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका छन् । उनलाई केही समय अगाडिमात्रै केन्द्रीय कारागारले रिहा गरेको हो ।  रिहा भएका उनलाई अध्यागमन विभागको जिम्मा लगाउने तयारी भएको छ । बिहीबार नै रिहा हुने भनिए पनि केही प्रक्रिया अझै बाँकी रहेका कारण उनी आज रिहा भएका हुन् ।
उनको पासपोर्स लगायतका कागजात नभएकाले सो प्रक्रिया पूरा नभएसम्म अध्यागमन विभागकै हिरासतमा रहने शोभराजका वकिल गोपाल सिवाकोटीले जानकारी दिए । उनलाई विभागमा एक्लै राखिनेछ ।  फ्रान्सेली नागरिक चार्ल्स शोभराज नेपाली जेलमा १९ वर्ष दुई महिना बिताएर थुनामुक्त भएका हुन्।
बिहीबार उनलाई केन्द्रीय कारागार, सुन्धाराले थुनामुक्त गरेर अध्यागमन विभाग लगेको छ । अब विभागले उनलाई डिपोर्ट गर्ने प्रक्रिया अघि बढाउनेछ । तर, शोभराजले केही समय नेपालमै बस्ने इच्छा व्यक्त गरेका छन् ।
बुधबार सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान र तिलप्रसाद श्रेष्ठको इजलासले उमेर र स्वास्थ्य स्थितिलाई कारण देखाउँदै उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।
कारागार नियमावली, २०२० को नियम २९ (२ क) ले ६५ वर्ष उमेर पुगेका कैदीहरुलाई असल चालचलनको आधारमा वा ओछ्यानमा परी निको हुन नसक्ने अवस्थामा ७५ प्रतिशतसम्मको कैद सजाय छोट्याउन सक्ने व्यवस्था गरेको छ ।
चार वर्षअघि नै शोभराज उमेरले ७४ वर्ष पुगिसकेका थिए । कारागार नियमावलीअनुसार शोभराजले आफू छुट्नुपर्ने दाबी गर्दै यसअघि पनि पटकपटक बन्दी प्रत्यक्षीकरणको रिट दिने गरेका थिए । तर कारागार नियमावलीमा भनिएको यो सुविधा नेपाली नागरिकले मात्रै पाउने व्याख्यासहित उनको विपक्षमा आदेश हुने गरेको थियो ।
अदालतले १२ फागुन २०७५ मा मुटु सम्बन्धी रोगको नियमित उपचार समेत गराइरहेका शोभराजले ७५ प्रतिशत कैद भोगिसकेकाले किन कैद सजाय मिनाहा किन नगर्ने भन्दै सरकारलाई प्रश्न गरेको थियो ।
पछिल्लो पटक फेरि बन्दी प्रत्यक्षीकरणको रिट पर्‍यो । उनले १९ वर्ष अर्थात् ९५ प्रतिशत जेल सजाय पनि भोगेका थिए । त्यसको सुनुवाइका क्रममा बुधबार न्यायाधीश सपना मल्ल प्रधान र तिलप्रसाद श्रेष्ठको इजलासले सर्वोच्चको परामादेश कार्यान्वयनमा वेस्वाता गरेको नोट गर्‍यो । र, केन्द्रीय कारागारले ७ असार २०७९ मा उनीबारे पठाएको पत्रलाई पनि आधार बनाउँदै थुनामुक्त गर्न आदेश दिएको थियो । चालचलनलाई आधार बनाएर कैद भुक्तानीमा छुट दिन उनी यसअघि दुई पटक सिफारिसमा पनि परेका थिए ।
पुनरावेदन अदालत, पाटनले २७ वैशाख २०७३ मै शोभराजलाई गोलघरमा नराखी कारागारभित्र उपयुक्त ठाउँमा राख्न आदेश दिएको थियो । तर हालसम्म उनी गोलघरमा राखिएका थिए । गोलघरलाई कारागारभित्रको पनि कारागार भनेर चिनिन्छ, जहाँ सुरक्षा खतरा भएका वा अन्य कैदीबन्दीलाई असर पुर्‍याउन सक्ने व्यक्तिलाई राखिन्छ । केन्द्रीय कारागारले चाहिँ अत्याधिक चापका कारण कारागारभित्र उपयुक्त स्थानको छुट्टै व्यवस्था नहुँदा गोलघरभित्रै राखिएको बताउने गरेको थियो ।
चार्ल्स गुरुमुख शोभराजको रिहाको विषय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाको लागि पनि चासोको विषय बन्यो यो । आदेश आएको तेस्रो दिन शुक्रवार मध्याह्नमा शोभराज छुटे । सुन्धारा कारागारबाट उनलाई अध्यागमन पुर्‍याउँदा फोटोग्राफरले शोभराजको फोटो कैद गर्न पाएनन् । भिडियोमा पनि उनी कतै देखिएनन् । मिडिया फेस गर्न नचाहेकै कारण शोभराजको फोटो भिडियो लिन नपाएका हुन्।
त्यसो त शोभराजले आफ्नो फोटो कसैलाई खिच्न नमिल्ने गरि अध्यागमनसम्म लैजान अनुरोध गरेको केन्द्रीय कारागार स्रोतले जानकारी दिएको छ । त्यही अनुसार केन्द्रीय कारागारको भित्री परिसरमा नै सुरक्षाकर्मीको गाडीमा हालेर शोभराज जेलबाट बाहिरिए । शोभराज बा २ झ ३९८० नम्बरको सेतो भ्यानमा थिए । अगाडिपाडि सुरक्षाकर्मीको गाडीबाटै स्कर्टिङ। यसरी बाक्लो सुरक्षाबिच अध्यागमन विभाग पुर्‍याइयो उनलाई । अध्यागमन विभागको गेट अगाडि पनि पत्रकारहरु शोभराजको फोटो कैद गर्न खटिएका थिए । तर त्यहाँ पनि शोभराजको फोटो खिच्न पाएनन्।
शोभराजलाई लिन अध्यागमन विभागमा उनकी सासु शकुन्तला विश्वास र प्रेमिका निहिता विश्वास पुगेका थिए। निहिताले राजनीतिक गुटबन्दीको कारण शोभराजको रिहामा ढिला भएको प्रतिकृया दिइन् ।
शोभराज सर्वोच्च अदालतको फैसलाले २०६० असोज २ गतेदेखि केन्द्रीय कारागार सुन्धारामा कैदमा थिए। कैद भएको समयमा नै उनले २० वर्षीय युवती निहिता विश्वाससँग जेलमा नै बिहे गरेका थिए । अध्यागमन विभागले जमानीमा केही दिन नेपालमा बस्ने अनुमति दिए शोभराज बौद्धस्थित ह्यात होटलमा बस्ने तयारी गरेका छन्। तर, अध्यागमनले अनुमति नदिएको खण्डमा अध्यागमनको हिरासतमा बसेर विदेश फर्किने प्रक्रिया थाल्नु पर्ने हुन्छ।
शोभराजले कैद छुटको माग गर्दै ४ वर्षअघि सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए। अमेरिकी नागरिकको हत्या अभियोगमा कसुरदार ठहर भई सर्वोच्चकै फैसलाबाट केन्द्रीय कारागारमा थुनामा रहेका शोभराजले वारेसमार्फत रिट दर्ता गरेका थिए। सर्वोच्चले ७८ वर्ष उमेर पुगिसकेको र मुटुको सर्जरी गर्नुपर्ने अवस्था देखिएकोले उनलाई अन्य मुद्दा नभए छाड्न आदेश दिएको हो। शोभराजले १९ वर्ष कैद सजाय भोगिसकेकाले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिदिएको आदेशमा उल्लेख छ।
२०३२ सालमा एक अमेरिकी नागरिकको हत्या अभियोगमा उनलाई सर्वोच्चले जन्मकैदको सजाय सुनाएको थियो। यसबीचमा २०७१ मा भक्तपुर जिल्ला अदालतले पनि एक क्यानेडिएन नागरिकको २०३२ सालकै हत्या अभियोगमा पनि उनलाई जन्मकैदको सजाय सुनाएको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस ८, २०७९  १३:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार